Comments Add Comment

प्रदेश ४ का गृहमन्त्रीलाई कारागार प्रमुखले सुनाए समस्यै समस्या

२० चैत, पोखरा । प्रदेश ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरास्थित कास्की कारागारको अनुगमन गरेका छन् ।

मंगलबार अपराहृन उनले थुनुवा तथा कैदीबन्दीको अवस्था, उनीहरु बस्ने तथा सुत्ने ठाउँ, मेस, काम गर्ने, सुत्नेलगायतका ठाउँहरु हेरेका छन् । मन्त्री चुमानले थुनुवा तथा कैदीबन्दीलाई बस्ने, खाने, सुत्ने, खेल्नेलगायत अवस्थाबारे चासो राखेका थिए ।

मन्त्री चुमानलाई कारागार प्रमुख हरि गौतमले कारागारका कैदीबन्दीलाई दिने नगदी सिदा कम भएको जानकारी गराउँदै बढाउनका लागि पहल गर्न आग्रह गरे ।

उनका अनुसार हाल कैदीबन्दीलाई ७ सय ग्राम चामल र ४५ रुपैयाँ नगद नुन, तेल, मसला तथा तरकारीका लागि भनेर दिने गरिएको छ । दैनिक रुपमा दिइने नगद ४५ रुपैयाँले कैदीबन्दीलाई नपुग्ने भन्दै कम्तीमा पनि ७५ रुपैयाँसम्म पुर्‍याउनुपर्ने गौतमले बताए ।

कारागार प्रमुख गौतमले कारागारको पर्खाल जीर्ण भएको, कम्पाउण्ड सानो हुँदा कैदीबन्दीलाई घुम्न अप्ठ्यारो भएको, कारागारमा पर्याप्त ठाउँ नहुँदा थुनुवा, ठूला अपराधी, साना कसुरमा परेका कैदी, रोगी कैदी सबैलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता भएको बताए ।

त्यस्तै, कैदीको औषधी खरिदका लागि ८ लाख रुपैयाँ आए पनि स्वास्थ्य जाँच र ल्याब खर्चमा रकम नभएको कारागार प्रमुख गौतमले बताए ।

यसैगरी, थुनुवा तथा कैदीबन्दीहरुलाई सुत्नको लागि दिइएको २४ इञ्चको विस्तारा सानो भएकाले कम्तीमा ३६ इञ्चको दिनुपर्ने पनि उनले माग गरे । उनका अनुसार कैदीबन्दीहरु खाटमा नपुगेर भुईंमै बिस्तारा लहरै सुताउने गरिएको छ ।

कास्की कारागार ४ सय जनासम्म अटाउनसक्ने क्षमता छ । तर हाल सो कारागारमा १ आश्रित नाबालकसहित ७ सय ३९ जना कैदीबन्दी रहेको प्रमुख गौतमले जानकारी दिए ।

उनका अनुसार कारागारमा हाल कर्तव्य ज्यान मुद्दाका १ सय ४६, ज्यान मार्ने उद्योगका  १५, डाकाका २०, अपहरणका १२, लागूऔषधका १ सय ८४, मानव बेचविखनका ३४, सामान्य अपराधका २०, वहुविवाहका १२, आगो लगाएको मुद्दाका २, ठगीका १४, सवारी ज्यान मुद्दाका ९ लगायतका थुनुवा तथा कैदीबन्दी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment