+
+

बाल्टिनको पानीमा डुबेर डोटीमा दुई वर्षे बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १६:३३

३० चैत, डोटी । डोटी पूर्वीर्चौकी गाउँपालिका-५ का दुई वर्षीय बालक धनबहादुर धानुकको बिहीबार साँझ पानीको बाल्टिनमा डुबेर मृत्यु भएको छ ।

आफ्नै घरको शौचालयमा प्रयोगका लागि राखिएको पानीको बाल्टिनमा डुवेर स्थानीय बृजबहादुर धानुकका छोरा धनबहादुरको मृत्यु भएको हो ।

पानीले भरिएको बाल्टिनमा खेलिरहेका धनवहादुर बाल्टिनभित्र खसी अचेत भएपछि उनलाई उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको आफन्तहरुले जानकारी दिएका छन् ।

पूर्वीचौकी गाउँपालिका क्षेत्रमा एम्वुलेन्स नभएका कारण स्थानीय शैलेश्वरी यातायातको से१ज ३७६ नं. को बोलेरो जीपमा बिरामी ल्याउँदै गर्दा करिब चार किलोमिटरसम्म लगातार संकेत गर्दा समेत बसले साइड नदिएको भन्दै मृतकका आफन्तहरुले बसमाथी तोड्फोड गरेका छन् ।

साइड नदिएको आरोपमा बाजुराबाट महेन्द्रनगरतर्फ गइरहेको महाकाली यातायातको ना७ख ६१८२ नं. को यात्रुबहाक बस तोड्फोड गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुबिरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्धा दायर गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

आपतकालीन बत्ती बालेर आएको जीपले पटक पटक साइड माग्दा समेत बस चालकले लापरवाही गरेका कारण समयमै अस्पताल पुग्न नसक्दा बालकको ज्यान गएको मृतकका आफन्तहरुको आरोप छ ।

चार किलोमिटरसम्म पनि आफूहरुलाई साइड नदिएपछि बाटोमै बालकले ज्यान गुमाउनु परेको उनीहरु बताउँछन् ।

आक्रोशित युवाहरुले बसको काँच फुटाउनुका साथै चालक, सहचालक र यात्रुहरुलाई समेत हातपात गरेका कारण पूर्वीचौकी गाउँपालिका-५ निवासी २३ वर्षीय ध्रुव धानुक, २३ वर्षीय यज्ञ धानुक, २६ वर्षीय शंकर धानुक, २३ वर्षीय धनी धानुक र पूर्वीचौ गाउँपालिका-१ का शंकरसिंह ऐरबिरुद्ध सार्वजनिक अपराधमा मुद्धा दायर गर्ने तयारी भईरहेको प्रनाउ सिंहले जानकारी दिए ।

उता प्रहरीले आफ्ना मान्छेहरुलाई थुनेको भन्दै मृतकका आफन्तहरुले थुनिएका व्यक्तिहरु रिहा नभएसम्म शव उठाउन मानेका छैनन् ।

साइड नदिने बस चालकलाई कारवाही गर्नुको सट्टा उल्टो पीडित पक्षलाईनै थुनेको भन्दै मृतकका आफन्तहरुले आक्रोश पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?