+
+

मादी गाउँपालिकालाई जलविद्युतको भण्डार घोषणा

क्वोलासोंथारलाई विश्व सम्पदा सूचीमा राख्न अनुरोध

अमृत सुवेदी अमृत सुवेदी
२०७५ वैशाख ७ गते ९:५३
वेदबहादुर गुरुङ, अध्यक्ष, मादी गाउँपालिका, कास्की

७ वैशाख, पोखरा । कास्कीको मादी गाउँपालिकालाई जलस्रोत र जलविद्युतको भण्डार घोषणा गरिएको छ । क्वोलासोंथारमा बसेको गाउँपालिकाको २१ औं कार्यपालिका बैठकले गाउँपालिकालाई जलविद्युतको भण्डार घोषणा गरेको हो ।

गाउँपालिका, सर्वसाधारण र निजीक्षेत्रको लगानीमा गाउँपालिका जलविद्युत आयोजना निर्माण गर्ने निर्णय बैठकले गरेको अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ का लागि स्वीकृत योजना तथा कार्यक्रम अन्तर्गत यस्तो घोषणा गरिएको हो ।

३ हजार ३ सय मिटर उचाइमा रहेको क्वोलासोंथार ऐतिहासिक तथा गुरुङ जातिको उदगमस्थल हो ।

एमबीबीएस पढ्ने स्थानीय विद्यार्थीलाई २ लाख

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा नियमित रुपमा १ देखि १० कक्षासम्म अध्ययन गरी एमबीबीएस पढ्ने स्थानीय विद्यार्थीलाई जनही २ लाख रुपैयाँको दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

गाउँपालिकाले प्रदेश सरकार र दातृ निकायको सहयोगमा प्राविधिक विद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

बैठकले ५० रोपनीभन्दा बढी जग्गामा खेती गरी वार्षिक १ सय क्विन्टलभन्दा बढी खाद्यान्न र तरकारी उत्पादन गर्ने स्थानीय व्यवसायिक किसानलाई १/१ वटा हाते ट्रयाक्टरसहित २ लाख बराबरको कृषि सामाग्री निःशुल्क उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।

२०७५/७६ कर वर्ष

बैठकले ३ सयभन्दा बढी भेंडाबाख्रा, ५० भन्दा बढी उन्नत जातको गाईभैंसी, ५ हजारभन्दा बढी बोइलर कुखुरा र १ सयभन्दा बढी बंगुर पालन गर्ने किसानलाई वार्षिक २ लाख रुपैयाँ अनुदान दिने निर्णय पनि गरेको छ ।

‘गाउँपालिकाले आगामी वर्ष २०७५/७६ लाई कर वर्षको रुपमा कार्यान्वयन गर्ने तयारी गरेको छ,’ अध्यक्ष गुरुङले भने, ‘आन्तरिक आय बृद्धि गर्न वार्षिक गाउँपालिकालाई बढी कर तिर्ने करदातालाई महत्वपूर्ण कार्यक्रममा विशिष्ठ व्यक्तित्व मार्फत सम्मान गरिने छ ।’

बैठकले अध्यक्षसँग रोजगारी कार्यक्रमअन्तर्गत गरिव तथा घरपरिवार पहिचान गरी वास्तविक गरीव परिवारलाई रोजगार दिनेगरी आर्थिक २०७५/०७६ मा प्रतिपरिवार १ का दरले १ सय जना बेरोजगार युवालाई स्वरोजगार बैंकमार्फत रोजगार सुनिश्चित गर्ने निर्णय गरेको छ । बैठकले न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि २०७५ समेत पारित गरेको छ ।

बैठकले उपाध्यक्षसँग महिला सशक्तिकरण कार्यक्रमअन्र्तगत महिलासँग सम्बन्धित सबै कार्यक्रम तथा सामाजिक रुपमा पछाडि परेका महिलालाई विभिन्न कार्यक्रममार्फत आत्मनिर्भर नेतृत्व विकासमा सक्षम बनाउने निर्णय गरेको छ ।

विश्व सम्पदा सूचीमा राख्न अनुरोध

गाउँपालिका, प्रदेश सरकार र विभिन्न दातृ संस्थासँग साझेदारी गर्नेगरी योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मादी गाउँपालिकाभित्रका शारीरिक अपाङ्गलाई निःशुल्क ह्वीलचियर उपलब्ध गराउने भएको छ । बैठकले आर्थिक वर्ष २०७५/७६का लागि योजना तथा कार्यक्रम स्वीकृत गरी उपलब्धी तथ्यमा देखिने गरी व्यवहारिकरुपमा कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिकाले क्होलासोंथार साँस्कृतिक तथा पुरातात्विक विकास परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । पोखरादेखि याङ्जाकोट सडक, पोखरा–सिक्लेस सडक र राखी–मिजुरे सडक कालोपत्रे गर्न पहल गर्ने निर्णय गरेको छ ।

मादीगाउँपालिका–२ मा रहेको क्वोलासोंथारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकार र संंघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?