Comments Add Comment

मनोज गजुरेलको खुलासा : मलाई फिल्ममा खेलाउनु जंगली राँगो सधाउनु बराबर


रंगमञ्चमा कहलिएका हास्यव्यंग्यकर्मी मनोज गजुरेल पनि आखिर सिनेमाबाट टाढा रहन सकेनन् । रामशरण बस्नेत निर्देशित फिल्म ‘सय कडा १०’ बाट उनी ठूलो पर्दामा पोखिँदैछन् ।

सोमबार सो फिल्मको पहिलो दिनको सुटिङ थियो । देश तथा विदेशका सयौं स्टेज प्रस्तुति दिइसकेका विख्यात कलाकारले पहिलोपटक फिल्मको क्यामरा फेस गर्दा नौलो अनुभव गरे । उनको पहिलो सिन ६ टेकमा ओके भयो ।

रंगमञ्च र चलचित्रको बीच अनुभव गरेको भिन्नता उल्लेख गर्दै गजुरेलले भने, ‘रंगमञ्चका ठूल्ठूला स्टेजलाई आफ्नै साम्राज्य ठानेर उफ्रीउफ्री गर्न बानी परेको मलाई फिल्मको क्यामराको सानो फ्रेमभित्र अटाएर अभिनय गर्नुपर्दा त सकसै पर्‍यो नी ।’
आफूलाई अभिनय गराउन निर्देशकलाई जंगली राँगो सधाउन जत्तिकै गाह्रो पर्न सक्ने उनको अनुमान छ ।

‘मैले निर्देशकलाई पहिले नै भनेको थिएँ, मबाट केही निकाल्ने हो भने माया गरेर होइन, हप्किदप्की गरेर काम गराउनुस । पर्‍यो भने कुट्नुस पनि । जति टेक लिन पनि गाह्रो मान्दिन म ।’ गजुरेलले भने ।

हिजोको सुटिङमा गजुरेलले छोरीको कन्यादान गर्ने दृश्य थियो । जोरपाटीको एक मन्दिरमा सुटिङ भएको थियो । छोरीले रोजेको केटासँग विहे गराइदिँदाको खुशी, तर आफ्नो आदर्शविपरितको केटालाई छोरी दिनुपर्दाको पीडाको विरोधाभाषपूर्ण मनोदशा उनको अनुहारमा प्रकट हुनुपर्ने थियो । पहिलो दिनमै चुनौतिपूर्ण दृृष्य आइलाग्दा गजुरेल नर्भस भने भएनन् ।

‘अन्तरमनका भावना अनुहारमा प्रतिबिम्बित कसरी गर्न सकिन्छ भन्ने मलाई योग-ध्यानले सिकाएको छ । त्यसले मेरो अभिनयलाई सहज बनाइदियो,’ गजुलेलले भने ।

यसरकारण फिल्ममा उनले एक ‘कमेडियन एक्टिभिस्ट’ को भूमिका निभाएका छन्, जो स्ट्यान्डअप कमेडीमार्फत भ्रष्टाचारविरोधि अभियानमा लागेको हुन्छ । यो भूमिका आफ्नो वास्तविक चरित्रसँग पनि मिल्दोजुल्दो रहेको गजुरेलले बताए ।

यतिबेला हास्यकलाकारहरुको बजार भाउ आकाशिएको छ । कतिपयले २०-२५ लाखको अफर पनि लत्याएको खबरहरु आइरहेका छन् । यस्तोमा गजुरेल कतिमा ‘बिके’ होला ?

उनले आफ्नो मोल खोल्न चाहेनन् । ‘मैले पैसाको लागि यो फिल्म खेलेको होइन,’ उनले विनम्रतापूर्वक भने, ‘फिल्ममा यति देउ-उति देउ भनेर डिमान्ड राख्ने मेरो हैसियत पनि छैन । तर, उहाँहरुले मेरो श्रमको उचित मूल्य दिनुभएको छ ।’

रंगमञ्चमा पनि आफुले यो रेटभन्दा कममा काम गर्दिन भनेर कहिल्यै नभनेको र पैसाकै कारण सामाजिक कार्य रोकिनु हँूदैन भन्ने चिन्तन आफ्नो रहेको गजुरेलले बताए ।

गजुरेललाई यसअघि पनि फिल्मका अफरहरु फाट्टफुट्ट आइरहन्थे । तर उनले कुनै अफर स्वीकारेका थिएनन् । ‘आफ्नो करिअरमा जुन कुरालाई आदर्श बनाएर हिँडिरहेको छु, त्योसँग अमिल्दो भूमिका भएकाले खेलिनँ,’ गजुरेल भन्छन्, ‘स्ट्यान्ड अप मोटिभेसनल ह्यूमरमार्फत जनतालाई जागरण गराउँदै आएको छु । सिनेमामा जाँदा मेरो यो शैलीलाई निरन्तरता दिन गाह्रो हुन्थ्यो ।’

पहिलोपटक आफ्नो शैलीसँग मिल्दो सिनेमा पाएकाले सयकडा १० मा अभिनय गरेको उनले खुलाए । साथै टिमका व्यक्तिहरुको ‘भाइव्रेसन’ पनि आफूसँग मिलेको उनको अनुभव छ ।

गजुरेलका अनुसार यो फिल्ममा कमेडी त छ, तर कमेडी मात्र छैन । सामाजिक जागरणको सन्देश पनि छ । फिल्ममा गजुरेलसँगै अर्का दिग्गज हास्यकलाकार राजाराम पौडेल पनि छन् । साथै केही नयाँ अनुहारहरु छन् ।

सिनेमामा प्रवेश गरे पनि भविष्यमा आफ्नो प्राथमिकता रंगमञ्च नै हुने गजुरेल बताउँछन् । ‘रंगमञ्चमा जस्तो स्वच्छन्दता सिनेमामा पाइँदैन, म रंगमञ्चकै लागि बनेको कलाकार हुँ,’ उनले भने । यद्यपि, आफूले चाहेजस्तो कथा र भूमिका पाए अरु फिल्ममा पनि अभिनय गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment