+

बालबालिकामा हुने एडीएचडी कस्तो समस्या हो ?

२०८० कात्तिक  १६ गते १४:४० २०८० कात्तिक १६ गते १४:४०
बालबालिकामा हुने एडीएचडी कस्तो समस्या हो ?

‘एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बाल्यकालमा धेरै देखिने विकाससम्बन्धी विकार हो । यसलाई एकै ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने, चुलबुले, चकचके व्यवहार देखाउने वा त्यस्तो किसिमको समस्या भनेर बुझ्दा हुन्छ । यो समस्या बालबालिकामा मात्रै होइन, युवाहरूमा पनि देखिने गर्छ ।

एडीएचडी समस्या हेर्दा सामान्य लागे पनि युवावस्थासम्म पनि रहन सक्ने भएकाले यसबारेमा केही कुरा थाहा पाउन जरुरी छ । यदि कुनै बच्चाले लामो समय एउटै काममा ध्यान केन्द्रित गर्न सक्दैन, एउटा कुनै काम गरिरहेको छ भने त्यो काम छोडेर एक छिनमा अर्को काम गर्न थाल्छ, सामानहरू हराउँछ, बिर्सन्छ भने यी एटेन्सन डिफिसिटको लक्षण भयो ।

धेरै चकचक गर्छ, एकै ठाउँमा लामो समय नबस्ने, पालो कुर्न नसक्ने, धैर्यता नहुने, एकदमै धेरै ऊर्जा छ भने यो चाहिं हाइपरएक्टिभिटी डिसअर्डरको लक्षण भयो । कुनै बालबालिकामा एटेन्सन डिफिसिट र हाइपरएक्टिभिटी डिसअर्डर दुवैको लक्षण देखिन्छन् भने कोहीमा एटेन्सन डिफिसिट र कोहीमा हाइपरएक्टिभिटी डिसअर्डरको लक्षण मात्र पनि देखिन सक्छ ।

एडीएचडीको लक्षण तीनदेखि चार वर्षको उमेरदेखि नै देखिन थाल्छ । ६ वर्षमुनिका बालबालिकामा चकचक गर्ने, ठाउँमा नबस्ने, दौडेको दौड्यै गर्ने जस्ता व्यवहारमा देखिने समस्या हाइपरएक्टिभिटी बढी देखिन्छ ।

ध्यान केन्द्रित गर्न नसक्ने, आफ्नो सामान हराउने, बिर्सने जस्ता एटेन्सन समस्या भने स्कुले बालबालिका र किशोरकिशोरीलाई बढी देखिन्छ ।

एडएचडको कारण

एडीएचडी लगायत विभिन्न मनोरोगको मुख्य दुई कारण हुन्छ, एउटा जैविक र अर्को वातावरणीय कारण । एडीएचडीको ७० देखि ८० प्रतिशत कारण जैविक हो, जुन जन्मिंदा नै लिएर आएको हुन्छ । मस्तिष्कको विकास राम्ररी विकास भएको छैन, मस्तिष्कको अगाडिको भागको ढिला विकास हुन्छ भने  बालबालिकामा यो समस्या देखिन्छ । हामीमा धैर्यता, एकाग्रता दिने काम मस्तिष्कको अगाडि भागले गर्छ । त्यसको विकास राम्ररी नभएको अवस्थामा एडीएचडीको समस्या देखिन्छ ।

परिवारका सदस्यहरूमा यो समस्या छ भने त्यो परिवारको बच्चामा यो समस्या हुने सम्भावना हुन्छ । साथै बच्चा समयभन्दा अगावै जन्मिएको छ, बच्चाको तौल एकदमै कम छ भने त्यस्ता बच्चामा यो समस्या देखिने सम्भावना बढी हुन्छ ।

गर्भावस्थामा सुत्केरी महिलाले चुरोट रक्सी खाएकी छिन् भने जन्मिने बच्चामा यो समस्या देखिने सम्भावना हुन्छ । घरको वातावरण राम्रो छैन, झैझगडा भइरहन्छ, बच्चाको स्याहारकर्ता परिवर्तन भइरहेका छन् र बच्चामा दुर्व्यवहार भएको छ भने त्यस्ता बालबालिकामा पनि एडीएचडी देखिने सम्भावना हुन्छ ।

बच्चालाई एडएचडी भएको कसरी पत्ता लगाउने उपाय

बच्चा जुनसुकै काममा एकाग्रताको साथ लाग्न सक्दैन, अनावश्यक चकचक गर्छ, आवश्यकताभन्दा बढी बोल्ने, नसोची बोल्नेलगायत लक्षण देखाउँछ भने उसलाई एडीएचडी भएको छ कि भनेर अभिभावक सचेत हुनुपर्छ ।

यस्ता बालबालिकामा सजिलै विचलित हुने, बढी बिर्सिने, एउटा काम पूरा नगरी अर्को काम सुरु गर्ने, नयाँ विषय सिक्न गाह्रो हुनेलगायत समस्या देखिने गर्छ । प्रश्न पूरा नहुँदै उत्तर भनिहाल्ने, सजिलै भ्रमित हुनेजस्ता लक्षण पनि देखिन्छ । जसको प्रत्यक्ष असर उसको पढाइमा पर्छ ।

साथीहरूसँग मिलेर खेल्न नसक्ने, छटपटाइरहने समस्या पनि हुन्छ । त्यस्ता व्यक्तिले अरूको काममा हस्तक्षेप गर्ने पनि गर्छन् ।

उपचार

यो समस्यालाई जाँच गरेर पत्ता लगाउने भन्ने हुँदैन लक्षणको आधारमा मनोचिकित्सक र मनोविज्ञले  यसलाई पत्ता लगाउँछन् ।

समयमा उपचार गर्‍यो भने यो समस्या पूर्ण रूपमा निको हुन सक्छ । यसको लागि औषधि सेवन गर्नुपर्ने हुन्छ । ‘स्टुमिलेन्ट’ र ‘एटोमोक्सेटाइन’ जस्ता औषधिको प्रयोग गरिन्छ । तर नेपालमा ‘स्टुमिलेन्ट’ नेपालमा पाइँदैन ‘एटोमोक्सेटाइन’ मात्र पाइन्छ । औषधिसँगै परिवार, विद्यालय र शिक्षकलाई बच्चासँग कसरी व्यवहार गर्ने, उनीहरूलाई कसरी प्रतिक्रिया दिने भन्ने कुरा सिकाइन्छ । जस्तो, लामो समय एकै पटक पढाउनुभन्दा १५ मिनेट पढाउने र पाँच मिनेट ब्रेक दिने, उसको ध्यान केन्द्रित गराउन उसलाई ध्यान केन्द्रित गर्नुपर्ने खालको खेल खेलाउने, बच्चाको ऊर्जा धेरै छ भन्ने उफ्रिने, दौडिने जस्ता खेलमा सहभागी गराउने गर्न सकिन्छ ।

(बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. कार्कीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

एडीएचडी बालबालिका स्वास्थ्य
डा. उत्कर्ष कार्की
लेखक
डा. उत्कर्ष कार्की
बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८८१५ अध्ययन : एमबीबीएस, एमडी (मनोचिकित्सा), डीएम (बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा) हाल काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय