Comments Add Comment

पोखराको फिर्के खोला मिचेर २ सय संरचना

मिच्नेमा व्यक्ति, संघ–संस्थादेखि सरकारी निकायसम्म


२ वैशाख, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२ मा नेपाल पुन मगर समाजको भवन छ । तर समाजले महानगरपालिकाले बनाएको मापदण्ड पूरै नजरअन्दाज गरेको छ ।

महानगरपालिकाको वडा नम्बर ८ मा रहेको पोखरा इन्जिनियरिङ कलेजले विभिन्न संरचनाहरु निर्माण गरेको छ । कलेजले यसरी निर्माण गरेका झण्डै आधा संरचना फिर्के खोला मिचेर बनाइएको छ ।

फिर्के खोला मिच्नेमा जिम्मेवार संघ–संस्था र कलेज मात्रै छैनन्, शान्ति सुव्यवस्था कायम गर्ने दायित्व बोकेको पश्चिमाञ्चल प्रहरी गण पनि छ । गणले आफ्नो भवन फिर्के खोलाकै दोहन गरेर ठड्याएको छ ।

यी त केही उदाहरणमात्रै हुन् । फिर्के खोलाको १० मिटर आसपासमा कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड भए पनि झण्डै २ सय संरचना बनेका छन् । राेचक त के छ भने  कतिपय संरचना महानगरपालिकाको अनुमति लिएरै ठडिएका छन् ।

वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटमा पुगेर फिर्केखोला फेवातालमा मिसिन्छ । ८ किलोमिटर लम्बाई रहेको फिर्केको बढीमा १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । मानवीय अतिक्रमणबाट खुम्चिएर फिर्केखोला साँघुरो बनेको छ भने चर्पीदेखि ढलसम्म मिसिएर डम्पिङ साइट बनेको छ ।

मानवीय अतिक्रमणको असर फिर्केखोलादेखि फेवातालसम्म परेको छ । फिर्के दोहन र त्यहीँबाट बग्दै गएको फोहोरले फेवाताल पुरिँदै र प्रदूषित हुँदै गएकोमा धेरैको चिन्ता छ । अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिसिएर संरचना बनेका छन् ।

बनेका कतिपय संरचना अनुमति लिएरै बनेका छन् भने कतिपय बिना अनुमति । फिर्के बचाउनुपर्ने नागरिकको खबरदारी र गुनासोपछि पोखरा महानगरपालिकाले थालेको फिर्के खोला रेखांकनको काम सकिएर प्रतिवेदन तयार भएको छ ।

प्रतिवेदनमा फिर्केको मापदण्ड मिच्नेमा सामाजिक व्यक्ति, संस्थादेखि सुकुम्बासी, शैक्षिक संस्थासम्म देखिएका छन् । फिर्केको मापदण्ड मिचेर ठूलाठूला आरसिसी संरचनादेखि साना टहरासम्म खडा भएका छन् । फिर्के मिच्नेमा विभिन्न समाजघर, मठमन्दिर र सरकारी कार्यालयसम्म देखिएका छन् ।


फिर्के खोलाको १० मिटर आसपासमा कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड छ । यहाँ खोलामै जग हालेरसमेत संरचना बनेका छन् । १० मिटर मापदण्डलाई नै कायम गर्ने गरी बनिसकेका संरचनाको रेखांकन गर्दा धेरै क्षति हुने देखेपछि महानगरपालिकाले ५ मिटर राइट अफ वे मानेर रेखांकन गरेको हो । रेखांकनका क्रममा १ सय ९२ भन्दा बढी संरचना फर्के खोलाको मापदण्ड विपरीत बनेको देखिएको छ । महानगरको अनुमति लिएर कतिपय व्यक्तिले संरचना खडा गरेका छन् भने आमा समूह, लायन्स क्लब, समाज घर, लिटिलस्पेट मावि, मठमन्दिर, सरकारी कार्यालयसम्मले भवन बनाएका छन् ।

पोखरा महानगरपालिकाले चैत २ गतेदेखि फिर्के खोलाको रेखांकन थालेको थियो । महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा बनेको समितिले रेखांकनपछि बुझाएको प्रतिवेदनमाथि छलफल भएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी, मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा भएको छलफलले प्रतिवेदनमाथि अबको बाटो तय गरेको छ ।

कानुनी रुपमै बनाएका संरचना कति भत्काउने र त्यसको क्षतिपूर्ती कति दिने भन्ने विषयमा ‘डिटेल ड्यामेज स्टमेट’ तयार पारिने भएको छ । जिल्ला नापी कार्यालय, मालपोत कार्यालय र पोखरा महानगरपालिकाले स्टमेट तयार पारी १५ दिनभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्ने छ ।

‘१५ दिनभित्र स्टमेटसहितको प्रतिवेदन आएसँगै फिर्के खोलाको मापदण्डविपरीत बनेका संरचना भत्काउने काम सुरु हुन्छ,’ महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने, ‘महानगरपालिकाले भत्काउनु पहिले नै आफैं मापदण्डविपरीत बनेका संरचना भत्काउनेलाई प्रोत्साहन गरिने छ ।’ फिर्केको मापदण्डभित्र बनेका संरचनामा महानगरले रेखांकन गर्दा चिनो लगाएर छाडेको छ ।

खोलाको ५ मिटर राइट अफ वेभित्र पनि कतिपयका निजी पैत्रिक सम्पत्ति छन् भने ५ मिटर बाहिर पनि कतिपय सार्वजनिक जग्गामा पनि छन् । त्यसको अध्ययन गरी खास अवस्था के हो भन्ने तयार पारिने मेयर जिसीले जानकारी दिए ।

‘फिर्केको विषय पटकपटक बल्झाई रहनुभन्दा अब दीर्घकालीन रुपमा सुल्झाएर जाने योजनामा हामी छौं,’ मेयर जिसीले भने, ‘रेखांकन र लगतसहितको प्रतिवेदनपछि कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययनकै लागि नापी, मालपोतसँगको समन्वयमा १५ दिनभित्र प्रदेवेदन तयार गर्ने भनेका छौं ।’

महानगरपालिकाको अभियानलाई जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नियम मिचेर बनेका र नियमअनुसारै बनेका संरचनाको अवस्था के हो त भन्ने थाहा भए पनि फिर्के बचाउन एक खालको मिसन तयार गर्न सकिन्छ,’ कास्कीका सीडीओ तारानाथ अधिकारीले भने, ‘गल्ती गर्नेलाई दण्डित गर्ने, क्षतिपूर्ति पाउनेलाई स–सम्मान हटाउने र नयाँ संरचना मापदण्डविपरीत बन्न नदिने हो ।’

पाँच वर्षअघि पनि तत्कालीन पोखरा उपमहागरपालिका, जिल्ला प्रशासन कार्यालय र पोखरा उपत्यका नगर विकास समितिको पहलमा खोला अतिक्रण गरी बनाइएका संरचना हटाउने अभियान थालेको थियो तर त्यसले पूर्णता भने पाउन सकेन ।

‘यसको बिस्तृत अध्ययनपछि आगामी बजेटमा यसलाई प्राथमिकताका साथ राखेर केही योजना तयार पार्नेछौं,’ महानगरका मेयर जिसीले भने, ‘अब पटकपटक यो विषय उठिरहने र काम गरेजस्तोमात्रै गर्ने पक्षमा हामी छैनौं ।’

महानगरपालिकाले फिर्केको राइट अफ वेमा फुट ट्याक बनाउने योजना बनाएको छ । फुट ट्याकसँगै साइकल ट्याकसमेत बनाउने महानगरपालिकाको दीर्घकालीन योजना छ । खोलाको दायाँबायाँ हिँड्डुल गर्ने उद्देश्यले खोला संरक्षण गरी खोला वरपर हरियाली फुटपाथ बनाउने योजनामा रहेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment