Comments Add Comment

ओ अंकल ! कान छैन ? पछाडि सर्नुस् भनेको

‘ए अंकल कान छैन कि क्या हो ? पछाडि सर्नुस् भनेको, सुनेन ?’

हरेक दिन बसका सहचालक भाइ मलाई यसैगरी हप्काउँछन् । मैले उनको ऋण खाएको पनि हैन । उनको जग्गा मिचेको पनि छैन । भक्तपुरको गठ्ठाघरबाट रत्नपार्क जाने बसमा चढ्न पाएको हुँदैन, सहचालक भाइले ‘पछाडि जानुस्’ भन्दै ढाडमा घोच्दै धकेल्छन् । अर्काको शरीरमा त्यसरी अभद्र स्पर्श गर्नु उनका लागि सामान्य हो ।

‘पछाडि जानुस् न भन्या, त्यत्रो ठाउँ छ, कस्तो मान्छे रैछ, भनेकै सुन्दैन, ओ अंकल कान छैन ?’, सहचालकको कर्कश आवाजले साँच्चै कानै खालाजस्तो गर्छ ।

सकी नसकी म पछाडि जान खोज्छु ।

बसका दुबैतर्फका सिटको बिचमा जुन साँघुरो गल्ली हुन्छ, त्यसमा दुबैतर्फ झ्यालतिर फर्किएर यात्रुहरु सकसपूर्ण झुण्डिएका हुन्छन् । अब मैले उनीहरुको बीचबाट बाटो पहिल्याउँदै घुसेर पछाडितर्फ जानुपर्ने हुन्छ ।

‘एैया कस्तो ठेलेको, सोमत नभएको मान्छे’, यात्रुलाई पन्छाउँदै पछाडि जान खोज्दा मलाई नमिठो नजरले हेर्दै एक महिला कराउँछिन् ।

‘कस्तो ठिस मान्छे रहेछ, खुट्टामै कुल्चियो यार’, अर्का अधवैंशे बम्किन्छन् ।

बस कौशलटारमा रोकिएको छ । बसमा चढ्न यात्रुहरु तछाड मछाड गर्दैछन् । उता बस स्टपमा धेरैबेर रोकेको देखेर ट्राफिक प्रहरी सिटी फुक्न थाल्छन् । सहचालक भाइमा भने सबै यात्रुलाई बसमा कोच्न पाइयोस् भन्ने हुटहुटी देखिन्छ र त्यसले उनमा छटपटी बढाउँछ ।

अचानक उनी रोकिरहेको बसको पछाडिको चक्कामाथि उक्लिन्छन् र झयालबाट हात घुसारेर एकजना महिलालाई भन्छन्, ‘ओ दिदी पछाडि जानुस् न भन्या, भनेको सुनेन कि क्या हो ? त्यत्रो खाली छ !’

म देखिरहेको छु, भाइले ति महिलालाई ठाडै औंलाले घोच्ने गरी ‘टच’ गरेर पछाडि जान भनिरहेका छन् । ति महिलाको एक हातमा तरकारीको झोला छ र अर्को हातले बसको डण्डी समातिरहेकी छन् । त्यहाँ खाली ठाउँ पटक्कै छैन, तैपनि कोच्ने धृष्टता भइरहेको छ ।

सहचालकलाई बसको एक-एक साइजको हेक्का छ । अगाडिदेखि पछाडिसम्म कतिजना कोच्न सकिन्छ भन्नेमा उनी हिसाब गरेर बसिरहेका हुन्छन् । ‘तपाईं सिधा यो कोणमा उता फर्किएर बस्नुस् त, त्यत्रो खाली छ’ भन्दै एक एक इन्च हिसाब गरेर काठको दराजमा किताब कोचे सरह यात्रुलाई कोचिरहेका छन् ।

नाजी शासक हिटलरले यहुदीहरुलाई मार्न बनाएको ग्यास च्याम्बरबारे म अनविज्ञ छु । तर, बसमा त्यसरी निसास्सिएर यात्रा गर्दा म अनायासै ग्यास च्याम्बरमा मारिएका लाखौं यहुदीहरु पनि यसैगरी निसास्सिएका होलान् भन्ने अनुमान गर्छु । निसास्सिएको अनुभव हुनु भनेको स्वच्छन्द पाराले सास लिन नपाउनु त हो नी । धुलो र धुवाँ भरिएको वायु पनि राम्ररी फेर्न पाइन्न, बसभित्र । किनकी, गुम्सिएको कार्बनडाइअक्साइडको गुम्फनमा कच्याकुचुक भएर उभिनुपर्दा बान्ता आउलाजस्तो हुन्छ ।

यति मात्र हो र ? एकातर्फमात्र फर्किइ डण्डी समाएर यात्रा गरिरहँदा चालक स्पीडमा कुदिरहेको बसलाई एक्कासी घ्याच्च ब्रेक हान्छन् ।  ‘इनर्सिया’को त्यो बेगलाई अनपेक्षित रुपमा सहनुपर्दा यात्रुको शरीर, मन र आत्मासमेत तर्सिन्छ ।

अहो, कस्तो यातना । दायाँ बायाँ निस्फिक्री फर्किन या चलमलाउन  नपाउँदा धेरैपटक मेरो ढाड मर्किएको छ । कहिले हातको कुहिनो तनक्क तन्किएर चलाउनै नहुने भएको छ । एकपटक त मेरो अण्डकोष नै धेरैबेरसम्म च्यापियो । यदि त्यो फुटेको भए….? उफ्, कल्पना नगरौं ।

‘ऐया, आमा, उफ्, कति कोचेको ? ठाउँ नै छैन, कसरी पछाडि जानु ?’ जस्ता अनेक उच्छबासहरु बसमा सुनिन्छन् । उभिएका हरेक यात्रुको मुहार हेर्छु । जीवनका अनेक दुःखलाई दबाएर हाँसिरहेको मुहारमा एकैपटक तनाव भरिएको देखिन्छ ।

लोकन्थली आएपछि जाम सुरु हुन्छ । जामकै मौकाका यात्रुको कोचाकोच र घोँचाघोच सुरु हुन्छ । भन्न त देश अग्रगामी यात्रामा हिंडेको भनिन्छ, तर सार्वजनिक यातायातका यात्रु भने सधैं पछाडि जानुपर्छ । बिहानदेखि साँझसम्म सहचालकको मन्त्र हुन्छ, ‘पछाडि जानुस्, पछाडि जानुस् ।’

यात्रुलाई यति विघ्न यातना दिएर यातायात व्यवसायी खल्ती गरम गर्छन् । यात्रु कोच्नकै लागि सिण्डिकेट लागू गरिएको छ । कुनै पनि रुटमा नयाँ सुविधाजनक गाडी थपियो भने एकाधिकार कायम गर्न चाहने व्यवसायी मैदानमा उत्रन्छन् । हो, कुनै पनि रुटमा गाडीहरु थपिदा व्यवसायीले एउटै गाडीमा डबल यात्रु कोचेर कुस्त कमाइ गर्न पाउँदैनन्, तर यात्रुलाई भने त्यसबाट लाभ हुन्छ । व्यवसायीको आम्दानी घट्ला, तर यात्रुले सहज ढंगले यात्रा गर्न पाउँछन् । धेरैबेर गाडी कुर्नु पनि पर्दैन । र यही नै लोक कल्याणकारी राज्यको पहिचान पनि हो ।

केही समययता साझा यातायात, मयूर यातायात, राजधानी यातायात, महानगर यातायात, सीटी मेट्रो, ओरेन्ज यातायात आदिमा यात्रा गर्दा मैले सहज अनुभूति गर्ने गरेको छु । ठूला र लामा बसहरुमा उभिएरै यात्रा गर्दा पनि उफार्ने र घ्याच्च ब्रेक लाउने गरिएको पाइँदैन । तर, साना मिनिबस र माइक्रोमा भने यात्रुलाई सिन्की झैं खाँदिन्छ ।

‘छिटो झर्नुस्, धेरैबेर गाडी रोक्दैन’, कोटेश्वर आएपछि सहचालक कराउँछन् ।

कत्रो अन्याय । गठ्ठाघरमा चढ्दा पछाडि धकेल्ने तिनै भाइ अब गन्तब्य आएपछि चाहिँ छिटो झर्नुस् भनिरहेका हुन्छन् । पछाडि कोचिएका यात्रु त्यत्रो भिड छिचोलेर अगाडिको ढोकाबाट सहचालकले भनेकै समयमा कसरी र्झन सक्छन् ? तर, उनीहरुले भन्नासाथ यात्रु ढोकामा नपुग्दा चालक गाडी कुदाइसक्छन् ।

‘ए रोक, रोक’, यात्रु कराउँछन् ।

‘छिटो झर्नुस् भनेको हैन, त्यत्रो कराएको नसुन्ने ?’, सहचालक उल्टै हप्काउँछन् ।

यात्रु आफूले झर्नुपर्ने गन्तब्यमा र्झन पाउँदैन, धेरै पर अर्को गन्तब्यमा र्झन बाध्य हुन्छन् ।

म प्रायः यस्तो दृश्य देखिरहन्छु । भाडा तिर्ने बेलामा यात्रु र सहचालकको भनाभन हुन्छ । तँतँ मम हुन्छ । यात्रु सहचालकलाई सराप्दै आफ्नो बाटो लाग्छन्, सहचालक मुखमा आएको प्याच्चपुच्च भन्दै यात्रुलाई गाली दिन्छन् ।

‘साला सोल्टी त खत्तम पो रहेछ, मलाई त किन रोकिनस् रे, तँ पो भन्यो सोल्टीले गुरु, जाउँजाउँ’, हातमा तासझैं फिजाइएका नोटहरुले आफ्नै मुहार हम्कदै सहचालक बसमा ढ्यापढ्याप गर्छन् ।

‘कुटुमा कुटु सुपारी दाना…’, बसमा गीत घन्कन्छ ।

सहचालक राम्ररी गीत गुनगुनाउन नपाउँदै भन्छन्, ‘नयाँ बानेश्वर झर्नेले भाडा ठिक्क पार्नुस् ।’

बानेश्वर झर्नेले भाडा चाहिँ तिनकुने आउन नपाउँदै ठिक्क पार्नुपर्ने । अर्थात भाडा कतिबेला झिक्ने त्यसमा पनि सहचालककै डिक्टेटशन ।

यसरी पुरै बस यात्रा सहचालकको कन्ट्रोलमा चल्छ । भाडा कतिबेला झिक्ने, कहाँ उभिने, कसरी उभिने ? कतिबेला झर्ने ? मिनेट मिनेटमा कता फर्कने ? ति सबै काम उनकै इशारामा गर्नुपर्छ ।

सार्वजनिक बसको यात्रा यातना हैन, आनन्दको क्षण बनोस् । अनि ति सहचालक भाइले पनि मिठो बोलीमा भन्न पाउन्, ‘ए अंकल उ त्यो सिट खाली छ, जानुस् गएर बस्नुस्

म ति भाइको मुहारमा हेर्छु, बैंशमै अधवैंशे हुन लाग्याजस्तो । चिच्याउँदा चिच्याउँदा धोक्रो सुकेको छ । कलिलै उमेरमा चुरोट पिउन सिकेका छन् । दिनभरी धुलो र धुवाँमा चिच्याउँदा चिच्याउँदा उनको फोक्सो कति विषाक्त भयो होला ? दिनभरी यात्रुलाई पछाडि धकेल्दा धकेल्दा उनलाई आफ्नो भविश्य पछाडि धकेलिएको हेक्का होला कि नहोला ? दिनभरी यात्रुसँग किचकिच गर्दागर्दा उनको मनमा आक्रोश, घृणा र वितृष्णाका पत्रहरु कति जमे होलान् ?

विचरा यसमा सहचालक भाइको पनि के दोष ? जताततै बेथिति नै बेथितिले भरिएको बेला यात्रु कोच्ने बेथिति उनले जन्माएको कहाँ हो र ? यात्रु कोच्नु उनको रहर हैन, बाध्यता हो । र, यो बाध्यता उनका मालिकहरुले सिर्जना गरेका हुन् ।

पछिल्ला दिनमा सरकारले सार्वजनिक यातायातमा कायम हुँदै आएको सिण्डिकेटविरुद्ध जुन दरिलो अडान लिएको छ, त्यो सलामलायक छ । लोक कल्याणकारी राज्यको अभ्यास यसैगरी सुरु गर्नुपर्छ । सरकार सीमित व्यवसायीको हैन, आम यात्रुको पक्षमा हुनुपर्छ । यातायात क्षेत्रमा लादिएको सिण्डिकेटविरुद्ध सरकारले चालेको कदमले विस्तारै अभियानकै रुप लेओस् र त्यो सँस्कारमा परिणत होस् ।

हामीजस्ता मध्यमवर्गीय परिवारले कार चढ्न नसके पनि टिभी र वाइफाइ भएको बसमा आरामले बसेर यात्रा गर्न पाउँ । लोककल्याणकारी राज्यको नागरीक भइ गर्व गर्न पाउँ । सार्वजनिक बसको यात्रा यातना हैन, आनन्दको क्षण बनोस् । अनि ति सहचालक भाइले पनि मिठो बोलीमा भन्न पाउन्, ‘ए अंकल उ त्यो सिट खाली छ, जानुस् गएर बस्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment