Comments Add Comment

पोखरामा थपिदैछ अर्को पाँच तारे होटल, १ अर्ब १५ करोड लगानी

सञ्चालनको जिम्मा स्वीस कम्पनीलाई

२५ चैत, पोखरा । पोखरामा पछिल्लो क्रममा ठूला लगानी होटल खुल्न थालेका छन् । पोखरा आसपासका हिल स्टेसन पनि पछिल्लो क्रममा ठूला होटल लगानीकर्ताको रोजाइ बनिरहेको छ ।

पोखरा प्रादेशिक राजधानी बन्ने पक्का भएसँगै लगानीकर्ताको ध्यान पोखरातिर तानिएको छ । पोखराकै लगानीकर्ताले पनि अहिले होटलमा लगानी गरिरहेका छन् ।

पोखरामा हाल दुई वटा पाँचतारे होटेल सञ्चालनमा छन् । यहाँको चर्चित फूलबारी रिर्सोट एन्ड स्पा भने बन्द भएको छ । पाँचतारे होटेल ग्रान्डसहित करिब एक हजार होटेल पोखरामा खुलिसकेको व्यवसायी बताउँछन् ।

यसैक्रममा पोखरामा अर्को पाँच तारेस्तरको होटल थपिएको छ । पोखरा-६, बैदाममा पाँच तोरेस्तरको होटल सरोवर छिट्टै सञ्चालनमा आउने लागेको हो ।

यो होटल सञ्चालनको जिम्मा स्विस इन्टरनेसनल होटल एन्ड रिसोर्टले लिएको छ । सरोवरले स्विस इन्टरनेसनलसँग सञ्चालन सम्झौता गरेको हो ।

होटलका अध्यक्ष प्रा.डा. भरतराज पहारी र स्विस इन्टरनेसनल होटल एन्ड रिसोर्टका अध्यक्ष हेनरी केनडीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ५ वर्षका लागि स्विस इन्टरनेसनलले होटल सञ्चालनको जिम्मा पाएको हो ।

सम्झौतासँगै अब यसको नाम स्विस इन्टरनेसनल होटल सरोवर रहने सरोवरका अध्यक्ष भरत पहारीले बताए । होटलमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको पहारीले जानकारी दिए । ‘होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा दिनेछ,’ पहारीले भने, ‘पाँच तारेस्तरकै होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सुविधा पाइने छ ।’

६ रोपनी जमिनमा बनेको सुविधासम्पन्न होटल आगामी असारको दोस्रो हप्ता सञ्चालनमा आउने पहारीले बताए ।

अन्तर्राष्ट्रिय होटल व्यवसायको क्षेत्रमा स्विस शैली, परम्परा र अनुशासनलाई उदाहरणको रुपमा हेरिने परम्परालाई आत्मसात गर्ने पहारीको भनाइ छ । नेपालमा गुणस्तरको सेवा प्रदान गर्न स्विस इन्टरनेसनल होटल एन्ड रिसोर्टसँग सहकार्यको सम्झौता गरिएको उनले बताए ।

स्विट्जरल्यान्डमा ३० वर्ष पहिले स्थापना भएको होटलले युरोप, भारत, चीन, अफ्रिका र मध्यपूर्वमा आफ्नो सेवा विस्तार गरेको छ ।

स्विस इन्टरनेसनलले स्विस गुणस्तर, मूल्य मान्यता र शुद्धतालाई स्थापित गरिरहेको अध्यक्ष केनेडीले दाबी गरे ।

स्विस इन्टरनेसनलले सन् २०२० सम्ममा १ सय ५० होटल सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

उनले परम्परागत नभई व्यावसायिक ढंगले गुणस्तरीय सेवा दिएर खर्च गर्न सक्ने पर्यटक भित्र्याउने दावी गरे ।

होटलका निर्देशक डा. मोहनप्रसाद पहारीले पूर्वीय सभ्यता, संस्कृति र शैलीलाई विशेष ध्यान दिइने बताए ।

होटलमा जैविक फोहोरलाई रिसाइकल गरी बायो ग्यास उत्पादन गरिने छ । बिजुलीको अधिकांश हिस्सा सौर्यऊर्जाबाट होटलमा व्यवस्था गरिएको छ ।

जमिनमुनिको तापक्रमको प्रयोग (जियोथर्मल हिटिङ र कोलिङ) बाट होटलका २ तलालाई वातानुकूलित बनाइएको छ । २ वटा भूमिगत तला भएको होटलमा गाडी पार्किङ गर्न स्वचालित मेकानिकल व्यवस्था गरिएको पहारीले जानकारी दिए ।

होटलमा १३ वटा स्विटसहित ९६ वटा विभिन्न सुविधायुक्त कोठा छन् । होटलमा सभा सम्मेलन तथा बैठक गर्न १ हजार वर्गफिट क्षेत्रफलमा ७ वटा सभाकक्ष छन् । करिब ७ सय जनाको क्षमता रहने ती सभाकक्षको नाम फेवा, रुपा, बेगनास, मैदी, खास्टे लगायत पोखराका ७ तालबाट राखिनेछन् ।

अन्डरग्राउन्डसहित १० तलाको होटलको विशेष आकर्षण छतमा रहेको करिब १ सय ५० पाहुना क्षमताको रेस्टुरेन्ट रहने छ । होटलमा स्पा तथा फिटनेस सेन्टर, पौडी पोखरी तथा जाकुजी छन् । शान्त र एकाग्रताका लागि एउटा ध्यानकक्ष समेत बनाइएको छ ।

३७ वर्ष प्राध्यापन गरेका प्रा. डा. इन्जिनियर भरतराज पहारी र २५ वर्ष चिकित्सा क्षेत्रमा काम गरेका उनका भाइ डा. मोहनप्रसाद पहारीले होटलमा लगानी गरेका हुन् ।

पोखरामा सबै होटलमा करिब दुई खर्ब लगानी भइसकेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । करिब २२ हजार जनालाई एकै पटक बास दिन सक्ने हैसियत बनाएको छ, पोखराले ।

पोखराका होटेलहरुमा करिब २५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका होटल व्यवसायी बताउँदैछन् ।

नेपाल भित्रिने ३० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । पोखरा प्रादेशिक राजधानी र अन्तर्राष्ट्रिय तथा डोमेस्टिक गरी २ विमानस्थल सुरु भएपछि पर्यटनको संख्या अझै बढ्ने व्यवसायीको विश्वास छ ।

पोखराको होटेलको अक्युपेन्सी भने आन्तरिक पर्यटकले नै भरथेग गर्दै आएका छन् ।

पोखरा सबैभन्दा बढी विदेशी पर्यटक भारतीय र चिनियाँ आउने व्यवसायी बताउँछन् । पोखरा आइपुग्ने धेरैको रोजाइ अन्नपूर्ण सर्किटको पदयात्रा बन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment