Comments Add Comment

प्रिपेड कार्डबाट एक पटकमा अधिकत्तम १० हजार झिक्न पाइने


३ वैशाख, काठमाडौं । अब प्रिपेड कार्डबाट एक पटकमा अधिकत्तम १० हजार र प्रतिदिन ५० हजार रुपैयाँसम्म झिक्न पाइने भएको छ ।
राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा सम्बन्धमा गरेको निर्देशनले यस्तो व्यवस्था गरेको हो ।

मंसिरमा गरिएको यससम्बन्धि प्रस्तावमा यस्तो सीमा प्रतिदिनको लागि पाँच हजार र प्रतिमहिनाको लागि २५ हजार रुपैयाँ उल्लेख गरिएको थियो । त्यस्तै, क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने र अत्यावश्यक पर्दा भने २५ प्रतिशत रकम झिक्न सकिने व्यवस्था गरेको छ । यसअघिे २० प्रतिशत रकम झिक्न सकिने प्रस्ताव गरिएको थियो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था गरेको छ । मासिक ५० हजार रुपैयाँसम्म कारोबार गर्न पाइनेछ ।

त्यस्तै, इन्टरनेट बैंकिङबाट दैनिक अधिकत्तम १ लाख र मासिक ५ लाख रुपैयाँसम्मको मात्र कारोबार गर्न पाइने र यही माध्यमबाट ट्रान्सफर गर्दा दैनिक १ लाख र मासिक १० लाख रुपैयाँको सीमा कायम गरेको हो ।

डेबिट कार्डबाट नगद कारोवार गर्दा न्यूनतम पाँच सयदेखि अधिकतम पच्चीस हजारसम्म झिक्न पाइने प्रस्ताव पनि राष्ट्र बैंकले गरेको छ । यस्तो कारोवार प्रति दिन अधिकतम एक लाखसम्म गर्न पाइने मस्यौदामा उल्लेख छ ।

एजेन्ट वा सब एजेन्टमार्फत इ वालेट, मोबाइल वालेट वा डिजिटल वालेटमा नगद जम्मा गर्दा एक पटकमा अधिकतम पाँच हजार सम्म गर्न सकिने प्रस्ताव गरिएको हो । मस्यौदा अनुसार प्रति दिन अधिकतम पन्ध्र हजार र मासिक अधिकतम पच्चिस हजारसम्म रकम जम्मा गर्न सकिने छ । यिनीहरुमार्फत भुक्तानी गर्दा भने एक पटकमा अधिकतम पांँच हजार, प्रति दिन पन्ध्र हजार र मासिक अधिकतम पच्चीस हजारभन्दा बढीको भुक्तानी कारोवार गर्न पाइने छैन ।

कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरु वालेट मार्फत भुक्तानी गर्न सकिने छ । कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था (विद्यालय/कलेज) स्वास्थ्य संस्था, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरुको आवधिक रुपमा भुक्तानी गर्नुपर्ने शुल्कहरुको बील बमोजिमको रकम पनि वालेटबाट भुक्तानी गर्न सकिने छ । तर, यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment