+
+

तुरुन्तै रगत चाहिए कसरी व्यवस्थापन गर्ने ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० कात्तिक १२ गते १३:०९
फाइल तस्वीर

काठमाडौं । चाडबाडका बेला लामो समयसम्म अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द हुन्छन् । अस्पताल बन्द भएको बेला तुरुन्तै रगत आवश्यक परेमा के गर्ने ? भन्ने धेरैलाई चिन्ता हुन्छ । सुत्केरी हुँदा, सवारी दुर्घटना, शरीरमा रगतको मात्रा कम हुँदा, ब्लड क्यान्सरजस्ता अवस्थामा तुरुन्त रगतको आवश्यक पर्न सक्छ ।

आकस्मिक रगत आवश्यक परेमा कसरी व्यवस्थापन गर्ने ? कहाँ फोन गर्ने ? यिनै विषयमा केन्द्रित रहेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्तासँग गरिएको कुराकानी :

तुरुन्त रगत चाहिए के गर्ने ?

कुनै कारणवश कसैलाई तुरुन्त रगत चाहियो भने रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवालाई सम्पर्क गर्न सकिन्छ । ३६५ दिन ४२ घण्टा यो खुल्ला रहन्छ । रगतको लागि केन्द्रीय रक्तसञ्चार सेवाको टेलिफोन नम्बर ०१–५३८८४८६ नम्बरमा फोन गर्न सकिन्छ ।

यदि फोन गर्दा केही कारणवश उठेन भने केन्द्रीय रक्तसञ्चारको कार्यालय सोल्टी मोडमा आएर पनि रगत लिएर जान सकिन्छ ।

तुरुन्त चाहिएको बेला ब्लड बैंकसँग पनि रगतको अभाव छ भने के गर्ने ?

कसैलाई तत्काल रगत चाहियो र केन्द्रीय रक्तसञ्चार सेवामा रगतको अभाव छ भने त्यति बेला रगत आवश्यक परेको व्यक्तिको आफन्तसँग मिलेर डोनर खोजेर भए पनि रगतको व्यवस्थापन गर्न पीएआर अफिसरको व्यवस्था संस्थाले गर्छ ।

शैंजस्तो चाडबाडको बेलामा डोनरहरू कम हुन्छन् यस्तो बेला रगत अभाव हुन्छ कि ?

यो बेलालाई रगत अभाव नहोस् भनेर फूलपाती र अष्टमीको दिन पनि रगत संकलनको व्यवस्था गरिएको छ । प्लेटलेटको आयु जम्मा तीन दिनको हुन्छ । त्यस्तो प्लेटलेटको अभाव हुन सक्छ । तर  इमरजेन्सी केसमा बढी रिजर्भ रगत चाहिन्छ । रिजर्भ रगत पाउन भने खासै समस्या हुँदैन ।

काठमाडौमा केन्द्रीय रक्तसञ्चार सेवाबाट सेवा लिन सजिलो होला अन्य जिल्लाको हकमा के छ ?

काठमाडौंको लागि केन्द्रीय रक्तसञ्चार सेवा भएजस्तै ७५ वटा जिल्लामा नेपाल रेडक्रस सोसाइटीका ब्लड बैंकहरू उपलब्ध छन् । काठमाडौंबाहिर कतै तत्काल रगत चाहियो भने जिल्ला रक्तसञ्चार सेवाबाट प्राप्त गर्न सकिन्छ ।

रगतको विकल्प अहिलेसम्म विज्ञानले पनि निकाल्न सकेको छैन । त्यसैले कहीं कसैलाई तत्काल रगत चाहियो भने रगतको अभावमा ज्यान गुमाउनु नपरोस् । त्यसको लागि हरेक व्यक्तिले त्यसको लागि सहजीकरण गर्नुपर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?