+

गर्भको गर्व : महिलाका नभनिएका अनेक दुःख

२०८० कात्तिक  १३ गते १३:२५ २०८० कात्तिक १३ गते १३:२५
गर्भको गर्व :  महिलाका नभनिएका अनेक दुःख

थुप्रै महिला छन्, जो प्रजनन अंगको समस्या झेलिरहेका छन् । तर, उनीहरु खुलेर आफ्नो पीडा सुनाउन सक्दैनन् । आफ्नो कष्ट आफैभित्र लुकाएर बाँचिरहेका छन् । किनभने हामीकहाँ महिला स्वास्थ्य खासगरी यौन र प्रजननको विषयमा खुलेर चर्चा गर्ने परिपाटी छैन ।

ग्रामिण मात्र होइन, शहरी क्षेत्रका महिलाहरु पनि यस्ता कुराहरुमा न खुलेर प्रश्न गर्छन् न उपचारका लागि पहल नै । धेरैले यौन तथा प्रजननको कुरालाई लुकाउने चेष्टा गर्छन् । त्यही कारण यो समस्या अरु जटिल बन्दै जाने भय हुन्छ ।

आम महिलाको यही पीडालाई सहज रुपमा उजागर गर्न मैले पुस्तक लेखेको हो, गर्भको गर्व । धेरैले सोध्छन्, ‘डाक्टर भएर किन पुस्तक लेखेको ?’

यो पुस्तक लेख्नुपर्ने अवस्था त्यसकारण आइलाग्यो किन जब मैले आफ्नो करियरमा थुप्रै पीडा लुकाइरहेका महिला भेटें । उनीहरुले न आफ्नो कुरा सहज रुपमा भन्न सक्थे, न उपचार गराउन नै । रोगले अति नै च्यापेपछि मात्र उनीहरु अस्पताल ल्याइन्थे र जीवन मरणको लागि संघर्ष गर्थे । मैले उनै महिलाहरुमा समर्पण गरेर यो पुस्तक लेखें ।

यसमा मैले महिलाहरुले दिनहुँजसो झेल्नुपर्ने प्रजनन स्वास्थ्यको समस्यालाई उठान गरेको छु । यसलाई कुनै जानकारीको रुपमा मात्र पेश गर्दा पाठकलाई वा लक्षित वर्गलाई पढ्न रुची लाग्दैन भन्ने लाग्छ । त्यसैले मैले सुरुमा कथा लेखेको छु । यी कथा मेरो जीवन भोगाईसँग सम्बन्धित छ । अर्थात यहाँ जतिपनि कथा छन्, त्यस किसिमको पात्र र घटनालाई मैले नजिकबाट नियालेको छु । त्यसैले यो हचुवाको भरमा वा काल्पनिक रुपमा मात्र लेखिएको होइन ।

त्यसैले यी कथाहरु पढेपछि पाठकले त्यसका घटना वा अवस्थाबारे जान्नेछन् । साथसाथै उक्त अवस्था किन आउँछ, कसरी आउँछ, कसलाई आउँछ, त्यसको उपचार के हुन्छ भन्ने यावत कुरा थाहा पाउँछन् ।

यहाँ समेटिएका अधिकांश कथामा प्रजनन स्वास्थ्यका विषयमा जान्नैपर्ने तथ्य र अपनाउनुपर्ने सजगता छ । यसलाई हामीले सृजनात्मक गैरआख्यान नाम दिएका छौं ।

यसको केन्दिय विषय भनेको गर्भावस्था हो । गर्भावस्था आफैमा जटिल र संवेदनशिल स्थिती हो । र, अधिकांश महिला यो स्थितीबाट गुज्रनैपर्छ । ‘गर्भ’ भन्ने जुन अवस्थिती छ, त्यो केवल एउटी महिलाको मात्र सरोकारको विषय होइन । यो उनको श्रीमान वा परिवारको मात्र पनि सरोकारको विषय होइन । यो समग्र समाज वा राज्यकै उत्तरदायित्वसँग जोडिने विषय हो । किनभने मातृमृत्युदरको जोखिमबाट उम्कन वा एउटा स्वस्थ सन्तान जन्म दिनका लागि यही स्थिती निर्णयक हुनेगर्छ । बच्चा मानसिक र शारीरिक रुपले स्वस्थ हुनु भनेको प्रत्यक्ष-परोक्ष सबैका लागि लाभदायक हो । किनभने रोगी वा कमजोर नागरिकले राज्यको व्यायभार बढाउँछ भने सवल वा सक्षम नागरिकले राज्यको आयआर्जन बढाउँछ । ऊ उत्पादनमुलक बन्छ ।

त्यसैले गर्भावस्थामाथि पर्याप्त वहस हुनुपर्छ, सजगता र सचेतना हुनुपर्छ ।

एउटा बच्चा केवल एउटी आमाको बच्चा मात्र हुँदैनन् । उनी कसैको नाता–नातिनी हुन्छन् । कसैको भान्जा भान्जी हुन्छन् । कसैको भतिज भतिजी हुन्छन् । त्यसैले यो पुस्तक ती सबैका लागि हो । यसले प्रजनन स्वास्थ्य तथा गर्भको व्यवस्थापनमा घरका सदस्यहरु कसरी सरिक र सहयोगी हुन्छ भन्ने सिकाउँछ ।

मैले यो संवेदनशिल तर महत्वपूर्ण कुरालाई कथाको माध्यामबाट बुझाउने प्रयास गरेको छु । यी सबै वास्तविक घटना मात्र होइन, काल्पनिक मात्र पनि होइन । यी दुबैको संयोजन छ कथामा । चिकित्सकिय पेशामा रहँदा मैले नजिकबाट देखेका, भोगेका, झेलेका समस्याहरु चाहिँ यसका विषयबस्तु हुन् ।

यसका कथाहरुमा समाजले थपिएको वाध्यताहरुको चित्रण र ती बाध्यताहरुले महिलाको मनोभावना कस्तो हुन्छ र स्वास्थ्य जानेर पनि पालना किन हुदैन भन्ने तथ्य उतार्ने जमार्को गरेको छु ।

महिनावारी भएदेखि पाठेघर फाल्नुपरेको पीडासम्म यो सानो किताबमा चर्चा गरेको छु । यस पुस्तकले ४० वर्ष उमेर नपुगेका ती महिलाहरुको कथा पनि भन्छ, जसले वैवाहिक जीवनमा सन्तान जन्माउन खोज्दा कस्ता समस्या आइपर्न सक्छन् र कसरी जीवनको मोड बदलिन्छ । अनि पारिवारिक सुखका लागि गर्भको महत्त्व देखाउदै  यसको व्यवस्थापनमा समाज कसरी सहयोगी हुन्छ भन्ने देखाउने कोशिश गरिएको छ ।

अहिले महिलाहरु विभिन्न प्रजनन समस्यासँग जुधिरहेका छन् । महिनावारीका गडबडी, निस्सन्तानपन, गर्भका जटिलता, आङ्ग खस्ने जस्ता समस्याहरु प्रमुख छन् । यी समस्याहरुले स्वास्थ्य भन्दा पनि समाजिक जीवननमा परेका असरहरु बारे चर्चा गरिएको छ ।

महिला मात्रै सचेत भएर प्रजनन स्वास्थ्य राम्रो बनाउन सकिन्न । समाज सचेत हुनु पर्छ । प्रजनन स्वास्थमा सबैको सरोकार हुनुपर्छ । कसरी र किन ? भन्ने उत्तर यस पुस्तकमार्फत दिन खोजिएको छ ।

एउटी महिला रोगी वा समस्याग्रस्त हुनुमा उनी मात्र कारण छैनन् । यसमा उनका श्रीमानको भूमिका पनि उत्तिकै हुन्छ । कतिपय यौनजन्य संक्रमण श्रीमानकै कारण महिलाले भोगिरहेका हुन्छन् । त्यसैले  श्रीमानले गर्ने व्यवहार, माया र सहयोगले श्रीमतीको शारीरिक, मानसिक, सामाजिक जीवनमा गहिरो असर हुन्छ ।

गर्भावस्था
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय