+
+

उपासनाको जीवनशैली : ‘माछा–मासु खाउँखाउँ लाग्दैन, कपडाको सौखिन होइन’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते ९:५४

‘क्याप्टेन’बाट नेपाली चलचित्र उद्योगमा भित्रिएकी अभिनेत्री हुन्, उपासना सिंह ठकुरी । आफ्नो पहिलो चलचित्रबाट दर्शकको मन जितेकी उनले दोस्रो चलचित्रका रूपमा ‘कबड्डी ३’ मा काम गरिन् । यो चलचित्रले उनलाई थप चर्चामा ल्यायो । त्यसयता उनलाई थुप्रै चलचित्रबाट अफर आए । उनले भर्खरै चलचित्र ‘डिसेम्बर फल्स’को ७० प्रतिशत छायांकन सकेकी छन् । अर्को एक चलचित्रको वर्कशपमा उनी यतिबेला व्यस्त छिन् । छोटो समयमै चलचित्र क्षेत्रबाट राम्रो फ्यान फ्लोइङ कमाएकी उपासनाको कसरी बित्दैछ दैनिकी ? अनलाइनखबरले कुराकानी गरेको छ । उनले आफ्नो दैनिकी यसरी सुनाइन् ।

म ब्याचलर चौथो सेमेष्टरमा अध्ययनरत छु । अहिले हाम्रो बिहानमा अनलाइन क्लास चलिरहेको छ । त्यसैले अहिलेको सन्दर्भमा मेरो उठ्ने समय ६ः ३० बजे हो । उठिसकेपछि फ्रेस हुन्छ । अनलाइन क्लास ज्वाइन गर्छु ।

एउटा क्लास सकिँदा लगभग ८ बज्छ । त्यसपछि ब्रेकफाष्ट खान्छु । ब्रेकफाष्टमा कफी, बिस्कुट, कर्नफ्लेक्स, फ्रुड्स यस्तै हुन्छ । त्यसपछि फेरि अनलाइन क्लासमा बस्छु । ९ः३० सम्म क्लास हुन्छ । अरूबेला बिहानमा केही समय योगा पनि गर्थे । अहिले नियमित योगा गरेकी छैन । मामु, बहिनी जागिरमा जानुपर्ने भएकाले खाना १० बजे अगाडि नै खान्छौं । खाना मामुले बनाउनुुहुन्छ । खानामा प्रायः भुजा, दाल, तरकारी, अचार हुन्छ । माछामासु मलाई धेरै खाउँखाउँ जस्तो लाग्दैन । परिवारमा अरूले खाइरहनुभएको हुन्छ । म चाहिँ माछामासु कहिलेकाँही मात्र खान्छु ।

मलाई खाना बनाउन नआउने त होइन, धेरैजसो खानेकुरा बनाउन आउँछ । म र बहिनीले प्रायः बटर चिकेन बनाइरहेका हुन्छौं । अरू खानेकुराभन्दा त्यो अलि मीठो बनाउँछु जस्तो लाग्छ ।

बाहिर निस्किए भने प्रायः ११ः ३०– १२ बजेतिर निस्किन्छु । बाहिर निस्किँदा तयारी हुन मलाई खासै धेरै समय लाग्दैन । त्यही १५–२० मिनेटमा तयारी हुन्छु । मलाई लगाउँदा सजिलो लाग्ने लुकाहरू मनपर्छ । जे लगाएपनि आफूलाई ‘कन्फटेबल’ हुनुप¥यो । पाइन्ट, टिसर्टहरु बढी लगाउँछु । कुर्ताहरु पनि मनपर्छ, लगाइरहेकी हुन्छु । कपडामा म धेरै सौखिन पनि होइन । वास्तवमा भन्नुपर्दा मैले सपिङ नगरेकै धेरै समय भयो । अनलाइन स्टोर्सहरुबाट कति गिफ्टहरु पठाइदिनु भएको हुन्छ । कपडाको रंगमा चाहिँ एउटा स्पेसल भन्ने छैन, तर म ब्याक, ह्वाइट कपडाहरु बढी लगाउँछु ।

बाहिर हिँड्दा म प्रायः पठाओमा हिँडिरहेकी हुन्छु । किनभने मलाई स्कुटर, गाडी चलाउन आउँदैन । पठाओ नभए साथीहरुको सवारीमा पनि यात्रा गर्छु । बहिनीसँग कतै निस्किनुपरे स्कुटीमा निस्किन्छु । म आफू स्कुटी चलाउन अलिअलि जानेकी छु, तर डराउँछु ।

अहिले नयाँ चलचित्रको वर्कसप चलिरहेको छ । दिउँसो केही समय त्यसमै बितिरहेको छ । त्योबाहेक अरुबेला चाहिँ कलेज, साथीहरुसँग भेटघाटमा समय बितिरहेको हुन्थ्यो । अहिले घरमै बढी समय बितिरहेको छ । कलेजकै किताबहरु बढी पढिरहेकी छु ।

नत्र, अन्य समयमा घरमा खाली हुँदा मलाई चलचित्र हेरिराख्न मन लाग्छ । चलचित्रसँगै सिरिजहरु बढी मात्रामै हेरिरहेकी हुन्छु । चलचित्र नेपाली, बाहिरी सबैखाले हेर्छु । कतिपय अरूले राम्रो भनिसकेपछि हेरिरहेकी हुन्छु । नेपालीमा मलाई मनपरेको ‘छड्के’, ‘पशुपति प्रसाद’ हेरिरहेकी हुन्छु । सिरिज तथा चलचित्र हेर्दा कलाकारहरु, त्यसको विषयवस्तु लगायतबाट धेरै कुरा सिक्न पाइरहेको हुन्छु ।

मलाई नाटक हेर्न पनि रमाइलो लाग्यो । केही पहिले मण्डला थिएटरमा नाटक हेरेकी थिए । केही समय अगाडि कौसी थिएटरमा ‘हरेक बबाल कुरा’ नाटक हेरेँ, एकदमै रमाइलो भयो ।

नोबेलहरू पढ्न पनि मन लाग्छ । मन परेको नोबेल पढ्छु पनि । तर नोबेल पढिरहने समय मिलिरहेको हुँदैन । सामाजिक सञ्जालमा म धेरै एक्टिभ चाहिँ हुँदिनँ । मलाई टिकटक आफू खासै नबनाए पनि अरूको हेर्न रमाईलो लाग्छ ।

मेरो चलचित्र क्षेत्रका साथीहरु कमै हुनुहुन्छ । जतिपनि चलचित्रमा काम गरेँ, उहाँहरूसँग कन्ट्रयाकमा रहिराख्छु । दया दाइले कहिलेकाहीँ के गर्दै नानू भनेर कल गर्नुहुन्छ । अनमोल केसी, कर्म दाइ लगायतसँग राम्रो सम्बन्ध छ । मेरो कलेजका साथीहरुसँग म बढी क्लोज छु ।

शनिबार म खासै बाहिर जाँदिनँ । किनकि अरूबेला सबैजना व्यस्त हुने भएर शनिबार परिवार जम्मा भएर रमाइलो गरिरहेका हुन्छौं । मलाई परिवार, आफन्तहरुसँग समय बिताउन एकदमै रमाइलो लाग्छ ।

बाहिर गएको बेलामा म प्रायः ६ देखि ७ बजेसम्म फर्किसकेको हुन्छ । अब सुटिङ वा अरू काम भए ढिला हुने भयो ।

साँझमा म, बहिनी, मामु मिलेर नै खाना बनाउँछौं । ८ देखि ८ः३० बजेभित्र खाना खान्छु । साँझमा प्रायः रोटी खाइरहेका हुन्छौं । भुजा, दाल, तरकारी भए चिल्लो कम भएको खान्छौं । राति अबेरसम्म बस्ने मेरो बानी छैन । ९ः३० देखि १० बजेभित्र सुतिसकेकी हुन्छु ।

सुशिल नेपालसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?