+

बोसोयुक्त खानेकुरा खाँदैमा शरीरमा बोसो बढ्ने होइन

२०८० कात्तिक  १६ गते १२:११ २०८० कात्तिक १६ गते १२:११
बोसोयुक्त खानेकुरा खाँदैमा शरीरमा बोसो बढ्ने होइन

काठमाडौं । मोटोपन भएका व्यक्तिलाई सबैले एउटै सुझाव दिन्छन् । ‘बोसो बढयो, बोसोयुक्त खानेकुरा कम गर ।’ जसकारण धेरैको बुझाइ बोसो खानै हुन्न, बोसो नै हो मोटोपनको जड भन्ने छ ।

के साँच्चै बोसो शरीरका लागि धेरै हानिकारक छ ? शरीरलाई बोसो चाहिंदैन त ?

स्वास्थ्य विज्ञहरू भन्छन्, ‘यो बुझाइ गलत छ, जसरी शरीरका लागि अन्य पोषक तत्वको सेवन आवश्यक हुन्छ । त्यसैगरी, बोसो पनि शरीरका लागि आवश्यक पोषक तत्वमध्ये एक हो ।’

बोसो खाएर शरीर मोटो होइन, सही ढंगले खान नजान्दा मोटोपन बढ्न सक्ने पोषणविद् कामना आचार्य बताउँछिन् ।

‘बोसो खाने बित्तिकै शरीरलाई मोटो बनाउँदैन । र, मोटो शरीर घटाउन बोसोयुक्त खानेकुरा खानाबाट च्वाट्ट हटाउनु पनि हुँदैन,’ उनी भन्छिन्, ‘बोसोयुक्त खानेकुरा शरीरलाई आवश्यकभन्दा बढी खाँदा शरीरले खर्चिन सक्दैन र मोटोपनको समस्या बन्न सक्छ ।’

हार्वर्ड मेडिकल स्कुलका अनुसार यदि हामीले आवश्यकताभन्दा बढी बोसो खान्छौं भने यसले शरीरको तौल निश्चित रूपमा बढाउँछ । कुनै एक पोषणमा अत्यधिक निर्भर हुनुको अर्थ हामी हाम्रो स्वास्थ्यसँग खेलिरहेका छौं । बोसोबाहेक कार्बोहाइड्रेट, प्रोटिन र अल्कोहलको अत्यधिक प्रयोगले पनि शरीरको तौल बढाउन सक्छ ।

कन्सलटेन्ट बेरियाट्रिक एवं मेटाबोलिक कोसिसनन्दन पोखरेलको पनि बोसोप्रतिको आम जनताको बुझाइ अल्पज्ञान मात्रै हो । बोसोलाई दोष दिंदै खान नहुने भ्रम सर्वसाधारणमा बढ्दो रहेको उनी बताउँछन् । ‘मोटोपन हुन नदिन र बढन नदिनुमा बोसोलाई दोष दिन मिल्दैन । अत्यधिक बोसो मात्र होइन जुनसुकै खानेकुरा हानिकारक बन्न सक्छ,’ उनी भन्छन् ।

मोटोपनको कारण धेरै खाना, कम परिश्रम’ 

डा. पोखरेलका अनुसार अहिले किशोरकिशोरी र युवाहरुमा मोटोपनको समस्या धेरै देखिनुको कारण शरीरमा  चाहिनेभन्दा बढी खाने तर शारीरिक श्रम पटक्कै नगर्नु हो ।

‘कम्प्युटरको अगाडि घण्टौंसम्म बस्नु, व्यायाम–योग नगर्नु, घण्टौं टीभी हेर्नु, फुर्सदको समयमा पनि मोबाइलमा मात्र ध्यान दिनु र खानामा जंकफुड, मिठाइ, फ्याटी र रिफाइन्ड खानेकुरा,  तारेको खानेकुरा,  फास्टफुड र चिसो पेय पदार्थ टन्न खाने तर शारीरिक गतिविधि पटक्कै नगर्दा बोसो खपत हुन पाउँदैन र शरीरमा अत्यधिक बोसो जम्मा हुन थाल्छ । यसले मोटोपन मात्र होइन दीर्घरोग पनि बढावा दिन्छ,’ उनले भने ।

उनका अनुसार बोसोबिना शरीरले काम गर्न सक्दैन । बोसोको शरीरमा भूमिका धेरै छन् ।

१. बोसोले छालालाई मुलायम पार्ने काम गर्छ । यदि बोसो नहुँदो हो त छाला झोलिने गर्छ । जुन बुढापाकामा बढी देखिन सक्छ ।

२. फ्याटको शरीरलाई न्यानो पार्छ । यसको अभावमा अत्यधिक मात्रामा जाडो अनुभव हुन सक्छ ।

३.  मुटु, मिर्गौला जस्ता शरीरका महत्वपूर्ण अंगलाई ढाकेर सुरक्षा दिने काम पनि बोसोले गर्छ ।

४. हाम्रो पेटमा चलिरहने मेटाबोलिक प्रक्रियामा भिटामिन, खनिजहरुलाई ग्रहण गर्ने काम बोसोले गर्छ । भिटामिन ए, डी, के जस्ता भिटामिन बोसो भए मात्रै शरीरले सोस्ने गर्छ । बोसोको नै कमी हुँदा शरीरले भिटामिनलाई सोस्न सक्दैन ।

५. शरीरमा इन्सुलेसनको काम पनि बोसोले गरिरहेको हुन्छ । जसकारण कुनै किसिमको आघात वा दुर्घटनाको अवस्थामा इन्सुलेटरको रूपमा शरीरको महत्त्वपूर्ण अंगलाई सुरक्षित गर्छ ।

यस्तै बोसो मुख्यतया तीन प्रकारको हुने पोषणविद् आचार्यको भनाइ छ । स्याचुरेटेड, अनस्याचुरेटेड र ट्रान्स फ्याट ।

स्याचुरेटेड बोसो

जनावरको स्रोतबाट प्राप्त हुने दूध, मासु र घिउलाई बुझाउँछ । कोठाको तापक्रममा राख्दा जम्ने चिल्लो पदार्थको सेवन बढी गर्दा रगत प्रवाह हुने नसामा अवरोध ल्याउने वा जम्ने गर्छ । जसले रक्तसञ्चारमा असर गर्दै मुटुरोग लाग्ने गर्छ । जसकारण यसलाई नराम्रो मानिन्छ ।

अनस्याचुरेटेड बोसो

अनस्याचुरेटेड बोसो शरीरका लागि राम्रो मानिन्छ । चिल्लो पदार्थको स्रोत जुन कोठाको तापक्रममा राख्दा पनि तरल पदार्थ नै हुन्छ त्यसलाई तेल भनिन्छ । वनस्पतिजन्य तेल तोरी, नरिवल, ओलिभ, भटमास र सूर्यमुखी तेल अनस्याचुरेड तेलमा पर्छन् । तिल, चिया सिड, ओखर, बदाम जस्ता खानेकुरा पनि बोसोको राम्रो स्रोत मानिन्छ ।

ट्रान्सफ्याट

अत्यधिक डीप फ्राइ गरेको खाना र तेल दुवैमा ट्रान्स फ्याट हुन्छ, जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको प्रयोगले कोलेस्टेरोल बढाउँछ र मुटुमा समस्या निम्त्याउँछ । ट्रान्स फ्याट मासुमा पनि केही मात्रामा हुन्छ । जसको थोरै मात्रामा प्रयोग गर्दा स्वास्थ्यमा खास असर गर्दैन तर धेरै भए मोटोपन मात्र होइन, आन्द्रामा घाउ समेत बनाउन सक्छ ।

राम्रो बोसो पनि खराब बन्न सक्छ’

डा. पोखरेल भन्छन्, ‘बोसो राम्रो खालको हामीले खाए पनि खाएपछि व्यायाम वा कसरत नगर्ने हो भने स्वास्थ्य बिग्रिने निश्चित छ । जब हामी उच्च तापक्रममा राम्रो बोसो भएको तेल पकाउँछौं, त्यो खराब बोसोमा परिणत हुन सक्छ ।’ बोसोयुक्त खानेकुरा कति मात्रामा खानुपर्छ र कस्तो तरिकाले खानुपर्छ यसमा ध्यान दिन उनी सुझाउँछन् ।

त्यसो भए शरीरको लागि कति बोसो आवश्यक ?

आहार विशेषज्ञ योगिता सापकोटाका अनुसार नेपालमै कुनै ठोस तथ्यांकले यति बोसो शरीरलाई चाहिन्छ भनेर निकालेको छैन । नेपाल र भारतको हावापानी र रहनसहन मिल्ने भएका कारण त्यहींकै तथ्यांकलाई आधार मानेर हेर्ने गरिन्छ ।

‘शरीरलाई कति बोसो चाहिन्छ ? यो व्यक्तिलाई चाहिने क्यालोरीको मागमा भर पर्छ । श्रम वा शारीरिक गतिविधिको हिसाबले शरीरले बोसो माग गर्छ,’ उनी भन्छिन्, ‘एक व्यक्ति जसले दिनमा हल्का काम मात्र हुन्छ भने २५ ग्राम मात्र मूर्त बोसो आवश्यक हुन्छ । त्यस्तै मध्यम खालको काम गर्नेका लागि ३० ग्राम र भारी तौल उठाउने काम गर्नेका लागि प्रतिदिन ४० ग्राम बोसोयुक्त खानेकुराको आवश्यकता हुन्छ ।’

सामान्यतया स्वस्थ वयस्क व्यक्तिका लागि प्रतिदिन १५ देखि ३५ प्रतिशत बोसो चाहिन्छ । स्याचुरेटेड फ्याट कुल फ्याटको १० प्रतिशतभन्दा कम, पोलिअनस्याचुरेटेड फ्याटी एसिड ६–१० प्रतिशत, ट्रान्स फ्याट प्रतिदिन एक प्रतिशतभन्दा कम हुनुपर्ने उनी बताउँछिन् ।

बोसो मोटोपन स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय