+
+

रहरलाग्दो चियाको दुःखलाग्दो भित्री कथा (फोटोफिचर)

कमल प्रसाईं कमल प्रसाईं
२०८० कात्तिक १२ गते १६:२३

चिया पिउने मात्र होइन, हेर्ने पनि रहेछ । चिया पिउँदा र हेर्दा उस्तै हुन्छ, ‘मुड फ्रेस’ । इलामको चियाबारी आसपास पुगेपछि अर्को इन्द्रियले पनि आनन्द पाउने रहेछ । चियाको मगमग बास्नाले घ्राणयन्त्रलाई मग्न बनाउने । सुगन्धित अत्तर नै वायुमण्डलमा फैलिएको जस्तो लाग्दो रहेछ ।

यसपालि इलाम घुमघाममा चियाबारीले मोहनी नै लगाइदियो ।

इलामको भूगोल राम्रो कि चियाको सौन्दर्य नै ? खुट्याउन मुश्किल हुने । थुम्काथुम्कामा चियाका मझौला बुट्यान । एकनासका । परेड खेल्नका लागि तैनाथ सैनिकहरुजस्तै । यस्तो लाग्ने डाँडाकाँडा सजाउनकै लागि चिया रोपिएका हुन् ।

हामी मध्य बर्खामा चियाबारी घुम्न निस्किएका थियौं । कतिबेला पानी पर्छ ? टुंगो नहुने । आकाश कैलोमैलो कुहिरोले ढाकिदिने । झरीले पखालिएका डाँडाकाँडा ओसिला देखिन्थे । स-साना डोका बोकेर चिया टिप्न निस्कने लस्करले त्यसमा अरु शोभा थपिदिने । एकै लहरमा उभिएर चिया टिपिरहेकाहरुलाई क्षणमै भुईंकुहिरोले ढाकिदिन्थे । र, चियाबारीको पृष्ठभूमिमा एकै लहरका मानव आकृति देख्दा कुनै क्यानभासमा जतनसाथ कोरिएका चित्र झैं लाग्ने ।

इलाममा चैतको मध्यसातादेखि नै यस्तो दृश्य हेर्न सकिने रहेछ । त्यसबेलादेखि सुरु हुने ‘चियाको सिजन’ मंसिर अन्तिमसम्म जारी रहने शरद सुब्बाले बताए । उनी इलाम, जसबीरेस्थित चिया कारखानाका सञ्चालक हुन् । हामीसँगको भेटमा सुब्बा भन्दै थिए, ‘सुरु र अन्तिम सिजनको चिया बढी गुणस्तरीय हुन्छ । विदेशी खरिदकर्ताहरुले पनि त्यहीबेलाको चिया बढी माग गर्छन् ।’

यद्यपि चिया उत्पादनको मूख्य याम चाहिं असार-साउन रहेछ । त्यसबेला चिया किसानलाई भ्याईनभ्याई हुने ।

इलाममा उत्पादित धेरैजसो चिया विदेश निर्यात हुने सुब्बाले बताए । खासगरी त्यस भेगमा चियाको सुइरोबाट बन्ने विशेष किसिमको चियादेखि ब्ल्याक र ग्रीन टी उत्पादन हुने गरेको छ । सुइरोबाट बन्ने चियाको न्युनतम मूल्य नै प्रतिकिलो १० हजार रुपैयाँबाट सुरु हुन्छ । उही बोट, उही पत्तीबाट बन्ने चिया भने विविध स्वाद र शैलीको हुने रहेछ ।

स्वाद, सुगन्ध र सौन्दर्यको समिश्रण रहेछ चिया । सुब्बा भन्दै थिए, ‘यसले हाम्रो पाँचै इन्द्रियलाई आनन्द दिन्छ । चियाबारी हेरेर आँखाले, यसको सुगन्ध लिएर नाकले, यसको स्वाद लिएर जिब्रोले, यसको स्पर्श गरेर छालाले र चिया कपमा राख्दा आउने ध्वनि सुनेर कानले आनन्द लिन्छ ।’ चिया संस्कार अनुसार चिया बनाउने र कपमा राख्ने पनि आफ्नै काइदा रहेछ ।

बाफ उड्दै गरेको तात्तातो चिया स–साना कपमा यसरी राख्नुपर्ने रहेछ, जसले पानीको धारा झरेको ध्वनि पैदा गरोस् । चिया वास्तवमा पेय मात्र होइन, अरु धेरै कुरा रहेछ । इलामको चियाबारीमा फन्को लगाएपछि जो कोहीले त्यो कुरा महसुस गर्न सक्छ । साथै यसको अर्को अँध्यारो पाटो पनि रहेछ । बाहिरबाट सरसर्ती हेर्दा चिया जति सुन्दर र स्वादिलो लाग्छ यसभित्रको कथा भने त्यति सुखद् रहेनछ ।

चिया हुर्काउन, बढाउन, स्याहार गर्न ‘शिशुलाई स्यहारसुसार’ गर्नु जत्तिकै मिहेनत लाग्ने सुब्बाको भनाइ थियो । यस क्रममा किसानहरुले धेरै दुःख र अभाव व्यहोर्नुपरेको उनी सुनाउँछन् । इलामका चिया किसानले सिजनमा मल नै पाउँदैनन् । पाइहाले पनि कमसल र महंगो मूल्य तिर्नुपर्ने रहेछ । त्यसैगरी चिया टिप्ने मध्य सिजनमा काम गर्ने मान्छे नै नहुने । श्रमशक्तिको अभाव यतिसम्म रहेछ कि, कतिले चिया बगान नै मासेर अरु खेतीपाती गरिरहेका रहेछन् ।

चियाको सिजन सुरु भएपछि यहाँका किसान र कामदारलाई आराम गर्ने फुर्सद पनि हुन्न । के साँझ, के झरी, के जाडो । जस्तोसुकै बेला युद्धका सिपाही जसरी अविच्छिन्न खटिनुपर्ने रहेछ ।  हिलो-झरी नभनी रातदिन चिया टिप्ने किसानहरुले भनेजस्तो हरियो पत्तीको मूल्य पाएका छैनन् । त्यसमा पनि विचौलियाले चियाको बजार कब्जा गरेको सुब्बा बताउँछन् ।

अर्कोतिर चियाको मध्य सिजनमा नै इलाममा ग्रामीण भेगमा बारम्बार विद्युत कटौती हुँदा कारखानाहरु मारमा परेको उनको दुखेसो छ । सुब्बा भन्छन्, ‘बिजुलीको भर नहुँदा चिया बिग्रने र बनाएको चिया पनि राम्रो नहुने समस्या छ । बाहिरबाट हेर्दा चिया जति सुन्दर देखिन्छ, यसको भित्री कथा उत्तिकै दुःखलाग्दो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?