करूणा जी, मेरी श्रीमतीमा यौनइच्छा छैन के गरौं ?

करूणा जी, मेरी श्रीमतीमा यौनइच्छा छैन के गरौं ?

करुणाजी नमस्कार,

म ३६ वर्षको पुरुष हुँ । मेरो बिहे भएको ६ वर्ष भयो । हाम्रो एक वर्षको प्रेम पश्चात विवाह भएको हो । विवाहपछि दुई महिनासम्म यौन सम्बन्ध निकै राम्रो थियो । हामी संयुक्त परिवारमा बस्छौं । दुई–तीन महिनापछि भने घरमा मेरो मम्मीसँग उनको केही मनमुटाव भयो । त्यसयता उनको यौनईच्छा घट्दै गएको भन्ने मैले बुझेको छु ।

शुरु शुरुमा मैले यौनेच्छा जगाउन केही कोशिश गरें, तर केही गरे पनि उनमा यौन ईच्छा जगाउन सकिनँ । हुन त उनको हरेक ईच्छालाई पूरा गर्ने प्रयास गरेको छु । तर, उनको यौन इच्छालाई पूरा गर्न नसक्दा उनले मैले गर्ने माया घटेको हो कि भनेर शंका गर्छिन् र झगडा गर्छिन् । यो समस्या बढ्दै गएपछि दुई वर्ष अगाडि सेक्सोलोजिस्ट, न्युरालोजिस्टलाई समेत भेटेँ । गत वर्ष मनोचिकित्सकलाई पनि भटें, तर पनि उनको यौन समस्यामा सुधार आएन ।

आजभोलि उनी निकै झगडा गर्छिन् र मलाई लाग्छ उनले झगडा गर्नु स्वभाविक हो र यो समस्या मेरै नै हो भन्ने लाग्छ । वास्तवमा यस समस्यालाई जसरी पनि सल्टाउन पाए हुन्थ्यो भन्ने लाग्छ । उनलाई छोड्ने ईच्छा पनि छैन । कृपया यसको उपाय बताइदिनु होला । यस समस्याका कारण म सधै चिन्तामा भइरहन्छु ।

जवाफः ‘तनावका कारण यस्तो भएको हो’

तपाईंले उल्लेख गर्नुभएका सबै विषयवस्तु अध्ययन गर्दा तपाईको घरपरिवारमा उत्पन्न भएको तनावका कारण नै तपाईंको श्रीमतीमा देखिएको यौन समस्या हो कि भन्ने बुझिन्छ । कतिपय अवस्थामा दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाव, झगडा जस्ता कारणहरु यौन समस्याका कारण सुरु हुन्छन् ।

यस्तो बेलामा यौनेच्छा घट्दै जाने, आफ्नो पार्टनरप्रति धेरै अपेक्षा बढ्ने हुन्छन् । यस्तो बेला पार्टनरले गरेका हरेक गतिविधि वाक्क लाग्ने र उप्रतिको मोह घट्ने हुन सक्छ ।

तनावका कारण आफ्नो पार्टनर माथिको सम्मान घट्ने र उप्रतिको स्वीकार्यता नहुने हुँदा पनि यौन सम्बन्ध कमजोर हुन्छ । यौन सम्बन्धका बेलामा पर्याप्त मात्रामा फोर प्लेको कमीले पनि यौन ईच्छामा कमी आएको हुन सक्छ ।

तपाईले उल्लेख गरेको जस्तो समस्या सवै पुरुषमा हुने गर्दैन । कोही व्यक्तिहरुले एउटै पार्टनरसँग वर्षौ वर्षसम्म उत्तिकै र उस्तैखालको यौन चाहना भएको बताउँछन् र उनीहरुलाई एउटै पार्टनरसँग यौन सम्पर्क गर्दा मात्र धेरै आनन्द हुने बताउँछन् ।

मानव यौनिकतामा धेरै विविधता छन् र हरेक व्यक्तिको यौन चाहना फरक हुने गर्छ । यस्तै प्रकारको समस्याको बारेमा विलसन नामक मनोवत्ताले १९८१ मा पुरुषमा धेरै किसिमका अनुसन्धान गरेका थिए । उनको अध्ययनले पुरुषमा नयाँ पार्टनरसँग यौन सम्पर्कबाट जति उत्तेजना आउँछ, त्यति उत्तेजना एउटै पार्टरसँगको यौन सम्पर्कमा नआएको पाइयो ।

महिलामा पनि अनुसन्धान गरियो तर महिलामा यस्तो समस्या निकै कम भएको पाइयो । यसबाट पनि महिलाहरु पुरुष जस्तै महिलाहरु सम्बन्धमा विविधता चाहँदैनन् भन्ने बुझिन्छ ।

अब एकैछिन तपाईले सम्बन्ध नटुटोस् भन्ने चाहना राखेको हो भने आफैंले समस्या समाधान गर्न सक्ने केही विधिका बारेमा चर्चा गरौं । तपाईहरु दुबैले यौन जीवनमा विभिन्न नयाँ यौन सम्पर्कका विधिहरुको छलफल गर्न र प्रयोग गर्न सक्नुहुन्छ ।

वास्तवमा धेरै जोडीहरु जो एक अर्कासँग लामो समयसम्म यौन सम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरुमा नयाँ र उत्साहित यौन क्रियाकलापहरु भइरहने अनुन्धानहरुले देखाएका छन् । तपाईहरुको जीवनमा उत्साहित र उत्तेजनाको महसुस गर्न यौन विविधता र नयाँपनको आवश्यकता हुन सक्छ । नयाँ अनुभवको साटासाटले नयाँ अनुभव गराउँछ । सम्बन्धमा ल्याएको यस्तो नयाँपनले मस्तिस्कमा आनन्द दिने रसायन पैदा हुन्छ र यौन ईच्छामा आर्कषण थपिने हुन्छ ।

तपाई आफ्नो श्रीमतीसँग केही कुरामा असन्तुष्ट हुनुहुन्छ भने उहाँसँग खुलेर कुरा राख्नुपर्ने हुन्छ । सामाजिक गतिविधि र घरमा हुने व्यवहारिक मनमुटावका कारण श्रीमतीमा भएका व्यवहारिक भिन्नतालाई नै स्वीकार्न नसकेको हो भने तपाईले आफ्नै व्यवहार प्रति सचेत हुने र यसलाई कसरी परिवर्तन गर्ने हो भन्नेमा सचेत हुनु आवश्यकता हुन्छ । कतिपय अवस्थामा पारिवारिक झैझगडाले आफ्नो हालको दाम्पत्य सम्बन्धलाई अगाडि बढाउन दिँदैन भने भविश्यमा आउन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गर्न समयमा नै गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।

तपाईले उल्लेख गरेअनुसार तपाईले पहिले नै धेरै विशेषज्ञहरुसँग भेटिसक्नुभएको छ र तपाईको यौन जीवनमा कुनै फरकपन आएको छैन । यसको मतलब यस समस्याको समाधानको एउटा उपाय तपाईमा भइरहेको चिन्ताको न्यूनीकरण र श्रीमतीलाई पूर्णरुपमा उहाँजस्तो हुनुहुन्छ, त्यसरी नै स्वीकार्नु हो ।

तपाईले आफ्नो दाम्पत्य जीवनलाई जोगाउने हो भने उनमा भएका केही त्रुटीलाई हृदयदेखि स्वीकार्नु र माफ गर्नु पनि हो ।

यदि माथि उल्लेखित विधिहरुले पनि काम गरेन भने तपाईले आफ्नो समस्याका बारेमा प्रतक्ष्यरुपमा मनोविदकोमा गएर परामर्श लिने निर्णय लिन जरुरी हुन्छ र आफ्नो समस्या समयमा नै पहिचान गरी सुल्झाउन जरुरी हुन्छ ।

 (यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

यौन क्षमता
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय