+
+

मासुको प्रयोग नगर्नु मात्र शाकाहार होइन

मासुको प्रयोग नगर्नुलाई मात्र शाकाहारी भन्न सकिंदैन । जुन भोजन प्रयोग गर्दा शरीरमा नशा पैदा हुँदैन र अनावश्यक मासुको वृद्धि हुँदैन त्यस्तो भोजन नै शाकाहार हो । यदि दालभात मात्र पनि बढी खान्छ र खाना खाएपछि उसलाई झुम्म महसुस हुन्छ भने त्यो पनि शाकाहार होइन ।

डा. नरनाथ पाण्डे डा. नरनाथ पाण्डे
२०८० कात्तिक १५ गते १३:३८

मानिसले सेवन गर्ने आहारका सम्बन्धमा विभिन्न खोज र अनुसन्धान भएका छन् । मानिसले खान हुने र नहुने खाद्यपदार्थ, त्यसका प्रकार, सबै किसिमका खाद्यपदार्थका गुण, अवगुण, पौष्टिक मात्रा, पाचन प्रक्रिया, अवशोषण र निष्काशनसम्म सबै तथ्यहरूको खोज तथा अनुसन्धानले गर्दा मानिसले आफूले चाहे अनुसार र आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै खाना खान सक्ने भएको छ ।

हाम्रो देशमा विभिन्न हावापानी र कृषि उब्जनी अनुसार विभिन्न स्थानका बासिन्दाहरूले नियमित खाने खानाको प्रकार फरक खालको पाइन्छ भने हाम्रा विभिन्न चाडबाडहरूमा नेपाली संस्कृति अनुसार खाना खाने प्रचलन फरक–फरक रहेको पाइन्छ ।

वर्षका सबैभन्दा ठूला नेपाली चाडपर्वहरूमध्ये दशैं र तिहार मुख्य चाडबाड हुन् भने धार्मिक र सांस्कृतिक प्रचलन अनुसार अन्य चाडपर्व पनि फरक फरक तरिकाले मनाउने गरिन्छ । नेपाली चलन अनुसार दशैंलाई बडादशैं समेत भनिन्छ जुन भर्खरै मनाइएको छ र यो पर्वमा शक्तिकी देवी दुर्गाले असुर शक्तिलाई रौद्ररूप देखाई संहार गरेर परास्त गरेपछि विजय उत्सवको रूपमा मनाउने चलन छ ।

भयङ्कर स्वरूपकी दुर्गा देवीलाई नारीशक्तिको सामर्थ्यका रूपमा समेत हेर्ने गरिन्छ । त्यसकारण यस पर्वमा विशेष गरी दुर्गादेवीका मठ र मन्दिरहरूमा देवीलाई खुसी पार्न भनेर पशुबलि समेत दिने गरिन्छ ।

पशुबलि दिनु कति हदसम्म राम्रो हो वा होइन, दुर्गादेवीले पशु हत्यालाई मन पराउँछिन् कि पराउँदिनन्, उनले पशुबलिबाट दिइएको रगत खाने गर्छिन् वा गर्दिनन् र पशु अधिकारको संरक्षण कसरी गर्ने भन्ने छुट्टै विषयको बहस बन्ला तर यहाँ दशैंमा बलि चढाएर वा नचढाएरै वा नियमित रूपमा मासु खानु कति उचित छ वा छैन भन्ने सन्दर्भमा विश्लेषण गरी यो आलेख तयार गरिएको छ ।

विभिन्न प्राणीको खाना खाने प्रकृति

प्रकृतिका आधारमा संसारका विभिन्न सजीव प्राणीले आफ्नो खाद्यपदार्थ फरक–फरक तरिकाले खान्छन् । मानिस एउटा त्यस्तो प्राणी हो जसले खाद्यपदार्थलाई पकाएर खान्छ भने अन्य कुनै पनि प्राणीले खाना प्रकृतिले दिएकै स्वरूपमा खाने गर्छन् । खाना खाने स्वरूप अनुसार यस प्रकृतिमा निम्न तीन प्रकारका प्राणी पाइन्छन् । मासु मात्र खाने, अरू केही नखाने मांसाहार प्राणी हुन् भने अन्न वा वनस्पति वर्ग मात्र खाने शाकाहार प्राणी हुन् । त्यस्तै; वनस्पति, मासु तथा अन्न सबै खाने सर्वहार प्राणी हुन् ।

यी तीन प्रकारका प्राणीमध्ये मानिस सर्वहारी प्राणी हो । किनकि मानिसले जनावरजन्य मासु र अन्य उत्पादन तथा वनस्पति वर्गबाट प्राप्त हुने खाद्यपदार्थ सबै खाने गर्दछ । संसारका अधिकांश मानिस सर्वहारी छन् तर केही मानिस शाकाहारी पनि छन् र धेरैले मानिस स्वभावैले र प्रकृतिले बनाएको आधारमा मांसाहारी हुनै सक्दैन र मानिस शाकाहारी नै हो तर मांसाहार सेवन गर्नु मानिसका लागि राम्रो होइन भन्ने गर्छन् । वास्तवमा मानिस कस्तो प्राणी हो त भन्ने बुझ्न शाकाहारी र मांसाहारी प्राणीबीचको फरक बुझ्नुपर्ने हुन्छ ।

शाकाहारी र मांसाहारी प्राणीबीचको फरक

१. मांसाहारीको दाँत लामो, तीखो र पछाडि मोडिएको हुन्छ जुन मानिसमा पाइँदैन ।
२. मांसाहारीको बङ्गारा तल–माथि मात्र गर्छ, दायाँबायाँ गर्दैन तर मानिसको बङ्गारा चारैतर्फ चल्छ ।
३. मांसाहारीका बच्चा जन्मँदा आँखा खुल्दैनन् केही दिनपछि खुल्छन् तर शाकाहारीका बच्चा जन्मने बित्तिकैदेखि खुल्छन् ।
४. मांसाहारीले तरल पदार्थ पिउन सक्दैनन् चाटेर खान्छन् तर शाकाहारीले घुट्का लिएर पिउँछन् ।
५. मांसाहारीको आन्द्राको लम्बाइ छोटो हुन्छ तर शाकाहारीको आन्द्राको लम्बाइ लामो हुन्छ ।
६. मांसाहारीका हातखुट्टाका पञ्जाका नङ्ग्रा बलिया र आक्रमण गर्न सक्ने हुन्छन् तर मानिसका नङ्ग्रा बलिया नभई भाँचिने खालका हुन्छन् ।

सरसर्ती हेर्दा यी फरकहरूको आधारमा के भन्न सकिन्छ भने मानिस मांसाहारी जीव नभएर मांसाहारी जीवको विकासक्रमसँगै शाकाहारीका रूपमा विकास भएको जीव हो । तर सबै किसिमका शाकाहारी र मांसाहारी मानिसमा समेत विशेषतामा फरकपन पाइन्छ । सबै शाकाहारी र सबै मांसाहारी मानिसका केही फरक विशेषता यसप्रकार छन्–

क. शाकाहारी मानिस

१. मासु नखाने तर अण्डा खाने
२. मासु, अण्डा, माछा, दूध, दही केही नखाने वा भेगन (पशुपन्छीबाट उत्पादित कुनै चिज नखाने)
३. मासु, अण्डा केही नखाने तर ननभेज चाउचाउ खाने
४. धार्मिक या आध्यात्मिक कारणले मासु, अण्डा, च्याउ, लसुन, प्याज केही नखाने (सात्विक खाना खाने)
५. अरू केही नखाने तर माछा खाने (माछालाई मासु नभन्ने वर्ग)
६. भर्खरै मांसाहार त्याग गरेका वा नयाँ शाकाहारीहरू (अचानक चेतना खुलेर पशु प्रेमका कारण मासु खान छाडेका तर भित्रभित्रै थुक निलिरहने खालका) वा शारीरिक रोगका कारण मासु खान छाडेकाहरू यो वर्गमा पर्छन् । तर यस्ता वर्गले पुनः मासु खान सुरु गर्न सक्छन् ।

ख. मांसाहारी मानिस

१. हार्डकोर मांसाहारी (अधिकांश चिनियाँ जस्ता सबैथोक खाने)
२. सफ्टकोर मांसाहारी (सबै मासु नखाने जस्तै ः खसी मात्र खाने, पाडो वा बंगुर नखाने)
३. कुखुरा वा सुँगुर नखाने तर अरू खाने (कुखुरा वा सुँगुरले फोहोर खान्छन् भनेर घिन मानेर नखाने तर अरु मासु खाने)
४. बफ र पोर्क अति रुचाउने (नयाँ पुस्ताहरू जसले बफ र पोर्क बढी मन पराउँछन्)
५. पशु हिंसाको विरोध गर्ने तर हिंसारहित मासु खाने ।

शाकाहारी र मांसाहारी भोजन

मासुको प्रयोग नगर्नुलाई मात्र शाकाहारी भन्न सकिंदैन । जुन भोजन प्रयोग गर्दा शरीरमा नशा पैदा र अनावश्यक मासुको वृद्धि हुँदैन त्यही भोजन नै शाकाहार हो । यदि दालभात मात्र पनि बढी खान्छ र खाना खाएपछि उसलाई झुम्म महसुस हुन्छ भने त्यो पनि शाकाहार होइन । फलफूल नै किन नहोस् टन्न पेटभर खाएपछि झुम्म पार्दछ र सुत्ने मन हुन्छ वा अल्छी महसुस हुन्छ भने त्यो अवस्था शाकाहारी अवस्था होइन । शाकाहारको अर्थ हो सत्वगुणी भोजन । भोजनले शरीरमा तमोगुण पैदा गर्नुहुँदैन । सत्वगुणी भोजनले सधैं शरीरमा फुर्तिलोपन, नैतिकता, कार्यमा उत्साह र शारीरिक बलको घमण्ड नभई मानसिक प्रखरता उत्पन्न गर्दछ ।

पोषणविज्ञानका दृष्टिकोणमा प्रोटिन बढी पाइने सबै भोजन मांसाहार हुन्, कार्बोहाइड्रेट र चिल्लो बढी पाइने सबै भोजन अन्नाहार वा मध्याहार हुन् भने भिटामिन एवं खनिज लवण बढी पाइने सबै भोजन शाकाहार हुन् । त्यसकारण शारीरिक परिश्रम बढी गर्नु छ भने शाकाहारमा अन्नाहार जोड्नुपर्छ तर भुलेर पनि मांसाहार गर्नुहुँदैन । हात्तीको शक्ति शाकाहारबाट विकसित भएको हो, गाई, भैंसी, घोडा आदि सबै घाँस खाएर पनि शक्तिशाली छन् । जंगलमा घाँस खाएर ती जनावर कहिल्यै बिरामी भएर मर्दैनन् बरु वृद्ध भएर मात्र मर्दछन् ।

मांसाहारका तुलनामा शाकाहारहरूबाट प्राप्त पोषकतत्व शरीरले छिटो पचाउन र अवशोषण गर्न सक्छ । मांसाहारमा पोषकतत्वका साथमा केही विषालु पदार्थ पनि छन् जुन स्वास्थ्यको अनुकूल छैनन् । साधारण दृष्टिमा मांसाहारको हानि कम देखिए तापनि वैज्ञानिक परीक्षणबाट मासुमा लगभग ६० प्रतिशत पोषकतत्व र ४० प्रतिशत हानिकारक तत्व पाइन्छ ।

यसैगरी वनस्पति प्रोटिनको ९५ प्रतिशत भाग पाचन हुँदा मासुको ५० प्रतिशत भाग पनि पाचन हुन सक्दैन । त्यस्तै मासुमा फाइबर नपाइनाले मल निष्काशन ढिलो र कब्जियत बढी हुन्छ तर शाकाहारमा प्रशस्त फाइबर पाइने हुँदा दिसामा समस्या आउँदैन । यसरी मासुमा आन्द्रामा बढी समय रहँदा सड्न गई हानिकारक विभिन्न असरहरूका साथै दुर्गन्धयुक्त दिसा आउँछ तर शाकाहार छिटो पाचन भई छिटो बाहिर जाने हुँदा दुर्गन्ध पनि हुँदैन ।

मासुमा भन्दा दाल वर्गमा बढी प्रोटिन पाइन्छ । साथै दाल वर्गको प्रोटिन मासुबाट प्राप्त प्रोटिन भन्दा सस्तो, पचाउन सजिलो र हानिरहित हुन्छ । दाल वर्गलाई अङ्कुरित गरेर खाने हो भने झन् पोषकतत्वमा वृद्धि हुनुका साथै पाचन र मल निष्काशनमा पनि सकारात्मक प्रभाव पार्दछ ।

कार्बोहाइड्रेट, भिटामिन र खनिज पदार्थ बढी भएको भोजनले मस्तिष्कमा सेरोटोनिनको मात्रालाई बढाइदिन्छ । यस्ता भोजन सेवन गर्ने जीव शान्त हुँदै जाने र सेरोटोनिन अरू बढ्नाले निद्रा लाग्न थाल्छ । यसको विपरित मांसाहार र उच्च प्रोटिनवाला भोजन जसमा ट्रिप्टोफेन नामक एमिनो एसिड हुँदैन भने यस्ता भोजनले मस्तिष्कमा सेरोटोनिनको कमी हुन थाल्छ र अशान्ति, तनाव तथा अनिद्राका लक्षणहरू देखिन थाल्छन् । यस्तो अवस्था लगातार कायम भएमा आएको विक्षिप्तपनबाट हिंसा पैदा हुने हुँदा मांसाहारी जीव बढी हिंस्रक हुने गरेका हुन् ।

खाना खाने र खानाको छनोट गर्ने कुरा विभिन्न देश, ठाउँ र परिस्थिति अनुसार हुने गर्छ । खानाको छनोट गर्दा सकभर जनावरजन्य स्रोत भन्दा वनस्पतिजन्य स्रोत नै छनोट गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसैगरी जीवनशैलीमा परिवर्तन गरी नियमित शारीरिक क्रियाकलाप गर्ने, खाना अरूलाई खुवाएर बल्ल आफूले खाने, आनन्दित जीवन बिताउने, मांसाहारी हो र मासु खानैपर्ने हो भने माछा तथा सामुद्रिक खाना कम्तीमा हप्ताको दुईपटक मात्र खाने गर्नुपर्छ ।

मांसाहार त्याग गर्नाले शरीरमा पर्ने प्रभाव

१. मासुमा उच्च स्याचुरेटेड चिल्लो हुन्छ जसले सुजन गराउँछ र यसबाट क्यान्सर तथा अन्य रोगको डर हुन्छ तर मांसाहार त्याग गर्नाले सुजन कम हुन्छ ।

२. पेटको स्वास्थ्य राम्रो हुन्छ । किनकि मासु वा प्रशोधित खानाले पेटका जीवाणुहरू नष्ट हुने र वनस्पति स्रोतजन्य खाद्यान्नले त्यस्ता जीवाणुहरूको वृद्धि विकास हुन्छ जसले गर्दा पेटको स्वास्थ्य राम्रो हुन्छ ।

३. यदि मासु खाइरहने व्यक्तिले खान छाडेमा निकै कमजोर महसुस हुन्छ किनकि नियमित आपूर्ति भइरहने प्रोटिन, आइरन र अन्य तत्वको कमी भएमा शक्ति क्षय हुन्छ । त्यसकारण मासु छाडेपछि हरिया सागपात, फलफूल, नट्स, बिन आदि खानुपर्छ जसले शरीरको अवस्था यथावत् बनाउँछ ।

४. मासु सेवन गर्न छाडेर शाकाहारी भोजन गर्दा फलफूल वा तरकारीमा पाइने फाइबर तथा पानीका कारण बढी मात्रामा शौचालय जानुपर्ने हुन्छ भने दिसा पनि राम्रोसँग खुलेर आउँछ ।

५. मासु छाड्नाले दोस्रो टाइपको सुगर रोगको सम्भावना पनि कम हुन्छ ।

६. मासुमा पाइने स्याचुरेटेड चिल्लोले खराब कोलेस्टेरोल बढाउने र राम्रो कोलेस्टेरोलको मात्रा कम हुन थाल्छ फलस्वरूप न्यून कोलेस्टेरोल हुन्छ ।

७. शाकाहारी भोजनमा जति मांसाहारी भोजनमा खर्च हुँदैन र पैसाको पनि बचत हुन्छ ।

८. मासुजन्य पदार्थले ग्रीनहाउस प्रभाव पार्ने र कार्बन उत्सर्जन गर्ने भएकोले मासुको सट्टा वनस्पतिजन्य खाद्यान्नको प्रयोग गर्दा वातावरणमा पनि सकारात्मक प्रभाव पर्छ । यसैगरी पशुपालन गर्दा बढी जग्गाको आवश्यकता पर्ने, पानीको मात्रा बढी खपत हुने र अन्य नकारात्मक प्रभाव समेत पर्दछन् तर वनस्पतिको खेतीपातीमा यी समस्या हुँदैनन् ।

९. मासु नखाएमा अन्य थप तत्वको आवश्यकता पर्दछ किनकि वनस्पतिजन्य खाद्यान्नबाट मासुमा जति तत्व प्राप्त गर्न सकिंदैन । त्यसकारण भिटामिन बी, आइरन, क्याल्सियम र अन्य भिटामिनहरू प्राप्त गर्न थप खाद्यपदार्थ मिसाएर खानुपर्दछ ।

१०. मांसाहार त्याग गर्दा तौल कम हुनसक्छ ।

त्यसकारण स्वस्थकर जीवन बनाउनका लागि सकभर शाकाहार भोजन नै उचित हुन्छ । मांसाहारको सट्टामा निम्न किसिमका खाना छनोट गरी सेवन गर्नुपर्छ –

क. शाकाहारीका लागि

१. तरकारी : टमाटर, ब्रोकाउली, पालुङ्गो, काउली, रायो, काँक्रो आदि ।
२. फलफूल : स्याउ, केरा, सुन्तला, नासपाती, स्ट्रबेरी, अङ्गुर, आरू आदि ।
३. नट्स र बियाँ : बदाम, काजु, सूर्यमुखीको बियाँ, फर्सीको बियाँ आदि ।
४. गेडागुडी : सिमी, केराउ, दाल, पिनट, चना आदि ।
५. ट्युबर्स : आलु, सखरखण्ड, पिंडालु, तरुल आदि ।
६. होल ग्रेन : ओट्स, खैरो चामल, कोदो, मकै, गहुँ, रोटी र पास्ता ।
७. दुग्ध पदार्थ : चिज, दही, दूध आदि ।
८. जडीबुटी र मसला : लसुन, पुदिना, अलैंची, मरीच आदि ।
९. स्वस्थकर चिल्लो : ओलिभ तेल, एभोकाडो र एभोकाडो तेल ।

ख. मांसाहारीका लागि

१. मांसाहारीको लागि अन्य जनावरको मासुभन्दा निम्न माछा र सामुद्रिक खाना खानु उचित मानिन्छ– सालमोन, सार्डिनेस, ट्राउट, टुना, म्याकेरेल, स्रिम्प, ओस्टर, क्लाम, क्र्याब, मुसेल आदि जातका माछा वा सामुद्रिक खाना ।
२. मासु सेवन गर्ने नै हो भने खसी, बोका, राँगा, सुँगुर, बंगुर वा अन्य पशुको भन्दा कुखुरा, हाँस, टर्की आदिको मासु केही हदसम्म उचित हुन्छ ।
३. अण्डा सेवन गर्नेले कुखुरा, क्वाईल र हाँसको अण्डा सेवन गर्नु उचित हुन्छ ।

निचोडमा, विभिन्न जनावर वा पन्छीलाई मारेर खानाको रूपमा प्रयोग गर्नुलाई नै मांसाहार भनिन्छ । परम्पराकालदेखि मानिसले पनि मासु खाँदै आएको पाइन्छ । मासुका लागि पशुपालन गरेर, जङ्गली जनावर मारेर, नदी–नाला र समुद्रका जीवहरू मारेर, चराचुरुङ्गी पालेर र अण्डा वा मासु प्राप्त गरेर खाने अभ्यास छ । यसरी खाने मासुमा (राँगो, सुँगुर र कुखुराको मासुमा) अत्यावश्यक एमिनो एसिड र बढी मात्रामा प्रोटिन तत्व पाइन्छ भने भिटामिन बी, आइरन र जिङ्क पनि मासुमा पर्याप्त पाइन्छ । यसका साथै उच्च मात्रामा हानिकारक चिल्लो (स्याचुरेटेड फ्याट) र खराब कोलेस्टेरोल समेत मासुमा पाइने हुँदा फाइदा गर्नेभन्दा बेफाइदा बढी गर्ने तत्व मासुमा बढी पाइन्छ ।

शाकाहार भोजनमा पनि गेडागुडी वर्गमा पर्याप्त प्रोटिन, फाइबर, मिश्रित कार्बोहाइड्रेट, भिटामिन, खनिज, फोलेट, आइरन र पोटासियम पनि पाइन्छ । शाकाहार भोजनमा कम चिल्लो वा खराब नगर्ने चिल्लो पाइने हुँदा स्वास्थ्यको लागि राम्रो हुन्छ । त्यसकारण पनि मासु खानेको स्वास्थ्य शाकाहार भोजन गर्नेको तुलनामा खराब नै हुन्छ । त्यसैले सन्तुलित आहार सेवन गर्दा सबै वर्गका पौष्टिक तत्व मिलाएर आफ्नो स्वास्थ्यलाई ख्याल राखेर भोजन गर्नु नै बुद्धिमानी हुनेछ ।

(जीवनशैली व्यवस्थापनमा विद्यावारिधि गरेका लेखक प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?