+
+
Shares

नेपालमा ५० वर्षअघि नै जेटबोट चलेको प्रमाण

बिराट अनुपम बिराट अनुपम
२०७४ चैत २२ गते १:१०

२१ चैत, इटहरी । सप्तकोशीमा नेपाली झण्डावाल ‘पानी जहाज’ चलेको समाचार सुनेर धेरै नेपालीहरु खुशी देखिए । ३० सिटे जेटबोट सुनसरीको चतरादेखि भोजपुर, उदयपुर र धनकुटाको सिम्लेसम्म चल्न थालेको छ ।

चारघण्टामै इटहरीबाट भोजपुर सदरमुकाम पुग्न सडकमार्गबाट सम्भव छैन । तर, जलयात्राले भने ९ घण्टाको सडक दुरीलाई आधामा ल्याउने देखिएको छ ।

भोजपुर मात्रै हैन, धनकुटाकै सिम्ले क्षेत्र आसपासबाट ७ घण्टामा मात्रै धरान आउनेहरुलाई पनि जलयात्राले १ घण्टामै आउन मिल्ने बाटो खुलेको छ ।

चतराबाट जलयात्रा चल्दा धनकुटा र भोजपुरका जनता सुनसरी हुँदै पूर्वी तराईसँग थप नजिक भएका छन् ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालीले चैत्र ११ गते नै पहिलोपटक चतरामा जेटबोट चलाएको भने होइन । केही वर्ष अगाडि सुम्निमा जल यातायातले पनि सप्तकोशीमा जेटबोट चलाएको थियो । तर, बोट पल्टेर एकजना बेपत्ता भएपछि सेवा बन्द भएको थियो ।

हाल बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले चैत्र २० गतेबाट व्यवसायिक जेटबोट सञ्चालन गरेर प्रदेश १ मा एक्लो जल यातायातको अस्तित्व बनाएको छ ।
कतिपयले हालसालै सुरु भएको जेटबोटलाई भारतीय डिजाइनमा भएको जलयात्राका रूपमा लिएर आलोचना गरेका छन् । खास गरी केपी ओलीले चुनावी भाषणमा सप्तकोशी उच्च बाँध बनाएर ताप्लेजुङ र दोलालघाटसम्म पानी जहाजमा यात्रा गर्न पाइने बताएका थिए ।

कुलमान घिसिङले पनि केही महिना अगाडि भारतको गङ्गा नदीबाट सप्तकोशी र सप्तकोशीबाट दोलालघाटसम्म पानीजहाज उच्च बाँध बनेको अवस्थामा चल्न सक्ने बताएका थिए ।

ओली र घिसिङले भारतीय पक्षले स्थानीयको विरोधका बाबजुद बनाउने भन्दै आएको २६९ मिटर अग्लो बाँध बनेपछि मात्रै पानी जहाज चल्ने सपना बाँडेका छन् ।
तर, उच्चकोशी बाँध नबन्दै अहिलेकै अवस्थामा जेटबोट चलाएर सप्तकोशीका सहायक नदीहरू तमोर, अरुण, सुनकोशी जस्ता नदीमा जलयात्रा गराउन सकिने सम्भावना देखिएको छ ।

पानीको बगाइकै दिशामा हुने र्‍याˆटिङसँगै पानीको बहाव विपरीत पनि चल्ने जेटबोटले साहसिक पर्यटन र जलयात्रा दुबैमा कमाइ गर्न सक्छ ।

एडमण्ड हिलारी हुन् पहिलो जेटबोट चालक

धेरैले नपत्याउन सक्लान् । तर, चतरामा पहिलोपटक जेटबोट चलाउने न्यूजिल्याण्डका एडमण्ड हिलारी हुन् । तिनै एडमण्ड हिलारी, जसले सगरमाथा पहिलोपटक सन् १९५३ मे २९ मा आरोहण गरेका थिए ।

उनै हिलारीले सगरमाथा आरोहणको पन्” वर्षपछि सन् १९६८ मा चतराको सप्तकोशी नदीबाट सुरु गरेर सुनकोशीको दोलालघाटसम्म जेटबोटमा जलयात्रा गरेका थिए ।
आफ्ना साथी एवं कुशल जेटबोट चालक जोन हृयामिल्टनसँगै हिलारीले जेटबोट यात्रा गरेका थिए । आइडी भिन्टेज नामक एक क्यानाडेली संस्थाले बनाएको भिडियोले नेपालमा जेटबोट चलेको एक इतिहास हेर्न पाइन्छ ।

भिडियोमा हिलारीको पुस्तक ‘फ्रम द ओसियन टु द स्काई’ को रिफरेन्स लिइएको छ । सो पुस्तकमा हिलारीले गंगा नदीमा गरेको जेटबोट यात्राको जोखिमपूर्ण वर्णन गरेका छन् ।

उनै हिलारी र हृयामिल्टनले ५० वर्ष अगाडि गरेको कोशी नदीको जलयात्रा गराउन निजी क्षेत्र बल्लबल्ल जोसिएको छ । तर, पूरा आत्माविश्वास भने पलाएको छैन । र, त त्योबेला सप्तकोशीबाट दोलालघाटजस्तो लामो यात्रा अहिले भएको छैन ।

त्योबेला चतरादेखि १७५ किलोमिटरको दोलालघाटसम्म यात्रा गरेका थिए हिलारीहरुले । अहिले केवल १५ किलोमिटर मात्रै यात्रा हुन्छ । तर, बाटोका ढिस्का र ठूला ढुंगाहरू हटाउने हो भने दोलालघाट, तुम्लिङटार र ताप्लेजुङको दोभानसम्म सहजै जेटबोट यात्रा हुन सक्ने जेटबोट सञ्चालकहरु बताउँछन् ।

तीन फिट गहिरो पानी र थोरैमा १५ फिट चौडाइ भएको खोलामा पनि सहजै जेटबोटमा जलयात्रा हुने बराहक्षेत्र जल यात्रा तथा पर्यटन प्रालिका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?