Comments Add Comment

बिस्केट जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा, १३ जना समातिए

प्रतीकात्मक तस्वीर

६ वैशाख, काठमाडौं । भक्तपुरको बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा भएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३, तौमडीचोकमा बिहीबार बिहान ०२ः१५ बजे ढुंगामुढा भएको हो ।

प्रहरीले बिस्केट जात्रामा ढुंगामुढा गर्ने र खुकुरी देखाएर अराजक गतिविधि देखाउने १३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका सुरक्षा अधिकृत प्रहरी निरीक्षक मदन केसीले जात्राको ढुंगामुढा गर्ने र खुकुरी देखाउने १३ जनालाई तौमडीचोक र पाँचतलेबाट नियन्त्रणमा लिइएको जानकारी दिए । केसीका अनुसार, प्रहरीले बेलैमा अवस्थालाई नियन्त्रणमा लिएकाले कुनै क्षति भने भएन ।

प्रहरीले हुलदंगामा संलग्न भक्तपुर नगरपालिका २ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, सोही स्थानका सुमन कासुल्ला, भक्तपुर नगरपालिका १० का मनिस मकाजु र भक्तपुर नगरपालिका ४ का मनिस छुकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । सोही आरोपमा भक्तपुर नगरपालिका ४ का सन्नी छुका, अर्जुन गपीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक केसीका अनुसार, सुरेन्द्र देशमारु, सशिस पन्च, सविन श्रेष्ठ, सुनील गुरुङ र लम्मीप्रसाद दुवाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

जात्रामा खुकुरी देखाएर अशान्ति फैलाउने २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६, सूर्यबिनायक बस्ने साजन माक र समुन भेलेलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment