Comments Add Comment

कोलकत्तामा थन्किए करोडौंका नयाँ कार

३ बैशाख, वीरगञ्ज । भारतको कोलकत्ता बन्दरगाहमा नेपाल ल्याउन लागिएका करोडौं मूल्यको नयाँ कारहरु थन्किएका छन् ।

नेपाल ल्याउन तेस्रो मुलुकबाट मगाइएका ४३५ भन्दा बढी लक्जरी कार बन्दरगाहमा थन्किएका हुन् ।

नेपाली आयातकर्ताहरुले जापान, दक्षिण कोरिया लगायतका देशबाट मगाएका नयाँ कार चार महिनादेखि कोलकत्ता बन्दरगाहमै थन्किएका छन् ।

नेपाली आयातकर्ताहरुले तेस्रो मुलुकबाट नेपालका लागि कार मगाएर धेरैदिनसम्म बन्दरगाहमै छोड्ने गरेको कलकत्ता बन्दरगाहका अधिकारीहरु बताउँछन् ।

पटक पटक हटाउन आग्रह गर्दा पनि आयातकर्ताहरुले समयमै कार नहटाउने गरेको उनीहरुको भनाइ छ । ‘बन्दरगाह भन्दा बाहिर राख्दा भाडा बढी तिर्नुपर्ने हुन्छ, त्यसको तुलनामा भन्सार परिसरमा खासै शुल्क हुँदैन । त्यसैले पनि बढी सवारीसाधन भन्सारमै राखिएको हुन्छ ।’ कलकत्ता भन्सारका एक अधिकारीले भने ।

नेपाल तर्फ हुने व्यवसाय र आउने समस्या समाधानका लागि सहयोग गर्न कलकत्तम भन्सार सहयोग शाखाका प्रमुख सम्पर्क अधिकृत कौशिक मुखर्जीले धेरै आयातकर्ताहरुले बन्दरगाहमै लामो समयसम्म गाडी छोड्ने गरेका छन् । ‘हामी बन्दरगाहमा कार होल्ड नहोस भन्ने चाहन्छौ, चाँडो भन्दा चाँडो हटोस भन्ने हुन्छ ।’ उनले भने ‘ तर अधिकांश आयातकर्ताहरुले बन्दरगाहमै होल्ड गरेर राखिदिनुहुन्छ, हामीलाई समस्या हुन्छ ।’

मुखर्जीेले आयातकर्ताहरुले कम्तिमा पनि १० दिनदेखि ४/५ महिनासम्म नयाँ कार बन्दरगाहमा होल्ड गरेर राखिदिने गरेको र त्यसरी राखिदिँदा समस्या हुने गरेको बताए ।

अहिले पनि झण्डै ४ महिनादेखि जापानबाट ल्याईएका टोयोटा, निशान तथा दक्षिण कोरियाबाट मगाइएका किया ब्रान्डका ४३५ भन्दा बढी कार अहिलेपनि बन्दरगाह परिसरमा थन्किएको उनले बताए ।

एउटा जहाजमा १२० देखि २५० वटासम्म कारहरु तेस्रो मुलुकबाट कोलकत्ता बन्दरगाहमा झिकाउने गरेका छन् । नेपालका लागि २ महिनामा ३ जहाज नयाँ सवारी कलकत्ता आईपुग्ने गरेको छ । त्यसपछि टेलरमा राखेर सडकमार्ग हुँदै वीरगञ्ज-रक्सौल नाकाबाट नेपाल भित्र्याउने गरिन्छ ।

किन रोकिन्छ कार ?

आयातकर्ताहरुले माग भन्दा बढी मगाएको अवस्थामा, कार बोक्ने टेलर नपाउने समस्या हुँदा, वीरगञ्ज तर्फ भन्सार क्षेत्रमा हुने जाम, भन्सार राजश्व तिर्न कठिनाइ हुने लगायत विविध कारणले गर्दा कार होल्ड गर्नुपर्ने अवस्था आउने गरेको छ । तर, पछिल्लो समयमा वीरगञ्जका लागि कार बोक्ने टेलर नै नपाउने समस्या बढेको आयातकर्ताहरु बताउँछन् ।

नयाँ सवारी साधन समेतको क्लियरिङको काम गर्दै आएको नारायणी क्लियरिङ सर्भिसका सञ्चालक सञ्जय श्रेष्ठ पछिल्लो समयमा वीरगञ्जका लागि टेलर पाउनै समस्या हुने गरेको बताउँछन् । ‘वीरगञ्जमा हुने जामको कारणले गर्दा टेलरहरु वीरगञ्ज आउनै मान्दैनन्, आउन तयार भईहाले पनि बढी भाडा माग्ने समस्या छ,’ उनले भने ‘ रक्सौलमा पनि पास भएका गाडी मात्रै छिर्न दिईरहेका छन् । यस्ता समस्या मिलाउँदा मिलाउँदै गाडी ल्याउन ढिलाई हुन्छ ।’

यस्तै कारणले गर्दा पछिल्लो समयमा मेड इन ईन्डिया लेखिएका अर्थात भारतमै बनेका कार मगाउने क्रम बढेको उनी बताउँछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपाल नयाँ सवारीहरु आईसीपीबाट क्लियरिङ गर्ने हो भने नयाँ सवारी आयातमा देखिएको ढिलाइमा केही कमी आउने बताउँछन् । ‘एक त टेलरमा सडक मार्ग हुँदै नयाँ सवारी ल्याउँदा बाटोमा जामको समस्या छ ।’ उनले भने ‘ वीरगञ्ज भन्सार क्षेत्रमा आइसकेपछि पनि त्यस्तै हाल हुन्छ । आईसीपी मार्फत भित्र्याउने हो भने केही सहज हुन सक्छ ।’

नेपाल र भारतका प्रधानमन्त्रीहरुले आईसीपीको उद्घाटन गरिसकेको भएपनि नेपालतर्फ पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

तर, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल भन्सारको कारणले कार नरोकिने गरेको बताउँछन् । ‘आयातकर्ताहरुले रक्सौलमा पनि नयाँ गाडी होल्ड गर्ने गरेका छन् । ग्राहकबाट माग आउने वित्तिकै भन्सार तिरेर लैजान्छन् । भन्सारमा खासै समस्या छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment