Comments Add Comment

रमेश खरेललाई नवनियुक्त आईजीपीको आग्रह- राजीनामा नदिनुस्, मिलेर काम गरौं

सरकारको निर्णय शीरोधार्यः पुष्कर कार्की

२८ चैत, काठमाडौं । अघिल्लो वर्ष नेपाल प्रहरीको प्रमुख नियुक्तिले ठूलै बबण्डर भयो । प्रहरी संगठनको इतिहासमै सबैभन्दा बढी विवादित मात्र भएन, आईजीपी काण्डले नेपाली कांग्रेसको छविसमेत धमिल्यायो ।

यो पटक सर्वेन्द्र खनाल प्रहरी प्रमुख भए । अघिल्लो पटक जस्तो मुद्दा मामिला र ठूलो विवाद त भएन तर, आईजीपीको दावेदार मध्येका एक डीआईजी रमेश खरेलले भने राजीनामा दिने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै रमेश खरेलले भने- म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’

मुद्दा मामिला नगर्ने

आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो उनले गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर, अब ह्युमलेट भएर काम गर्न सकिँदैन,’ उनले भने

उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए । आफ्नो मिसन र भिजनअनुसार काम गर्न नपाउने भएपछि जागिरमात्र खाएर बस्नु उपयुक्त नलागेको उनले बताए । राजीनामा पत्र तयार भइसकेको भन्दै उनले हेडक्वार्टरमा बुझाएर नेपाल प्रहरीबाट अलग हुने बताए ।

सर्वेन्द्र खनालभन्दा खरेल ११ महिनाअघि भलिबल खेलाडीका रुपमा प्रहरी जवानमा भर्ना भएका थिए तर, प्रहरी निरीक्षकमा भने खनालकै ब्याचमा भर्ना भएका हुन् । त्यसयता एसएसपीसम्म खरेल एक नम्बरमा थिए । डीआईजी बढुवामा भने खनाल एक नम्बर र खरेल दुई नम्बरमा परे ।

डीआईजी खरेलले नेपाल प्रहरीको आइजीपीमा व्यक्तिको योग्यता, क्षमता र आवश्यकता भन्दा पनि भागबण्डा हेरिएको आरोप लगाएका छन् ।

सर्वेन्द्रको आग्रह- सँगै काम गरौं

यसैबीच प्रहरी महानिरीक्षक नियुक्त भएका सर्वेन्द्र खनालले भने खरेललाई सँगै मिलेर काम गर्न आग्रह गरेका छन् । खरेलले राजीनामा दिन लागेको खबर सार्वजनिक भएपछि खनालले यस्तो आग्रह गरेका हुन् ।

सरकारले सबै प्रक्रिया पूरा गरेर आईजीपी नियुक्तिको निर्णय गरेको होला भन्दै नवनियुक्त आईजीपी खनालले अनलाइनखबरसँग भने, ‘हामी प्रतिस्पर्धी थियौं तर, मिसन एउटै थियो । नेपाल प्रहरीलाई सशक्त बनाउन र देशको हितमा काम गर्न सँगै काम गरौं भनेर आग्रह गर्छु ।’

उनले अघि भने, ‘राजीनामा दिने नदिने व्यक्तिको कुरा हो तर, म सँगै काम गरौं भन्न चाहन्छु ।’

सरकारको निर्णय शीरोधार्यः पुष्कर कार्की

आईजीपीकै प्रतिस्पर्धामा रहेका अर्का डीआईजी पुष्कर कार्कीले भने सरकारले गरेको निर्णय आफूलाई शीरोधार्य रहेको प्रतिक्रिया दिएका छन् ।

आफू आईजीपीको दाबेदार रहेपनि सरकारको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया उनले दिएका छन् ।

कार्कीले अनलाइनखबरसँग भने, ‘यतिका वर्ष व्यवसायिक निष्ठा राखेर काम गरियो । अझै धेरै काम गर्न बाँकी छ । सरकारको निर्णय कुन बेला के आउँछ त्यो अलग कुरा हो । तर जोसँग जे खुबी छ त्यहिअनुसार काम गर्नुपर्छ ।’

उनले अघि भने, ‘म प्रहरी सेवामा बसेर आईजीपीलाई सघाउँदै आफ्नो जिम्मेवारी पूरा गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment