Comments Add Comment

२०७४ मा नेपाली फुटबल : नेतृत्वका लागि ‘मारामार’, मैदानमा हार

२९ चैत, काठमाडौं । ०७४ सालमा नेपाली फुटबल क्षेत्र खुबै तात्यो । तर, मैदानमा हुने खेलका कारण होइन । चार पटकसम्म मिति सारेर हुन नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) चुनावको कारण ।

वैशाख ७ मा हुने भनिएको चुनाव हुने नहुनेमा आशंका छ । नेतृत्वका लागि मणि कुँवर र कर्माछिरिङ शेर्पा मैदानमा छन् ।

गएको चार वर्षदेखि राष्ट्रिय लिग प्रतियोगिता हुन सकेको छैन । भूकम्प अनि दशरथ रंगशाला पुननिर्माणका कारण पनि शून्य अवस्थामा रहेको फुटबलको पारो एन्फा चुनावकै कारण तात्यो ।

सकारात्मक कुरा गर्दा, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा केही खेलाडीको प्रदर्शन सम्झन लायक रहृयो । केही खेलाडी विदेशी क्लबमा आबद्ध भए ।

पूर्वाधार र राम्रो तयारीबिना नै भए पनि वर्षभर घरेलु प्रतियोगिता भइरहे । केही ठाउँमा झगडा, विवाद र झडप भए पनि मोफसलमा खेलेर खेलाडीले आफ्नो रोजीरोटीको चिन्ता पन्छाए ।

नेपाली राष्ट्रिय टोलीले जित नपाएको झण्डै डेढ वर्ष नाघेको छ । ०७२ साल माघमा बंगबन्धु गोल्ड कप, फागुनमा साग फुटबल र ०७३ साल कात्तिकमा एएफसी सोलिडारिटी कपको उपाधि जितेर सम्भावना देखाएको नेपाली फुटबलले ०७४ सालमा निराश बनायो ।

एसियन कप छनोटमा जितविहीन

एएफसी एसियन कप छनोट चरणमा समूह चरणको कुनै पनि खेल नेपालले जित्न सकेन । नेपालले एएफसी सोलिडारिटी कप विजेता बनेपछि एसियन कपको छनोट खेल्न पाएको थियो । जसमा ६ खेलमा ११ गोल खाएको नेपालले तीन गोल मात्र गर्‍यो ।०७३ सालको अन्तिममा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भयो । गएको कात्तिकमा घरेलु मैदानमा फिलिपिन्ससँगै भएको खेलमा गोलरहित बराबरी गर्‍यो ।

एएफसी एसियन कप छनोटमै गएको जेठमा भएको खेलमा यमनसँग गोलरहित बराबरी गरेर नेपालले पहिलो अंक जोडेको थियो । चैतमा यमनसँगकै खेलमा नेपाल २-१ ले पराजित भयो ।

एएफसी एसियन कपमा ताजकिस्तानसँगको दुवै खेलमा नेपाल पराजित भयो । भदौमा ताजकिस्तानसँग २-१ ले हारेको नेपाल असोजमा ३-० ले पराजित भयो ।

छनोट प्रतियोगितामा नेपालका विशाल राई, बिमल घर्ती मगर र नवयुग श्रेष्ठले एक/एक गोल गरे । विशालले फिलिपिन्स, बिमलले ताजिकिस्तान र नवयुगले यमनविरुद्ध गोल गरे ।

एसियन कप छनोटको तयारीमा यमनसँगको खेलअघि भारतसँग खेलेको मैत्रीपूर्ण खेलमा पनि नेपाल २-० ले पराजित भएको थियो ।

अनिलको सन्यास

नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले ३१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे ।

कात्तिकमा एएफसी एसियन कप अन्तर्गत फिलिपिन्ससँग घरेलु मैदानमै भएको खेलपछि उनले सन्यास लिएका हुन् । सन् २००७ अक्टोबरमा ओमनसँगको खेलमा राष्ट्रिय टिममा परेका अनिलले ५० खेलमा ९ गोल गरेका छन् ।

‘खेल्न त अझै सक्छु भन्ने थियो । घरेलु प्रतियोगितामा खेलिरहेको छु । राम्रो पनि भइरहेको छ । सही समयमा सही निर्णय लिनुपर्छ भन्ने लागेर त्यो बेला सन्यास लिएँ । नयाँ खेलाडी पनि राम्रा आएका छन् । उनीहरुलाई स्थान मिलोस् भन्ने पनि लाग्यो’ सन्यासको समय सम्झँदै अनलाइनखबरसँगको कुराकानीमा अनिलले भने ।

उमेर समूहमा मिश्रित नतिजा

१८ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपमा इतिहासमै पहिलोपटक भुटानसँग पराजित भएर निराश बनाएको नेपालले अन्तिममा उपाधि नै जितेर फुटबल समर्थकलाई खुशी दियो । भुटानमा भएको प्रतियोगिताको अन्तिम खेलमा भारतलाई २-० ले हराएर नेपाल विजेता बनेको थियो ।

उमेर समूहका अन्य खेलमा नेपाली टोलीले यस वर्ष राम्रो नतिजा दिएनन् । घरेलु मैदानमा भएको १५ वर्षमुनिको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भयो ।

२३ वर्षमुनिको एएफसी च्याम्पियनसिपमा नेपाल समूह चरणको सबै खेलमा पराजित भयो । तीन खेलमा ९ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन । समूह ‘डी’ मा रहेको नेपाल युएईसँग ५-० ले, उज्वेकिस्तानसँग २-० ले र लेवनानसँग २-० ले पराजित भयो ।

आर्मी क्लब सबैभन्दा सफल

‘ए’ डिभिजन क्लब संलग्न विभिन्न १७ प्रतियोगितालाई आधार मान्दा ०७४ सालमा सबैभन्दा सफल नेपाल आर्मी क्लब देखिएको छ । आर्मीले विभिन्न ६ प्रतियोगिताको उपाधि जित्यो भने दुई वटामा उपविजेता बन्यो ।

यस्तै झण्डै डेढ वर्षपछि घरेलु फुटबल प्रतियोगितामा फर्किएको थ्री स्टारले गएको माघ यता मात्र ४ वटा प्रतियोगिताको उपाधि जित्यो । एउटा प्रतियोगितामा उपविजेता बन्यो ।

घरेलु फुटबलमा बलियो मानिने नेपाल पुलिस क्लब भने एउटा मात्र प्रतियोगितामा विजेता बन्यो । आहा रारा गोल्ड कप जितेको पुलिस क्लब दुई प्रतियोगिताको फाइनलमा पराजित भएको थियो ।

यस्तैमनाङ मर्स्याङ्दी क्लब पनि यस वर्ष एउटा मात्र प्रतियोगितामा विजेता बन्यो । दुहवी गोल्डकपको उपाधि जितेको मनाङ विभिन्न चार प्रतियोगिताको फाइनलमा पुगेर निराश बनेको थियो ।

राष्ट्रिय खेलाडीको जोखिम

राष्ट्रिय टिमका खेलाडीसमेत सानातिना प्रतियोगितामा व्यस्त भइरहँदा त्यसले खेलाडीको क्षमतामै असर पर्न सक्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् । मैदान र अन्य खेलाडीको स्तरले पनि प्रतियोगितामा सहभागी राष्ट्रिय खेलाडीलाई विभिन्न तहबाट असर पुग्ने उनले बताए ।

खेलाडीहरू मोफसलका प्रतियोगितामा लगातार व्यस्त छन् । आरामसमेत नगरी एकपछि अर्को प्रतियोगितामा संलग्न खेलाडी घाइते हुने र फिट नहुने समस्या देखिएको उनको भनाई छ । प्रशिक्षक कोजीले खेलाडी चाहिनेभन्दा धेरै प्रतियोगिताहरूमा सहभागी भएको स्वीकारे ।

‘ठीक्क खेल्दा राम्रो हुने भए पनि लगातार धेरै प्रतियोगितामा सहभागी भइरहँदा खेल क्षमता कमजोर बन्ने देखिन्छ । खेलाडी फिट नहुने समस्या पनि हुन्छ’ उनले भने ।

नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन राष्ट्रिय लिग पनि नहुँदा खेलमै व्यस्त भइरहन र केही आम्दानी पनि गर्न मोफसलमा प्रतियोगितामा खेल्नुको विकल्प नरहेको बताउँछन् ।

‘लिग नभएको त धेरै नै भयो । अभ्यासमा नियमित भइरहे पनि बाहिर जिल्लामा प्रतियोगिताहरु खेल्नुको विकल्प छैन । बाहिर हुने प्रतियोगिताले पनि फुटबलको विकास भइरहेको छ नि हैन र ? दर्शकको सहभागिता उस्तै राम्रो छ । यसले सबैलाई खेलमै व्यस्त बनाएको छ । आम्दानी पनि दिएको छ,’ उनले भने ।

केही खेलाडी विदेशी क्लबमा

यस वर्ष पनि केही खेलाडी विदेशी फुटबल क्लबमा अनुबन्धित भए । माल्दिभ्सको क्लब टीसी स्पोर्टसमा आवद्ध रहेर त्यहाँ लिग खेलेका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनेर्भा पञ्जावमा पनि संलग्न रहे । उनी संलग्न मिनेर्भाले आई लिगको उपाधि नै जित्यो ।

भदौमा भएको पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडीको पुरस्कार पाएका किरणले विदेशी लिगमा पनि राम्रै छाप छाडे ।

स्ट्राइकर बिमल घर्ती मगर आई लिगकै क्लब मोहन बगानमा आबद्ध भए । थोरै समय त्यहाँ रहेका बिमलले राम्ररी खेल्न नपाए पनि नेपाली खेलाडीको सम्भावनालाई भने देखाए ।

यस्तै मिडफिल्डर जगजित श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाली क्लब पर्सिजा जकार्तामा आबद्ध भए । उनी जकार्तामा भरपर्दा खेलाडीका रुपमा चिनिएका छन् । उनको प्रदर्शन नेपाली फुटबलमा जस्तै बाहिर पनि चम्किएको छ । गएको सिजन राम्रो प्रदर्शन गरेको भन्दै यस सिजन पनि उनलाई जकार्ताले आबद्ध गरेको हो ।

प्रशिक्षकको समय थप

मार्च २०१६ मा नेपालसँग आबद्ध भएका प्रशिक्षक कोजीको कार्यकाल थप भयो । दुई वर्षका लागि आएका उनले थप एक वर्ष नेपाली टिम सम्हाल्ने छन् । उनले आफूले सोचेअनुरुप गर्न नसकेको भए पनि टोलीलाई राम्रो गरिरहेको कार्यकाल थप हुँदा बताएका थिए । अब साफ फुटबलको उपाधिका लागि टोली तयार पार्ने उनको लक्ष्य छ ।

यस्तै नेपाली टोलीका टेक्निकल डाइरेक्टर ताकेदा चियाकीको कार्यकाल पनि एक वर्ष थप भएको छ । जाइका अन्तर्गत रहेर नेपाली फुटबलमा काम गरिरहेका उनले थप एक वर्ष नेपालको टिममा काम गर्ने छन् ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रशिक्षक कोजी र टेक्निकल डाइरेक्टर ताकेदाको कामले आफूहरू प्रभावित भएकोले समय थप गरेको बताएका छन् । उनले थप एक वर्षमा अझै राम्रो काम हुने विश्वास गरे ।

वरियतामा सुधार

गएको वर्ष १ सय ७६ औँ स्थानमा सम्म रहेको नेपाल फिफा विश्व वरियतामा १ सय ६२ स्थानसम्म पुगेको छ । कात्तिकमा १ सय ७६ औँ स्थानमा रहेको नेपाल चैतमा १ सय ६२ औँ स्थानमा पुगेको हो ।

दक्षिण एसियामा नेपाल अहिले तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत ९७ औँ र माल्दिभ्स १ सय ४७ औँ स्थानमा छन् । नेपालभन्दा पछि भुटान १ सय ८४ औँ, बंगलादेश १ सय ९७ औँ, श्रीलंका २ सयौँ र पाकिस्तान २ सय ३ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment