Comments Add Comment

माथिल्लो तामाकोसी अल्झाउँदै भारतीय कम्पनी

बुधबार प्रधानमन्त्री र उर्जामन्त्री निर्माणस्थलमा जाँदै

फाइल फोटो

२७ चैत काठमाडौं । तामाकोशी जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनीका कारण आयोजना समयमै पूरा नहुने र लागत बढ्ने देखिएको छ ।

भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गरेको जानकारी पाएपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले आयोजनाको स्थलगत अवलोकन गर्न लागेका छन् ।

२०७५ साल पुससम्म उत्पादन थाल्ने लक्ष्य राखेको उक्त आयोजनाको गत मंसिरमै सुरुङको ब्रेक थ्रु भएको थियो । तर, टेक्सम्याकाले आठ दशमलव चार किलोमिटरको सुरुङमा दुई वटा भर्टिकल साफ्ट बनाए पनि एउटामा मात्र पेनस्टक पाइप जडान गर्न लागिएको छ ।

आयोजनामा ३ सय ७३ मिटर माथिल्लो भर्टिकल साफ्ट र ३ सय ३२ मिटर लामो तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्छ । अहिलेसम्ममा टेक्सम्याकाले पेनस्टक पाइप जडानको ५० प्रतिशत काम सक्नुपर्ने हो तर यसका लागि आवश्यक सामानसमेत आयोजना निर्माणस्थलमा लगिसकेको छैन ।

स्रोतले भन्यो ‘टेक्सम्याकाको कारण यो आयोजनाको पनि हविगत कुलेखानी तेस्रो जस्तै हुने छाँटकाट देखिन्छ ।’ १४ मेगावाटको कुलेखानी तेस्रो निर्माणसम्पन्न गर्नुपर्ने म्याद ६ वर्ष गुज्रदा सम्म पनि निर्माण हुन सकेको छैन ।

स्रोतका अनुसार यही गतिमा काम गर्ने हो भने टेक्सम्याकाले ८ महिनामा पनि आफ्नो काम पूरा गर्न सक्दैन ।

आयोजनामा इलेक्ट्रोमेकानिकल कामको जिम्मा भने अष्ट्रियाको कम्पनी एन्ड्रिजले पाएको छ । उसले भने ८ महिनामै काम सक्ने देखिएको छ । टेक्सम्याकाले भन्दा एन्ड्रिजले काम अगाडि सिध्याएमा आयोजनाले एन्ड्रिजलाई क्षतिपूर्ति तिर्नुपर्छ ।

यही कम्पनीको ढिलासुस्तीका कारण सिभिल कन्स्ट्रक्सनको जिम्मा लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोको काम पनि ढिलो हुने देखिएको छ । किनकी, पेनस्टक पाइप जडान गरेपछि त्यसमा कन्क्रिटाइजेसन गर्न कम्तीमा १० महिना लाग्छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपाने टेक्सम्याकाले माथिल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइपहरु जडान गरिरहेको बताउँछन् ।

३५ अर्ब ३० करोड रुपैयाँमा निर्माणाधीन यो आयोजना चार सय ५६ मेगावाटको हो । केही समय अघिसम्म २०७५ सालको असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर, उक्त कम्पनीले समयमै काम अगाडि नबढाएपछि २०७५ को पुसतिर मात्रै उत्पादन थाल्ने योजना बनाइएको छ । यही गतिमा अघि बढाउने हो भने ०७५ फागुनसम्ममा पनि आयोजनाले उत्पादन थाल्न नसक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

यो आयोजना निर्माण सम्पन्न भएपछि वर्षातको समयमा भारतबाट विद्युत ल्याउन नपर्ने मात्रै होइन देशमा नै बिजुली बढी हुनेछ । बिजुली बढी हुने सम्भावना बढ्दै गएपछि अहिले सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्दैछ ।

यो आयोजनाबाट विद्युत उत्पादन भएपछि केही हदसम्म ब्यापार घाटासमेत कम हुन सक्छ । प्राधिकरणले गत वर्षमात्रै बिजुली आयातवापत भारतलाई १५ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको थियो । अहिले वर्षातको समयमासमेत विजुली आयात गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment