+
+

सिन्धुपाल्चोकका भूकम्पपीडित: लालपूर्जा पाएनन्, घर बनाउन र बत्ती बाल्नबाट बञ्चित

दिनेश थापा दिनेश थापा
२०७४ चैत १९ गते ७:३८
फाइल तस्वीर

१९ चैत, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका १ सिम्पालकाभ्रेका पासाङ तामाङले बत्तीको मिटर जडानका लागि झोलामा निवेदन बोकेर हिँडेको लामो समय भइसकेको छ तर पनि उनले अहिलेसम्म मिटर पाएका छैनन् । जग्गाधनी पूर्जा नहुँदा उनले मिटर पाएका छैनन् ।

सोही गाउँका लाक्पा दोर्जे तामाङको समस्या पनि उस्तै छ । ‘गाउँमा सबैले बत्ती बालेका छन् तर हामी भने टुकी बालेर बस्नुपर्छ,’ उनले भने, ‘लालपुर्जा नहुँदा बत्ती बाल्न नै पाइएको छैन ।’

मिटरको लागि प्राधिकरणमा धेरै अनुरोध गरेपनि जग्गाधनी पूर्जा नहुँदा मिटर नपाएको उनले बताए । ‘भए जग्गाधनी पूर्जा , नभए १० हजार ‘डिपोजिट गर्नुपर्छ भनेर प्राधिकरणले भनेको छ’, शेर्पाले भने, ‘अब घर बनाउन त पैसा छैन १० हजार डिपोजिट कसरी राख्नु ।

तामाङ र शेर्पा जस्तै पीडामा छन्, सिम्पालकाभ्रेका ३२ घर–परिवार । जग्गाधनी पूर्जा नहुँदा सरकारी सेवा सुविधा पाउनबाट उनीहरु बञ्चित भएको जिल्ला भूमि अधिकार मञ्चका संयोजक माधव ढकालले जानकारी दिए ।

आसपासका सबै छिमेकीहरुले भूकम्पपीडितले सम्झौता गरेर अनुदान लिए पनि आफूहरुको नाममा जग्गाको पूर्जा नहुँदा अनुदान सम्झौता रोकिएको शेर्पाले बताए ।

‘सबैले नयाँ घर बनाएर बस्न थालिसके हामी भने अझै टहरोमा नै छौं,’ उनले दुःखेसो पोखे, ‘यती लामो समयदेखि जग्गा भोगचलन गरेका छौं, तर स्वामित्व हाम्रो नाममा छैन ।’

३,३६७ परिवार जग्गाधनी पूर्जाबाट बञ्चित

सिन्धुपाल्चोकमा ३ हजार ३६७ परिवारको नाममा जग्गाधनी पूर्जा छैन । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा विभिन्न गुठीको नाममा रहेपछि भूकम्पको अनुदान सम्झौता गर्न उनीहरुलाई समस्या भएको छ ।

सबैभन्दा धेरै मेलम्ची नगरपालिकाको फटकशीलामा ४ सय ७९ जना गुठी समस्याबाट पीडित छन् । उनीहरु बस्दै आएको सबै जग्गा काठमाडौंस्थित पशुपतिनाथको नाममा छ ।

त्यस्तै तौथलीका ३ सय घरपरिवारको जग्गा दिगु तलेजु गुठीको नाममा छ । हेलम्बु गाउँपालिका, किउलका ४१ जनाको जग्गा छेमी घ्याङ गुठीको नाममा छ । विभिन्न देवी देवताको नाममा आफ्नो जग्गाको स्वामित्व हुँदा जिल्लाका सयौं किसानहरु समस्यामा छन् ।

लालपूर्जा पाउनेहरुको आँखामा आँसु

लालपूर्जा अभावमा भूकम्प पीडितले पाउने सबै सुविधाबाट बञ्चित भएकी मेलम्ची नगरपालिका–११ फटकशिलाकी गोमा तिवारीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको पूर्जा पाएपछि भक्कानिँदै भनिन्, ‘सबैले घर बनाइसके, लालपूर्जा नहुँदा घर बनाउन पाएको थिइनँ, अब म पनि घर बनाउँछु ।’

फटकशीलाकै कान्छीमाया डोटेल पनि हातमा जग्गाको लालपूर्जा पाएपछि कम्ती खुसी भइनन् । खुसी हुँदै उनले भनिन्, ‘जग्गाको प्रमाण पूर्जा नहुँदा हामी उही देशमा बस्दा पनि अन्य नागरिक हो की जस्तै व्यवहार गर्थै तर अब यही देशका नागरिक भएका छौ ।’

लालपूर्जा नहुँदा भूकम्पलगत्तै अस्थायी टहरो निर्माणका लागि सरकारले दिएको १५ हजार, जाडोको १० हजार तथा घर निर्माणका लागि अनुदान नपाएको डोटेलले गुनासो गरिन् ।

‘गाउँमा सबैले घर निर्माण गरिसके लालपूर्जा नहुँदा अनुदान सम्झौता नै भएको छैन, अब त लालपूर्जा पनि छ, मेयरसाब पनि यहीँ हुनुहुन्छ, भोलि नै गएर अनुदान सम्झौता गर्छु,’ डोटेलले भनिन् ।

गोमा र कान्छीमाया मात्रै होइन लालपुर्जा अभावमा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित भएका फटकशीलाका १३७ घरपरिवारले लामो समयदेखि उपभोग गर्दै आएको जग्गाको धनी पूर्जा पाएपछि एक आपसमा खुसी साटासाट गरे । लालपुर्जा पाएको खुसीमा नाचगान समेत गर्न भ्याए ।

फटकशिलाका स्थानीयले उपभोग गर्दै आएको जग्गा पशुपतिनाथको गुठीको नाममा रहेको छ । लामो समयदेखि जग्गा जमिनमा रगत पसिना बगाएपनि आफ्नो नाममा जग्गाको स्वामित्व नहुँदा पीडितहरुले राज्यबाट पाउने सेवा सुविधाबाट समेत बञ्चित हुँदै आएका थिए । जग्गा कमायो तर पशुपतिनाथमा लगेर तिरो बुझाउनु पर्थ्यो स्थानीय पोडे तामाङले भने । लालपूर्जा नहुँदा बैंकमा धितोबन्धक राख्न समेत समस्या हुने गरेको उनले बताए ।

जिल्ला भुमिअधिकार मञ्च र जग्गाविहीनहरुको पक्षमा लामो समयदेखि लड्दै आएको सामुदायिक आत्मनिर्भरता केन्द्रको पहलमा गुठीजग्गा पीडितहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?