Comments Add Comment

एक वर्षमा चार सय अंकले घट्यो नेप्से, ८५ अर्बको सेयर थपियो

बर्ष अन्तमा दैनिक औसत कारोबारमा वृद्धि

२६ चैत, काठमाडौं। वर्षभरी लगभग ओरालो बाटोमा देखिएको नेप्सेले एक वर्षमा चार सय अंक गुमाएको छ । गत वर्षको चैत अन्त्यमा १६७९ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार १२९४ विन्दुमा आइपुगेको छ । यो वर्ष अन्त्य हुन मात्रै पाँच दिन बाँकी छ ।

बर्षअन्त्य हुँन लाग्दा सेयर बजारमा हरियाली छाउन थालेको छ भने कारोबार रकममा पनि सुधार भइरहेको छ । ‘पहिले जस्तो यसलाई चैतमसान्त कै प्रभाव भन्न मिल्दैन । संस्थाहरुबाट कत्तिको दरमा लाभांश आउन सक्छ बैशाखमा आउने वित्तीय विवरण हेरेरै मात्र आँकलन गर्न सकिनेछ,’ एक विश्लेषकले भने । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी लगभग पुगिसकेकोले कत्तिको दरमा लाभांश आउनेछ भन्ने यकिन गर्न गाह्रो रहेकोले यसलाई चक्रिय प्रभाव भन्न नमिल्ने उनी बताउछन् ।

चैत मसान्त सकिएपछि कम्पनीहरुको तेस्रो त्रैमाशको वित्तीय विवरण प्रकाशित हुने गर्छ । यसैको आधारमा नाफा घाटाको प्रक्षेपण गर्न सकिने भएकोले पनि बजार बढ्ने अपेक्षामा चैत अन्त्य नहुँदै बजार बढ्ने गरेको देखिदै आएको छ ।

बैशाखपछि बजार बढ्न थाल्ने र मूल्य उच्च भइसक्ने कारण पस्न गाह्रो हुने मानिने गरिएको छ । यसलाई कतिपय लगानीकर्ताहरु चक्रिय प्रभावको रुपमा मान्ने गर्छन् । तर, यसपटक अन्य अवस्थाभन्दा फरक रहेकोले यसको ठुलो प्रभाव नपर्ने विश्लेषकहरुको भनाई छ ।

‘अहिले बजार घटेको कारण लगानी केही बढ्नु स्वभाविक हो । केही बढ्ने र पुनः घट्ने प्रवृत्तिमा कमाउन सकिने भएकोले पनि अहिले ठुला लगानीकर्ता समेत पसेको देखिन्छ,’ ती विश्लेषकको दाबी छ । यही कारण आइतबार बजारमा दैनिक औसत कारोबार रकमभन्दा धेरैको कारोबार भएको छ ।

आइतबार बजारमा एकै दिन ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । साउनयता दैनिक औसत कारोबार ३२ देखि ७५ करोड रुपैयाँको बीचमा रहदै आएको छ । एनआइसी एशियाको ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्डलगायतका नयाँ सामुहिक लगानी कोष सहित पुराना कोष र संस्थागत लगानीकर्ताहरुले सेयर किनेपछि पनि बजारमा लगानी बढेको ब्रोकरहरुले बताएका छन् ।

बजार बढेपछि मार्जिन कलको दबाबबाट भने लगानीकर्ताहरुले मुक्ति पाउने देखिएको छ । हरेक त्रैमाश अन्त्यमा बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर कर्जा लिएकाहरुले सावा तथा व्याज भुक्तानी गर्नुपर्छ । तर बजार घटेमा सेयरको धितो समत बढाउनु पर्ने हुन्छ । सेयरको धितो बढाउन बैंकबाट मार्जन कल आउने गरेको छ ।

एक वर्षमा हालसम्म दुई सामूहिक लगानी कोष बाहेक ८५ अर्ब ३० करोड (८५ करोड ३० लाख कित्ता) बराबरका नयाँ सेयर थपिएको छ । नेप्सेले मासिक र साप्ताहिक रुपमा प्रकाशित गर्ने विवरणमा यस्तो तथ्यांक छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार १२ लाखले डिम्याट खाता खोलेका छन् । बजारमा लगानीकर्ताको संख्या १५ लाख मानिदै आएको थियो । डिम्याट खाता खोल्ने क्रममा दोहोरोपना बाँकी नै रहेकोले वास्तविक लगानीकर्ताको संख्या अझै यकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment