+
+

देवघाटमा शवदाहका सामग्रीले नारायणी प्रदूषित

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते १७:००

२०, चैत, चितवन । चितवन तर्फको देवघाट क्षेत्रमा शव जलाउँदा निस्कने सामग्रीहरु जथाभावी फाल्दा नदी क्षेत्र प्रदुषित बन्दै गएको छ ।

नारायणी नदी प्रदुषित हुँदै गएको आवाज उठन थालिरहेका बेला, देवघाटमा शव दाह गर्ने क्रममा फालिएको फोहरले बढाएको प्रदुषणको बारेमा भने खासै चासो दिइएको छैन ।

त्रिशुली र कालीगण्डकी नदीको संगम नै देवघाट हो । दुई नदी मिसिएपछि यसलाई नारायणी नदी भन्ने गरिन्छ ।

शव दाह गरिएको स्थानमा आधा जलेका दाउरा, कालो अंगार, मृतकका लुगाफाँटा, बेडबिस्तारा, अन्तिम संस्कार लागि ल्याइएका अन्य समग्री यत्रतत्र यतिकै फाल्ने गरिएको छ ।

यसको सरसफाइका लागि तीन जना कामदार राखिएका छन् मासिक ४ हजार दिएर । ती मानिसहरुले ध्यान यसतर्फ नहुने भरतपुर महानपालिका वडा नः १ का वडाध्यक्ष जयराम श्रेष्ठले बताए ।

देवघाट क्षेत्र विकास समितिलाई यस बारेमा पटकपटक जानकारी गराउँदा पनि ध्यान नदिएको आरोप श्रेष्ठको छ । ‘ढिलोचाडो नारायणी नदीपनि बाग्मती जस्तैं हुन बेर छैन ।’ वडाध्यक्ष श्रेष्ठले भने ।

देवघाटको यो क्षेत्रमा दैनिक १५ भन्दा बढी लासहरु संस्कारका लागि ल्याउने गरिन्छ । हरेक वर्ष शव दाहका लागि लास ल्याउने क्रम बढेको छ ।

देवघाट क्षेत्र विकास समितिले प्रति शवको सरसफाई शूल्क भनेर तीन सय रुपैयाँ लिने गरेको छ ।

बाषिर्क एक लाख ३५ हजारभन्दा बढी आम्दानी गरेपनि सो क्षेत्रको सरसफाइमा क्षेत्रविकास समितिले खास चासो नदिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले दाहसंस्कार गर्ने क्षेत्रको सरसफाइमा कमि भएको महसुस भएको स्वीकार गरे ।

उनले चाडै नै सरोकारवालाहरुसँग बसेर केही काम अघि बढाउने बचन दिए ।

दाहसंस्कार गर्ने स्थानमा अनावश्यक सामग्री जम्मा गर्न खाडल बनाइएको भएपनि कसैंले त्यसको प्रयोग नगरेको अधयक्ष पौडेलले बताए ।

देवघाट क्षेत्र विकास समिति र भरतपुर महानगरपालिका वडा नः १ का वीचमा असझदारी रहँदै आएको छ ।

देवघातट क्षेत्र विकास समितिको अध्यक्ष आफ्नै पार्टीको भएपनि समझदारीमा काम हुन नसकेको वडाध्यक्ष जयराम श्रेष्ठले टिप्प्णी गरे ।

सटरको भाडा, पार्किङको शूल्क, सरसफाईको शूल्क लगायतका विषयमा क्षेत्र विकास समिती र वडामा विचमा मतएकता छैन ।

शवदाह गृह निर्माणका लागि भरतपुर महानगरपालिकाले यसै वर्ष २० लाख रुपैयाँ रकम छुट्टाएको छ ।

विद्युतीय शवदाह गृह बनाउन ७ करोड लाग्ने अनुमान गरिएको छ । फागुन महिनाबाट निर्माणको काम थाल्ने योजना भएपछि काम सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?