२० चैत, काठमाडौं । गत सिजन च्याम्पियन्स लिग फाइनलमा भिडेका रियल मड्रिड र युभेन्टस यसपटक क्वाटरफाइनलमै भिड्दै छन् । त्यसबेला युभेन्टसलाई ४-१ ले हराएर मड्रिडले उपाधि जितको थियो ।
यो वर्ष अन्य कुनै पनि प्रतियोगितामा बलियो उपस्थिति देखाउन नसकेको मड्रिड च्याम्पियन्स लिगमा केन्द्रित देखिन्छ । युभेन्टस र रियल मड्रिडबीच च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग नेपाली समयअनुसार राति साढे १२ बजे हुँदैछ ।
खेल युभेन्टसको घरेलु मैदान ट्युरिनमा हुनेछ ।
यसअघिका नतिजा पनि बराबरीको स्थितिमा रहेको दुबै टिमका प्रशिक्षक आˆनो टिम विजयी हुनेमा आशावादी छन् ।
म्यासिमिलियानो एलेग्री, युभेन्टस प्रशिक्षक
हामी च्याम्पियन्स लिगमा सबैभन्दा रोजाइँको टिमविरुद्ध खेल्दै छौँ । यसैले पनि उनीहरुलाई हराउनु हाम्रो लागि महत्वपूर्ण छ । यो हाम्रो लागि फाइनल जस्तै हो ।
आजको खेलको नतिजाले समर्थक पनि खुशी हुन पाउने छन् । किनकी जित्ने टिम तीन वर्षमा दोस्रो पटक फाइनल नजिक पुग्ने छन् । हामीलाई समर्थकको साथ चाहिन्छ । गएको वर्षको फाइनल खेल मैले धेरै पटक हेरेको छु । हामीले धेरै सुधार गरेका छौँ । गएको वर्षभन्दा निकै भिन्न हुने छ खेल । हामी जित्नेमा आशावादी छौँ ।
जिनेदिने जिदान, रियल मड्रिड प्रशिक्षक
यो दुबै टिमको लागि ठूलो खेल हो । हामी यहाँ राम्रो खेल प्रस्तुत गर्नका लागि छौँ । गएको वर्षको फाइनल खेलको सम्बन्ध आज हुने छैन । त्यो सोचेर खेल्ने समय पनि होइन यो । मलाई लाग्छ रियल मडि्रड र युभेन्टस उस्तै सोचमा छ । मैले युभेन्टसविरुद्धको खेलबाट धेरै कुरा सिकेको छु जस्तो लाग्छ । युभेन्टस वर्षौंदेखि धेरै बलियो टिम हो । उनीहरु सबैकुराले पूर्ण छन् । हामी राम्रो खेलेर जित्ने आशमा छौँ ।
सम्भावित ११ खेलाडी
रियल मडि्रडः नाभास, कार्भाजोल, रामोस, भराने, मार्सेलो, क्यासेमिरो, क्रुस, मोडि्रक, इस्को, रोनाल्डो र बेन्जेमा ।
युभेन्टसः बुफोन, डे सिजिलो, ब्राजाग्ली, चिलेनी, आसामो, खेदिरा, बेन्टान्कर, म्यातुडी, डिबाला, हिग्वेन र डगलास कोस्टा ।
यसअघिका खेल
च्याम्पियन्स लिगमा रियल मडि्रड र युभेन्टसले खेलेका १९ खेलमा मड्रिडले ९ खेल जितेको छ । युभेन्टसले ८ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएका छन् । गोलका हिसाबले दुई टिमले एकअर्काविरुद्ध २२/२२ गोल गरेका छन् ।
यसपटक ला लिगामा कमजोर देखिए पनि रियल मडि्रड च्याम्पियन्स लिगमा भने बलियो रुपमा प्रस्तुत भइरहेको छ । स्पेनिस ला लिगामा ३० खेलमा ६३ अंकसहित मडि्रड तेस्रो स्थानमा छ । युभेन्टस भने इटालियन ‘सिरी ए’ को शीर्ष स्थानमा रहेको छ । युभेन्टसको ३० खेलमा ७८ अंक रहेको छ ।
जारी सिजन च्याम्पियन्स लिगमा गरेको प्रदर्शनको आधारमा युइएफएले गरेको र्याङकिङमा मडि्रडका क्रिष्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् । जारी सिजन सर्वाधिक गोलकर्ता रहेका उनले ८ खेलमा १२ गोल गरेका छन् । एक गोलको अवसर सिर्जना गरेका छन् । उनले ११ गोल डिबक्स भित्रबाट गरेका छन् ।
उनले यो सिजन च्याम्पियन्स लिगका हरेक खेलमा गोल गरेका छन् । यसैले रोनाल्डोलाई डिबक्स एरियामा रोक्न सके युभेन्टस बलियो बन्ने छ । यदि रोनाल्डोको प्रदर्शनले निरन्तरता पाए युभेन्टसलाई कठीन हुने छ ।
पूर्व रियल मडि्रड खेलाडीसमेत रहेका गोन्जालो हिग्वेनको प्रदर्शन पनि लयमा देखिएको छ । मडि्रडको खेल शैलीबारे अवगत भएकाले पनि हिग्वेन मडि्रडविरुद्ध हाबी हुने अनुमान गरिएको छ । उनले जारी सिजन ८ खेलमा ५ गोल गरेका छन् र एक गोलको अवसर बनाएका छन् ।
प्रतिक्रिया 4