+

हस्तमैथुन : भ्रम कतिपय

२०८० कात्तिक  १५ गते १७:३१ २०८० कात्तिक १५ गते १७:३१
हस्तमैथुन : भ्रम कतिपय

अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन् ।’

तर, यो ठट्टामा कुनै सत्यता छैन । सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन । सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा कसैले पनि स्विकार्न चाहँदैनन् ।

अहिले यौन खेलौनाको बजार जसरी विस्तार हुँदै गएको छ,  त्यसले हस्तमैथुन जस्ता क्रियालाई अरु सहज बनाइदिएको छ । हस्तमैथुन पुरुष र महिला दुबैले गर्ने भएपनि तुलनात्मक रुपमा पुरुष यसमा बढी सक्रिय रहेको पाइन्छ ।

यो नितान्त व्यक्तिगत क्रिया हो । त्यसैले हस्तमैथुन सामान्य भएपनि सार्वजनिक स्थानमा यस्तो क्रिया गर्नु गैरकानुनी मानिन्छ ।

हस्तमैथुनलाई सामान्य रुपमा नलिइने र खुला रुपमा चर्चा नगरिने हुँदा यसबारे मान्छेमा कतिपय द्विविधा छ । ंहस्तमैथुन गर्नेमध्ये कतिमा यसले अपराधबोध पैदा गरेको छ भने कतिमा ग्लानीभाव । ‘हस्तमैथुन गर्नु राम्रो होइन’ भन्ने मनोविज्ञानले गर्दा मान्छेलाई भित्रभित्रै हीनताबोध गराइदिएको छ ।

हस्तमैथुन गरेपछि उनीहरुमा केही नराम्रो काम पो गरे कि भन्ने भावनाले ग्रस्त बनाइरहन सक्छ । यही कारण उनीहरुको भावनात्मक विकासमा असर पर्न सक्छ । आत्ममनोबल कमजोर हुनसक्छ ।

हस्तमैथुन गर्नु प्राकृतिक क्रिया हो वा होइन ?

यसमा मान्छे अनुसार फरक फरक धारणा पाइन्छ । कसैले यसलाई अप्राकृतिक मान्छन् भने कतिले स्वभाविक प्रक्रियाको रुपमा । यद्यपि आम मान्छेले यसलाई असामन्य मान्दैनन् । तर, यो गर्दा फाइदा वा हानि हुन्छ भन्ने कुरामा चाहिँ सबैजना स्पष्ट छैनन् ।

यसले हानि गर्छ वा फाइदा ?

यसले फाइदा वा बेफाइदा गर्ने भन्दा पनि मान्छेमा भएको यौन इच्छा शान्त गर्ने प्रक्रियाको रुपमा बुझ्नुपर्छ ।

हस्तमैथुनको हानि र फाइदा दुबै पक्ष छन् । हस्तमैथुनले स्वास्थ्यमा हानि गरेको पाइएको छैन । तर, यसले मनोविज्ञानमा भने असर गर्न सक्छ ।

मान्छेमा स्वभाविक रुपमा यौन इच्छा जाग्छ । यसलाई कतिले दबाएर राख्न सक्छन्, कतिले प्रकट गर्न सक्छन् । त्यो उनीहरुको अवस्थामा भर पर्छ । यौन इच्छालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा त्यसले यौनकुष्ठा पैदा गर्न सक्छ । यौनकुण्ठाले मान्छेलाई आफ्नो दैनिक कामकाजमा लाग्न बाधा गर्ने मात्र होइन, कतिपय गलत कृत्य गर्न पनि उक्साउन सक्छ । त्यसैले यस्ता जोखिमबाट बच्नका लागि हस्तमैथुन एक राम्रो विकल्प हो भनि कतिपयले तर्क गरेको पाइन्छ ।

हस्तमैथुनको क्रममा मान्छेले यौनान्द अनुभूत गर्छन् । यतिबेला मस्तिष्कमा एन्डोर्फिन नामक हर्मोन स्राव हुन्छ । यो हर्मोनले मान्छेलाई तनावरहित एवं खुसी बनाउँछ ।

यसले यौन उत्तेजना शान्त पार्छ र मान्छेमा यौनविकार रहँदैन । यसले गर्दा उनीहरु कतिपय यौनकृत्य गर्न उक्सिदैनन् ।

हस्तमैथुन प्राकृतिक दुखाई निवारक पनि हुनसक्छ । हस्तमैथुनबारे भएको एक अध्ययनले शारीरिक दुखाई हुँदा यसले ‘पेनकिलर’को काम गर्छ । साथै यसले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने कुरापनि कतिपय अध्ययनमा पाइएको छ ।

गर्भावस्थामा हर्मोनमा हुने परिवर्तनका कारण कतिपय महिलामा यौन इच्छा बढ्छ । यस समयमा यौन तनावबाट मुक्तीका लागि सजिलो र सुरक्षित उपाय हस्तमैथुनलाई मानिन्छ ।

केही भ्रम पनि

हस्तमैथुनबारे कतिपय भ्रम पनि छन् । कतिले हस्तमैथुन गरिरहँदा दृष्टि गुम्ने, डार्क सर्कल बस्ने, यौनाङ्गको आकार बढ्ने वा सानो हुने, सुक्रकिटको संख्यामा कमी आउने, डन्डिफोर आउने भनिरहेका हुन्छन्, जुन सत्य होइन ।

हस्तमैथुन गर्ने बानीको कारण यौनजीवन खल्लो हुने, सिघ्र स्खलन हुन्, निःसन्तान हुने जस्ता कुरा पनि बाहिर सुनिन्छ । यी कुराको कुनै वैज्ञानिक आधार छैन । हस्तमैथुनसँग निःसन्तानपन वा सिघ्रस्खलनको कुनै साइनो छैन ।

तर, हानि पनि

हरेक कुराको आफ्नो सीमा हुन्छन् । हस्तमैथुनमा अति लिप्त हुनु पनि राम्रो होइन ।

हस्तमैथुनलाई बानीको रुपमा विकास गर्नु उचित हुँदैन । कहिले काहीँ यौन उत्तेजना शान्त पार्नका लागि यो एउटा विकल्प मात्र हो ।

तर, कोही व्यक्ति हस्तमैथुनमा बढी लिप्त भइरहन्छ भने यसले उनको दैनिक कामलार्ई बाधा मात्र गर्दैन रचनात्मक गतिविधिलाई पनि सुस्त बनाइदिन्छ । हस्तमैथुनमा उनीहरु बढी ध्यान केन्द्रित हुन्छ र यौनजन्य गतिविधिमा बढी रुची राख्न थाल्छन् ।

हस्तमैथुनमा बानी परेपछि उनीहरु अश्लिल सामाग्री तथा पोर्नोग्राफीमा पनि रुची राख्न थाल्छन् । यसले उनीहरुको अरु काममा बाधा पुर्‍याउँछ ।

जसरी मान्छेलाई जाँड, रक्सी, चुरोट आदिको लत लाग्छ, कतिपयलाई यसको लत लाग्न सक्छ । वास्तवमा हस्तमैथुनको लत लाग्नु राम्रो होइन । यस्तो अवस्थामा उनीहरुले मनोचिकित्सकको परामर्श लिनुपर्ने अवस्था पनि आउन सक्छ ।

(काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत मनोचिकित्सक तथा यौनविद डा.ऋत पौडेलसँग कुराकानीमा आधारित)

हस्तमैथुन
डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय