Comments Add Comment

गुल्मी कांग्रेसले थाल्यो ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान


२ वैशाख, गुल्मी । नेपाली कांग्रेस गुल्मीले ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान सुरु गरेको छ । जनतासँग प्रत्यक्ष घुलमिल गर्ने र दुःख–सुख साट्ने उद्देश्यले ५० दिने अभियान नयाँ वर्षको पहिलो दिनबाट सुरु गरिएको कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस अभियानबाट जनतासँगको सम्बन्ध सुधार हुने र देशभरकै लागि प्रेरणादायी बन्ने कांग्रेसको विश्वास छ । गुल्मी घर भएका कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले अनलाइनखबरसँग भने, ‘गुल्मी जिल्ला पार्टीले सुरु गरेको यो महाअभियानले देशभरकै सिंगो कांग्रेसलाई भिटामिनको क्याप्सुलको जस्तै काम गर्नेछ ।’ उनले यस्तो अभियान देशैभर नै चलाउनु पर्ने बताए ।

के-के हुन्छ अभियानमा ?

गुल्मी कांग्रेसले अभियानको क्रममा जिल्लाका ९३ वटै वडामा पुग्ने योजना बनाएको छ । चुनावको बेला मात्रै गाउँ घरमा पुग्ने र चुनाव जितेपछि गाउँमै नफर्किने गर्दा जनतासँगको सम्बन्ध टाढिएको निष्कर्षसहित कांग्रेसले सम्बन्ध सुधारको अभियान थालेको हो ।

‘गरिव, दलित र अति सिमान्तकृत जनता कांग्रेससँग नजिक नरहेको निश्कर्ष निकाल्दै अभियान सुरु गरिएको हो,’ गुल्मी कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले भने, ‘नेता, कार्यकर्ताहरु पाहुनाको रुपमा होइन गरिव सर्वसाधारण, जनताको लवाइ खुवाइ र बसाइ जस्तो छ त्यस्तै भएर ५० दिनसम्म खट्ने छन् ।’

विशेषगरी गरिव, दलितको घरमा बस्ने, उनीहरुले जस्तो खान्छन् त्यस्तै खाने, उनीहरुको कामलाई सघाउने, जातीय विभेद, सामाजिक विकृति विसंगति र कुरितीलाई हटाउने काममा सक्रिय हुने गरी योजना बनाइएको छ । यदि कुनै कांग्रेस कार्यकर्ताले जातीय छुवाछुत वा विभेद गरेमा पार्टी सदस्यता नै खारेज गर्ने कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए ।

अभियानको पहिलो हप्तासम्म पार्टी शुद्धृढीकरण, सम्पूर्ण जनवर्गीय संगठनको पुनर्गठन, पार्टी सदस्यता नविकरण गर्ने कार्ययोजना बनाइएको छ । त्यस अवधीमा प्रत्येक वडामा ७ सदस्यीय छायाँ सरकार पनि गठन गरिने छ ।

दोस्रो र तेस्रो हप्तासम्म कांग्रेस नेता कार्यकर्ताहरु सामाजिक कार्यमा सहभागि हुनेछन् । पोखरी, चौतारी, विद्यालय जस्ता सार्वजनिक स्थान निर्माण गर्ने, सरसफाइ गर्ने र सामाजिक विकृति, विसंगतिविरुद्ध चेतनामुलक कार्यक्रम गर्ने गुल्मी कांग्रेसले जनाएको छ । विकास निर्माणमा हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीको भण्डाफोर गर्दै जनतालाई जागरुक बनाउने योजना पनि बनाइएको छ ।

सोही क्रममा गरिव जनताले कसरी जिविका चलाइरहेका छन्, समाजमा विभेद सहँदा दलितहरुले कस्तो पीडा भोगिरहेका छन् भन्ने कुराको स्वयम् अनुभुत गर्ने गरी नेता कार्यकर्ताहरु जनताकै घरमा बस्ने सभापति श्रेष्ठले बताए ।

चौथो हप्तामा जिल्ला फर्केर समीक्षा बैठक गरिने छ । त्यसपछि अर्को तीन हप्ताको कार्यक्रम तय गरिने सचिव पन्थीले जानकारी दिए । जिल्लाभरका सबै स्थानीय तहहरुमध्ये ९३ वडामा ८६ जना कांग्रेसका नेताहरु गाउँगाउँमा पुगेर शनिवार बिहानैबाट शुभकामना आदानप्रदान कार्यक्रम गरिरहेको कांग्रेस गुल्मीकी प्रवक्ता बिष्णुकुमारी सापकोटाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment