Comments Add Comment

हनुमानढोकादेखि स्वयम्भूसम्म पदयात्रा सुरु

२ वैशाख, काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश पर्यटकहरुबीच पुर्‍याउने उद्देश्यका साथ आइतबारदेखि पदयात्रा सुरु भएको हो ।

पैदल यात्राको पहिलो दिन आइतबार हनुमानढोकादेखि स्वयम्भूसम्मका सम्पदाहरुको सफाइ गरिएको छ । अभियानको एक कार्यक्रमका बीच बसन्तपुरमा शुभारम्भ गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले बसन्तपुरदेखि स्वयम्भूसम्म पैदल यात्रा गरेर यस क्षेत्रलाई विश्वका पर्यटकहरुको केन्द्र बनाउन चाहेको स्पष्ट पारे ।

उनले सम्पदाको भण्डार रहेको काठमाडौंको सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्दै यसलाई पर्यटक उद्योगको रुपमा स्थागित गराउने योजना अन्तरगत पदयात्राको अभियान सुरु गरिएको पनि बताए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अभियानले नेपालको अन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उनले अभियानबाट हनुमानढोकादेखि स्वयम्भूसम्मको अन्य सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको परिचय विश्व समूदायले पाउने पनि बताए ।

विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको संयोजनमा सुरु गरिएको पैदल यात्रा ६ दिनसम्म चल्नेछ । अभियान अन्तरगत वैशाख ३ गते विद्यार्थीहरुले पदयात्रा गर्नेछन । त्यसैगरी ४ गते विभिन्न खेलकुद अभियान, ५ गते फोटो पत्रकारहरुलाई त्यस क्षेत्रका सबै सम्पदाको अवलोकन गराउने र ६ गते हुलाक टिकट प्रर्दशनी गरिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

वैशाख ७ गते चित्रकला प्रर्दशनी हुनेछ भने ८ गते अभियान समापन गरिनेछ । काठमाडौंका स्थानीय सम्पदाहरुको उचित संरक्षण गर्न पनि अभियान सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment