+
+

अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनमा प्रधानमन्त्री ३ दिन लुम्बिनी बस्ने

२३ देशको प्रतिनिधित्व हुने

टोपराज शर्मा टोपराज शर्मा
२०७४ चैत २४ गते १५:५२


२४ चैत, बुटवल । आगामी वैशाख १५ र १६ गते लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनमा विश्वका २३ मुलुकका प्रतिनिधिले सहभागीता जनाउने भएका छन् ।

तीमध्ये १३ मूलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । हालसम्म भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मनी र श्रीलंका लगायतका राष्ट्रले सहभागिता जनाउने पक्का भएको छ ।

बैशाख १५ र १६ गते वौद्ध सम्मेलन र १७ गते बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्बिनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको जनाएकोे छ । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार सम्मेलनमा १५ वटा मुलुकका वौद्ध प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

लुम्बिनीस्थित चाइना विहारमा हुनेसम्मेलनमा ६ सय प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनको उद्घाटनका लागि बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउने भएका छन् ।

उनी १७ गतेको बुद्ध जयन्ती मूल समारोह सकेर मात्र काठमाडौं फर्किने छन् । १७ गते हुने मूल समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम छ । भण्डारी १६ गते नै लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्विनी विकास कोषले जनाएको छ ।

सभाहल निर्माण तीव्र

२ वर्षअघि हावाहुरी र भारी वषर्ाका कारण बुद्ध जयन्ती मूल समारोह बिथोलिएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माणको निर्देशन दिएका थिए ।

कोषले तत्काल सभाहल निर्माणको प्रक्रिया सुरु गरे पनि परामर्शदाता छनोट,उसको सुझाव र टेण्डर प्रकृया थाल्दा प्रकृयामै २ वर्ष लागेकाले सम्भवतः बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले सभाहलको शिलान्यास गर्ने तयारी भएको छ ।

आफूले निर्देशन गरेको सभाहल निर्माणमा ढिलाई भएपछि प्रधानमन्त्री ओलीले एक महिना अघि तत्काल अस्थायी सभाहल बनाउन निर्देशन दिएका दिए ।

स्थायी सभाहल बन्दा सम्मका लागि अस्थायी सभाहल उपयोगमा आउने गरी ४ करोड रुपैयाँ लगानीमा नेपाली सेनाले एक महिनाभित्रै सक्नेगरी सभाहल धमाधम निर्माण गरिरहेको छ ।

सभाहलको ७० प्रतिसत काम पूरा भइसकेको कोषले जनाएको छ । सोही सभाहलमा आगामी बुद्ध जयन्ती मूल समारोह आयोजना हुनेछ ।

बुद्ध जयन्ती मूल समारोहलाई भब्य बनाउन कोषले शुक्रबार तयारी बैठक गरेको छ । बैठकले दुवै कार्यक्रमको तयारीका लागि बनेका उपसमितिहरुलाई पूर्णता दिएको छ ।

बैठकले बुद्ध जयन्तीमा प्रदान गर्ने घोषणा गरिएको तर अबरुद्ध जस्तै रहेको अन्तर्राष्ट्रिय शान्ति पुरस्कारलाई यो वर्ष पनि अघि बढाउने निर्णय गरेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दुवै कार्यक्रमलाई ऐतिहासिक बनाउने गरी तयारी गर्न उपसमितिहरुलाई निर्देशन दिएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?