+
+

विट कविको नेपाल यात्राः प्रलयको त्रासदीमा डुबेको काठमाडौं

गोविन्दगिरी प्रेरणा  गोविन्दगिरी प्रेरणा 
२०७४ चैत १७ गते १०:५७

अमेरिकी साहित्यमा विट सन्तति अर्थात् विट आन्दोलनको ठूलो महत्व र स्थान छ । विट जेनरेशन शव्दको प्रयोग सन् १९४८ माज्याक केरुआकसँगको संवादमा जोन सेलोन होमले प्रयोग गरेका थिए र पछि ज्याक केरुआकले न्यूयोर्कको  भूमिगत, प्रति सम्प्रदाय वादी युवा आन्दोलनको अर्थ दिने शब्दको रूपमा प्रयोग गरे ।

विट आन्दोलन न्यूयोर्कमा सन् १९४८ मा सुरु हुँदाताका संलग्न नभए पनि ७ अक्टोवर १९५५ मा सानफ्रान्सिस्कोमा भएको काव्य वाचनमा फिलिप लामान्टिया, मिचेल म्याक्लूर, फिलिपहृवालेन, एलेन गिन्सवर्गको साथै गेरी स्नाइडरले पनि यो आन्दोलनमा साथ दिएका थिए । सुरुमा १०० जना दर्शक सामु विद्रोही कविता पढेर विट आन्दोलन प्रारम्भ भएको थियो ।

वास्तवमा विट आन्दोलनका सर्वाधिक महत्वपूर्ण कवि एलेन गिन्सवर्गले केनेथ रेक्सरोथको सिफारिसमा स्नाइडरसँग भेट गरेका थिए र गिन्सवर्गको माध्यमबाट विट आन्दोलनका राजा मानिने ज्याक केरुआकसँग उनको भेट भएको थियो । त्यसपछि सन् १९५५ र १९५६ का केहीमहि गेरीले मिलभ्यालि क्यालिफोर्नियामा ज्याक केरुआकसँग विताएका थिए ।

सिक्स ग्यालरी काव्यवाचनलाई ज्याक केरुआकले आफ्नो सन् १९५८ को उपन्यास धर्म वम्सको दोस्रो अध्यायमा उल्लेख गरेका छन् र त्यसको प्रमुख प्रोटागोनिस्ट पात्र जाफी राइडरमा वास्तविक गेरी स्नाइडरलाई आरोपित गरेका छन् ।

गेरी स्नाइडरलाई जेन बुद्धिज्ममा रुचि थियो र यसको अध्ययनका लागि उनी जापान पुगे । जापान गएका बेला जापानबाट उनी नेपाल आएका हुन् ।

उनी सन् १९६२ मा जापानवाट हंगकंग हुँदै श्रीलंका पुगे र दक्षिण भारतको अनुराधापुरा, पाण्डिचेरी, तिरुवन्नमलइ, मद्रास, भुवनेश्वर कोणार्क, कलकत्ता, वोधगया, नालन्दा र पटना हुँदै नेपाल प्रवेश गरेका हुन् ।

यो उनको यात्रा नेपाल आएर टुंगिदैन । नेपालवाट उनले भारतका वनारस र सारनाथ, खजुराहो, ग्वालिएर नयाँदिल्ली, ऋषिकेश हरिद्वार, अल्मोडा, जयपुर, धर्मशाला, अजन्ता अलोरा हुँदै बम्बई पुगेर यात्रा समाप्त गरेका छन् ।

नेपाल छाड्ने अघिल्लो दिन उनलाई एउटा थाङ्का निकै मन परेको थियो । तर जतिसुकै मूल्य घटाउन खोजे पनि कलाकारले आफ्नो मूल्य छाडेन । काठमाडौं छाड्ने दिन उनले यो किनेरै छाडे ।

यो सिंगो यात्रा समेटेर उनले प्यासेज थ्रू इण्डिया नामक पुस्तक प्रकाशित गरेका छन् । यही पुस्तकमा उनले नेपालसँग सम्बन्धित कुराहरू लेखेका छन् जुन पढ्दा सन् १९६२ को नेपालको झल्को एक बौद्धिक कविको दृष्टिबाट हेर्न सकिन्छ ।

नेपाल आउन गेरीले पटनावाट महेन्द्रघाट हुँदै गंगा नदी तरेपछि मुजफ्फरपुरसम्म रेल, त्यहाँबाट पुनः सुगौलीसम्म अर्को रेल लिंदै भारततर्फको अन्तिम रेलमा रक्सौल आएर रक्सौलदेखि अमलेखगञ्ज नेपाली रेलमा यात्रा गरेका थिए । उनी रक्सौल आइपुग्दा विहानको ५ बजेको थियो । रक्सौलमा रेलबाट उत्रेर नेपाल-भारत सीमामा पैदल हिँडेर नेपाल प्रवेश गरेका थिए ।

नेपाली रेलमा प्रवेश गर्नुअघि भारतिय अधिकारीले भारत छाड्ने अनुमति दिएनन् । कालो ज्याकेटधारी यौटा युरोपेली रेलवाट हाम्फाल्दै गएर भारतीय अध्यागमन अधिकृतलाई उनी विश्वप्रसिद्ध व्यक्ति भएको बताएपछि रोकिएको अध्यागमनको काम गर्न उनीहरू बाध्य भएका थिए ।

गेरी स्नाइडर ३ फरवरीका दिन दिउँसो ३ वजे काठमाडौं पुगेका थिए । उनी काठमाडौं पुग्दा काठमाडौंमा धर्ती विनाश हुने हल्ला फैलिएको थियो । यो काठमाडौंमा मात्र होइन, नेपालभरि र पूरै भारतीय उपमहाद्वीप नै संसार प्रलय हुन्छ, धरती विनाश हुन्छ भन्ने भविष्यवाणीको त्रासले मानिसहरू पूजापाठमा लिप्त भएका थिए । ब्रह्माण्डका प्रमुख ग्रहहरू एउटै लाइनमा आउने हुनाले केही दैवी कुरा हुनसक्ने हो कि भनी विश्वका धार्मिक कट्टरपन्थीहरू पनि सहमत भएको समय थियो त्यो ।

गेरीले काठमाडौंमा पहिलो रात सस्तो मानिएको पाटन गेटको हिमालया होटलमा बास वसेको उल्लेख गरेका छन् । तर त्यो होटलमा मुसाको विगविगीले आत्तिएर भोलिपल्टै त्यो भन्दा राम्रो होटलमा सरेको पनि वर्णन गरेका छन् ।

प्रलयको त्रासमा काठमाडौं तीन दिनसम्म डुबेको गेरीले अनुभूत गरे । सबै ग्रह तीन दिनसम्म समानान्तर रहेका थिए । तर त्यस्तो कुनै घटना नघटेपछि काठमाडौंको जीवन सामान्य अवस्थामा फर्किएको थियो । यो कुरा गेरीले पुस्तकमा रोचक ढंगले प्रस्तुत गरेका छन् ।

यो काठमाडौंमा मात्र होइन, नेपालभरि र पूरै भारतीय उपमहाद्वीप नै संसार प्रलय हुन्छ, धरती विनाश हुन्छ भन्ने भविष्यवाणीको त्रासले मानिसहरू पूजापाठमा लिप्त भएका थिए ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू एक दिन साइकलमा यात्रा गरेर उनले घुमेका थिए, मन्दिरहरू, वौद्ध स्तुपहरू र पुराना पागोडाहरू अवलोकन गर्दै ।

सानफ्रान्सिस्कोमा कविता वाचन गर्दा उनलाईर् विद्रोही कविका रूपमा देखेका एक अमेरिकन उनले काठमाडौंमा भेटे अचानक । कविले पाठक भेटेको थियो, आफ्नो कविताको । उनीहरू जीप लिएर एक दिन नगरकोट पुगे । तर बादल र वर्षाको कारण आकाश नखुलेकोले माउण्ट एभरेष्ट हेर्न नपाएर निराश हुनु परेको तर पहाडमा पैदलयात्रा गर्दै गाउँ र बस्ती चहार्दा मज्जा लागेको पुस्तकमा उल्लेख गरेका छन् ।

उनले स्वीस एड मिसनले उत्पादन गरेको स्वादिष्ट चीज दुई पाउण्ड किनेको पनि सम्झेका छन् ।

खाली खुट्टा एका बिहानै दाउरा बेच्न आउनेहरूलाई पनि उनले क्यामेरा र शब्दमा कैद गर्न भ्याए ।

अमेरिका र जापान पुगेर र्फकेका एक नेपाली बौद्धमार्गी जसले स्कूल सञ्चालन गर्थे, उनीसँग एकपल्ट रातको खाना खाएको सम्झनालाई पनि पुस्तकमा समेटेका छन् । राँगाको मासु र ठर्रा (अयला) खाँदै ती बौद्धमार्गीसँग उपयोगी वार्तालाप गर्न भ्याएका थिए ।

नेपाल छाड्ने अघिल्लो दिन उनलाई एउटा थाङ्का निकै मन परेको थियो । तर जतिसुकै मूल्य घटाउन खोजे पनि कलाकारले आफ्नो मूल्य छाडेन । काठमाडौं छाड्ने दिन उनले यो किनेरै छाडे ।

उनको यो नेपाल भ्रमणमा उनकी श्रीमती जोआनाकिगर पनि साथमा थिइन् । जाआनाकिगरसँग उनले सन् १९६० देखि १९६५ सम्म दाम्पत्य जीवन विताएका थिए । उनले जोआनासँग जापानमा २८ फरवरी १९६० मा जापान पुग्ने बित्तिकै सासाकीको सुझावमा विवाह गरेका थिए । सासाकीको मत थियो- सँगै बस्ने हो र पहिलो जेन प्रतिष्ठान अमेरिकासँग आवद्ध हुने हो भने विवाह गर्न जरुरी छ । अतः उनको नेपाल भ्रमणमा जोआना पनि साथै थिइन् र उनले गेरीलाई उनको र अन्य थुप्रै फोटो खिचेर मद्दत गरेकी थिइन् ।

र्फकंदा गेरी दम्पती सानो विमानवाट पटना फर्किए । विमान उडेपछि बादलभित्र पसेको र हिमाल हेर्न नपाए पनि पहाडहरू र तिनका चुचुरामा बनेका घरहरूको दृश्यपान गर्न पाएको अवसरलाई पनि उनले पुस्तकमा उल्लेख गर्न छुटाएका छैनन् ।

(‘प्यासेज थ्रू इण्डिया’ पुस्तकवाट लिइएका तस्वीरलाई उनकी श्रीमती गेरी स्नाइडर तथा जोआनाकिगरले खिचेका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?