Comments Add Comment

तीन विद्यार्थी संगठनद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

अस्थायी शिक्षकको परीक्षा स्थगित गरी शिक्षा ऐनमा १० औं संशोधन गर्न माग

नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ (बायाँबाट) ।

१६ चैत, काठमाडौं । एसईई परीक्षा जारी रहेका बेला प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते निर्धारण गरिएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘पहिले परीक्षा स्थगित गर्नुपर्‍यो, जसले वार्ताको वातावरण निर्माण गर्दछ ।’

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

‘शिक्षा ऐनमा १० औं संशोधन आवश्यक’

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले भने, ‘परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्छ ।’

आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि र मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा चक्काजाम गर्दैछन् ।

हेर्नुहोस् प्रमुख तीन विद्यार्थी संगठनले विहीबार राति जारी गरेको विज्ञप्ती

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment