+
+

ओढारबाट तिलकपोखरी नियाल्दै

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७८ माघ २९ गते १८:२४

सिमाङघाट-कुमाङघाटबाट भक्तपुर हुँदै तामाकोसीको तिरैतिर तीन जोडी अजनबीहरू किराती छाप आइपुगेका छन् । अल्लोको कपडामा सजिएको यो जोडी हेर्दा अनौंठो देखिन्छन् । पुस/माघको ठन्डी मौसम । उनीहरुको शारीरिक हाउभाउ हेर्दा उनीहरूको यात्रा त्यति सहज थिएन भन्ने अनुमान गर्न सकिन्थ्यो ।

पूर्व २ नम्बरको सदरमुकाम किरात छाप । इस्वी संवत् ५०० ताका किरातहरूको राजधानी । किरात राजालाई भेट्न पुर्जामा छाप लगाउने जनको लर्को थियो किराती छापमा । राजालाई भेट्न पुर्जामा छाप लगाउन पर्ने भएकैले यो ठाउँको नाम नै किराती छाप भएको हो रे ।

सडक आसपास विभिन्न सामग्री फिजाएर बिक्री गर्ने नाङ्ले व्यापारीहरूको लस्कर पनि कम थिएन, किराती छापमा ।

भारत, नेपाल र चीन जोड्ने सिल्क रोडको यो मार्गमा भोटबाट नुन-तेल खेप्ने व्यापारी र भरियाको लस्कर हेर्दा कुनै उत्सवमा मेला लागेको माहोलभन्दा कम लाग्दैन थियो । यी तीन जोडीलाई पनि कसैले नुन-तेल खेप्ने व्यापारी या भरियाकै दर्जामा राखेर हेरेका थिए होलान् ।

सिमाङघाट-कुमाङघाटबाट आएका यी तीन जोडी किरात छापको चहलपहल देखेर अचम्मित भएझैं लाग्थ्यो । दोधार-दोधारमै तीनमध्येका दुईजोडी नाम्दुतिर लागे । यापति र सोनारीको जोडी भने किराती छापबाट उकालिएर चरिकोट हँुदै सुष्पातिर लागे । सुष्पाको एउटा ओडारमा पुगेर उनीहरू थामिएर बसे र थामी कहलाइए ।

सुष्पाको ओडारमा यापति र सोनारीको बसाइ कसरी सहज हुन सक्थ्यो र ? घना जंगलले घेरिएको सुष्पाको राङराङथली । साँझसम्म पारिलो घाम लाग्थ्यो । दिन ढल्दै गएपछि यापति र सोनारीलाई चिसोबाट जोगिने चिन्ता । पुस/माघको ठन्डामा आइपुगेको यो जोडीलाई भुवादार कपास झरेजसरी हिउँ झरेको देख्दा आश्चर्य लाग्या छ । सिमाङघाट-कुमाङघाटतिर हिउँ कसरी देख्नु । ओढारमा कुपि्रयर सेताम्य हिउँको पहाड र रुख तथा पोथ्राहरू नियाल्दै गर्दा यिनीहरूले अकल्पनीय दृश्यावलोकन गरिरहेका थिए ।

हिउँले उज्यालिएको डाँडा-पाखामा मृग र घोरलको दौड अनि तित्रा र कालिजको खासखुसले यापति र सोनारीको रात्रिकालीन भय हराएको छ । उनीहरुको प्रेमिल आलिङ्कनमा हिउँको उज्यालो र जीवजन्तुको खास्राकखुस्रुकले एउटा छुट्टै परिवेश बनाएको छ ।

हिमपातले चिसिँदै गएको मौसममा करिब-करिब सर्वाङ्ग दुई ज्यानको आलिङ्कनले उब्जिएको तापले एकैछिन उनीहरुको आँखा लागेको थियो । बिहानीको सूर्योदय हिउँको पहाडमा ठोक्किएर आएको प्रकाश आँखामा परेपछि बल्ल उनीहरूको निन्द्रा खुलेको छ ।

रातभरिको हिमपातले सूर्यको तापलाई समेत चिस्याएको छ । ओढार तल एउटा पोखरी थियो । तिलकपोखरी । उनीहरूले तीनवटा ढुङ्गा जम्मा गरेर चुलो बनाए । जंगल वरपर झिक्रा तथा सुकेका रुखका ठुटाहरु जम्मा गरे र आगो फुके । आगो बलेपछि आफ्नो चिसो शरीर तताए । अल्लोको रुखको बोक्रा निकालेर पोखरीमा भिजाए र ढुङ्गा जोडेर बनाएको चुलोमा सिमाङघाट-कुमाङघाटबाट ल्याएको कराइ बसालेर अल्लो पकाए । अनि त्यसैको कपडा बनाएर लगाए । जाडो अलिक छेलिएपछि उनीहरूको दैनिकी केही सहज बन्यो ।

वि.सं. १३८१ को यो समय (इस्वी संवत ५०० ताका) सिम्रौनगढमा हरिसिंह देवले राज्य गर्थे भने दोलखामा त्यतिबेला राजा नभएपनि हरिसिंह देवकै निर्देशनमा कुनै सामन्तको राज चल्थ्यो (उनलाई हायहाय राजा भनिन्थ्यो) । राजाको सैनिकले सुष्पामाथि पहाडबाट बग्दै आएको खोलामा आधा बलेको मुढा भेटेपछि त्यतातिर मानिस रहेको अनुमान गरेर खोजीगर्दै जाँदा यापति र सोनारीलाई भेटे । सोनारीले सिमाङघाट-कुमाङघाटबाट आउँदा आफ्नो शिरमा पहिरेको भालेको आकार भएको सुनको लकेट हायहाय राजाको सैनिकले लुटेर लगे ।

सुन लुटिएपछि यापति र सोनारी राङराङथलीको पोखरीमा आफ्नो आकृति नियाल्दै मलिन अनुहार लगाएर साँझसम्मै टोलाइरहेका थिए रे Û साँझ छिप्पिएर रातको आगमनसँगै उनीहरूले ओडारको गन्तव्य पहिल्याएका थिए ।

किराती छाप ।

समयक्रमसँगै यापति र सोनारीको आठ छोरी र सात छोरा भए । उनीहरुको नजिक अरू कुटुम्ब नभएकोले सात छोरासँग सात छोरीको विवाह गरिदिए । एक छोरीलाई जोडी भएन । उनलाई अरू कसैले गर्भाधारण गरायो र त्यो छोरीबाट जन्मिएको सन्तान थामीको रोइनी थर भयो । समाजको विडम्बना उनीहरू थामी जातिमा सानो जाति मानिए ।

यापति र सोनारीको सन्तान बढ्दै गयो । यापति र सोनारीको सन्तान थामीहरूको थाङथोङ, आक्याङमी, दुम्सीपेरे, मसानथी लगायत १८ वटा थर भए । सन्तान बढ्दै गएपछि धेरै कुरा परिर्वतन हुँदै गयो । यापति र सोनारी बस्ने ओडारमा यतिधेरै सन्तान अट्ने सम्भावनै थिएन । त्यसैले उनीहरू विभिन्न ठाउँमा छरिएर रहन थाले र सोही अनुसार विभिन्न थर बन्दै गयो ।

सन्तान बढ्दै गएपछि उनीहरूको सांस्कृतिक परम्परा, चाडपर्व, पूजाप्रार्थनाका कुराहरू पनि थपिँदै गए । यापति र सोनारीले सिमाङघाट-कुमाङघाटतिरबाट ल्याएको संस्कार, संस्कृति, परम्परा र चाडपर्वमा केही थपिए होलान केही बढे होलान् तर उनीहरुले आफ्नो संस्कार संस्कृतिलाई निरन्तरता दिए । भूमेपूजा हुन थाल्यो, एकादशीमा फूलतार्ने परम्परा सुरु गरियो । चण्डी पूणिर्मामा उभौली पर्व र धन्य पूणिर्मामा उधौली पर्व मनाउन थालियो ।

यापति र सोनारीको मुहारमा अनौंठो चमक थपिएका छन् । उनीहरूको दैनिकी छोरा-छोरीको व्यस्तता, नातानातिनीको उछलकुद, थपिएका बस्ती र खनिएका बारीका ढिस्का र गह्राहरु हेरेर बित्ने गरेको छ ।

सिमाङघाट-कुमाङघाटबाट एक धरो लुगामा जकडिएको यापति सोनारीको जीवन अब एउटा सभ्यतातिर अघि बढेको छ । नाता नातिनीले औंला समाएर राङराङ थलिको तिलक पोखरीतिर दौडाउँदा र भूमेथानमा शिर झुकाएर धार्मिक सत्कार दर्शाउँदा उनीहरूले जीवनले अद्भूत आनन्दको प्राप्ति गरिरहेका छन् ।

*** ***

यो सत्य किम्वदन्ती हो थामी जातिको उत्पतिको, जसलाई मैले काल्पनिक परिवेशसहित त्यतिबेलाको अवस्थाको आकार दिन खोजेको हो । यो न्यायोचित छ कि छैन त्यसको फैसला गर्ने जिम्मा तपाईं पाठक वर्गको ।

२०४६ साल यता म पत्रकारितामा सक्रिय छु र थामी समुदायको उत्पत्ति सम्बन्धी यो किम्वदन्ती मैले सधैं सुन्ने गरेको छु । थामी जातिको उद्गम थलो ठानिएको दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाको राङराङथलीमा म धेरै पटक पुगेको पनि छु । तिलकपोखरीमा घुमेको छु । भुमेथानको दर्शन गरेको छु र तीनवटा ढुङ्गा गाडेर बनेको चुलोलाई नियालेको छु ।

थामी संग्राहलयसहित राङराङथलीलाई अहिले आकर्षक पर्यटकीय गन्तव्य बनाइएको छ । भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, इन्जिनियर सुरेश राउत लगायत यसको लागि धन्यवादको पात्र बनेका छन् । नगरपालिकाको यो व्यवस्थापनले राङराङथलीमा पर्यटक पुग्नेमात्र हैन थामी समुदायको जातीय इतिहासको खोजी हुन्छ र ऐतिहासिक यो जातिको संस्कार, संस्कृति, भाषा, रीतिरिवाज र जातीय इतिहासको संरक्षणमा टेवा पुग्न सक्छ ।

थामी जाति दोलखालीहरूको गौरव बनेर रहेको छ । हामीले थामी जातिको विवाह संस्कार, मृत्यु संस्कार, जन्म संस्कार, भेषभुषा, भाषा आदिको बारेमा धेरै समाचार बनाएका छौं । उनीहरूको हरेक संस्कार संस्कृति र धार्मिक परम्परा अनौंठो र रोचक छन् ।

कुनै समय हायहायले राज्य गरेको दोलखाको हरेक मेला पर्वहरूमा थामी जातिको उपस्थिति अनिवार्य छ । हरेक वर्षको विजया दशमीको टीकाको भोलिपल्ट दोलखा सहरमा प्रदर्शन गरिने खड्गे जात्रामा थामी समुदायको उपस्थिति महत्वपूर्ण मानिन्छ । तर ती जात्रा मेलाहरूमा अहिले थामी समुदायको उपस्थिति देखिँदैन । यसले हाम्रो मौलिक संस्कार संस्कृति हराउने डर छ । थामी समुदायको आत्मसम्मानलाई उच्च महत्व दिँदै त्यो समुदायको उपस्थिति कायम राख्ने दायित्व हामी सबैको हुनुपर्छ । दोलखावासीको हुनुपर्छ ।

थामी समुदाय अन्यायमा परेका छन् यसमा कुनै दुविधा छैन । हामीले जातीय उत्थान हैन जातीय उत्सवमात्र मनायौं । थामी जातिको किंवदन्तीमा रमायौं । थामी जातिको किंवदन्तीको संरक्षण र जातीय उत्थानको प्रयत्न गरेनौं । थामी जातिको ऐतिहासिक किंवदन्तीसँग दोलखा राज्यको साइनोलाई केलाएनौं । किराती छापको इतिहास र किरातवंशको इतिहास खोतलेनौं ।

सिमाङघाट-कुमाङघाटबाट आएका तीन जोडीमा दुई जोडी कता गए र उनीहरूको सम्बन्ध कोसँग गाँसिन पुग्यो भनेर खोजी गरेनौं । सिमाङघाट-कुमाङघाटमा उनीहरू कुन समुदायका थिए भनेर चासो दिएनौं । के यो खोजीको विषय हुनुपर्दैन र ? थामी जातिको किंवदन्तीले सिंगो नेपालको सामाजिक बनावटको इतिहास खोज्न सहयोग पुग्छ भन्ने कुरामा नेपालका इतिहासविद्हरूको ध्यान जान जरुरी छ । झण्डै सात सय वर्षअघिको यो ऐतिहासिक किंवदन्ती एउटा जातिको अस्तित्वसँग मात्र सम्बन्धित छैन ।

यसले एउटा समुदाय, समाज, राज्य र देशको इतिहास पैलाएको छ । अझ भन्ने हो भने यो किंवदन्तीसँग नेपाल, चीन र भारत त्रिदेशीय सम्बन्ध, सहकार्य र मित्रताको साइनो गाँसिएको छ । त्यसैले यसको थप खोजी हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?