Comments Add Comment

पाँच वर्षभित्र देशको मुहार स्पष्ट बदलिन्छः ओली

‘बहुमत दम्भका लागि होइन, प्रतिपक्ष पनि कटुताका लागि होइन’

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका विषयमा समझदारीका साथ अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

उनले निर्वाचनबाट प्राप्त बहुमतको दम्भ र प्रतिपक्षको अन्त्यहीन विरोध दुवै गलत हुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा मुगुको रारा ताल किनारबाट शनिबार बिहान देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनबाट प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै प्रतिपक्षको स्थान पनि अन्त्यहीन विरोध, असहयोग र कटुताका लागि होइन ।’

उनले अघि भने, ‘म विनम्रताका साथ मुलकुमा क्रियाशील सबै राजनीतिक दलहरुलाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका वृहत्तर विषयहरुमा समझदारीका साथ अगाडि बढ्न आह्वान गर्दछु ।’

नेपाललाई पराधीन बनाउने सोचहरू कमजोर भएको र विभाजित गर्ने शक्तिहरू किनारा लागेको समेत ओलीले बताए । आगामी पाँच वर्षभित्र देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने दावीसमेत गरेका छन् ।

इतिहासले आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म तपाईंहरुलाई आत्मविश्वासका साथ भन्न चाहान्छु- पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाईंहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धिहरुले तपाईंहरुलाई अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा ।’

इतिहासले आफूहरुलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको उनले बताए । उनले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो। अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’

यो पनि पढ्नुहोस्

राराको डिलमा प्रधानमन्त्रीको सम्वोधनः १८ पन्ना, ३१ बुँदा (पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment