
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक मित्र प्रधानले नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षणमा फिल्मको भूमिका बताउनुभयो।
- उनले भुटानबाट नेपाल र अमेरिका पुगेका नेपालीहरूको संघर्ष र संस्कृति जोगाउने प्रयासको कथा भने।
- फिल्मले नेपालीहरूको इतिहास र पहिचानको संरक्षणमा सन्देश प्रवाह गर्ने उद्देश्य राख्छ।
काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । नेपाली देशभक्ति भावनाको कथावस्तुमा आधारित फिल्म प्रवर्धनको लागि निर्देशक मित्र प्रधान अहिले नेपाली राजधानीमा छन् । ९० को दशकमा भुटानबाट नेपालमा आएर शरणार्थी जीवनयापन गरेका प्रधान तेस्रो देश पुनर्वासको सिलसिलामा अमेरिका पुगे ।
त्यहाँ पनि उनले पुस्तक लेखनमार्फत नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्धन गरिरहेका छन् । ‘यो मन त मेरो नेपाली हो’ उनको डेब्यु निर्देशकीय फिचर हो । यो फिल्मबाट उनले भुटानबाट लखेटिएर नेपाल हुँदै विश्वका विभिन्न भूभागमा पुगेका नेपालीभाषीको संघर्ष र संस्कृति जोगाउन उनीहरूले गरेको पहलको कथा भनेका छन् । अनलाइनखबरकर्मी विष्णु शर्मासँग उनले संवाद गरेका छन् :
‘यो मन त मेरो नेपाली हो’ फिल्ममार्फत तपाईंले भन्न खोजेको कुरा के हो ?
हामी नेपालीको धरातल, नेपाली उत्पत्ति या जन्मेको ठाउँ नेपाल हो । नेपालबाट विभिन्न देशमा छरिएर जाने क्रम भैरहेको छ । हिजोको दिनमा नि गए र आजको दिनमा नि विदेशिने क्रम भइराख्या छ । हाम्रो भाषा संस्कृति, पहिचानलाई पुर्खाले दुःख गरेर बचाएर ल्याउनु भाछ । अहिलेको ग्लोबलाइजेसन कारण चाहिँ यो कता–कता हराएर गइराको हो कि, टाढिएको हो कि, भन्ने कुराले गर्दा खेरि यसलाई उजागर गर्न जरुरी छ ।
हाम्रो भाषा, कला संस्कृति एकदम उच्चस्तरको छ । मैले अमेरिकामा बसेर विभिन्न राष्ट्रका मान्छेसँग नजिकबाट १३ वर्ष काम गरेँ । काम गर्ने त्यो दौरानमा यस्तो पाएँ कि हाम्रो यो पहिचान पनि एकदम उच्च कोेटीको छ । हाम्रो कला संस्कृति, पहिचान नेपाली पन नेपाली मनलाई बचाउनुपर्छ । भावी पुस्तालाई यो मुभीको माध्यम बाउ आमाले गरेको दुःखलाई सम्मान गर्दै शिक्षा दिनुपर्छ । भावी पुस्ता नै भोलिको नेतृत्व हो । यो ज्ञान उहाँहरुलाई हस्तान्तरण गर्नुपर्छ भन्ने लागेर यो फिल्म जन्मिएको हो ।
भुटान, नेपाल हुँदै अमेरिकामा तेस्रो देश पुनर्वासको तपाईंको संक्षिप्त विगत बताइदिनुस न ।
भुटानबाट शरणार्थीको रुपमा आएर बेलडाँगीमा बसियो । सन् २००८ सम्म त्यहाँ बसियो । मेरो सबै पढाइ नेपालमा भयो । मैले १० सम्म क्याम्पकै स्कुलमा पढेँ । १२ कक्षासम्म दमकको सिद्धार्थ हाइ स्कुलमा पढेँ । ब्याचलर्स विराटनगरको महिन्द्र मोहन क्याम्पसमा पढेँ । काठमाडौं शंकरदेवमा मास्टर्स गरेँ ।
तपाईंको वास्तविक भोगाइसँग फिल्मको कथावस्तु कति निकट छ ?
मैले लेखेको पुस्तक ‘द हिमालयन : माइ जर्नी फ्रम भुटान टु अमेरिका’ नेपालीमा पनि अनुवाद छ । यो फिल्म मेरो मात्र भोगाई हैन । सम्पूर्ण नेपालीको हो । हिजोको दिनमा विदेशिएका नेपालीले दुःख पाए । त्यो दुःख चाहिँ अबको नेपालीले पाउनु हुँदैन । यतिबेला सन्देश आदानप्रदान चाँडो हुन्छ । त्यो दुःख जति पाए पाए, अबको दिनमा हामी हातेमालो गरेर अघि बढ्नु पर्छ । बोर्डर वारीको नेपाली होस् बोर्डर पारीको नेपाली होस्, हामी नेपाली नै हो हैन हामी हातेमालो गरेर अघि बढ्ने हो । नेपालको लागि हामीले केहि गर्नुपर्छ ।
हिजोको दिनमा हाम्रो बाउ बाजेले भुटान छोड्दै गर्दाखेरि, उनीह कस्ता थिए ? उनीहरूले कस्तो दुःख पाए ? कसरी अमेरिका पुगे ? बर्मामा पुगेका नेपाली त्यहाँ कसरी पुगे ? के भोगे ? इन्डियामा के भैराखेको छ ? अहिले विभिन्न ठाउँमा छरिएका नेपालीलाई हामीले फिल्ममार्फत सन्देश र शिक्षा दिएका छौं ।
यसअघि पनि भुटानी नेपालीको संघर्षको कथावस्तुमाथि धेरै फिल्म बने । तीभन्दा यो फिल्म कुन अर्थमा भिन्न छ ?
मैले भुटानीहरूको विषयमा बनाएका सबै फिल्म हेरेँ । तर हरिवंश आचार्यले अभिनय गरेको फिल्म ‘भूठान’ हेर्न पाएको छैन । यो हाम्रो मुभी भुटानी नेपालीको लागि मात्र हैन । यसले सम्पूर्ण नेपालीको इतिहास बोलेको छ । सम्पूर्ण नेपालीलाई एउटै पेरिफेरीभित्र ल्याएको छ । त्यसले गर्दा यो चाहिँ अलि पृथक छ ।
तपाईं साहित्यमा कलम चलाउनुहुन्छ । साहित्य लेखनले तपाईं फिल्म निर्देशनमा कति मद्दत पुग्यो ?
बुक लेख्दा एउटा कोठामा बसेर लेख्न्थ्यिो । फिल्म बनाउँदा अलिकति सजिलो महसुस भयो मलाई । फिल्म बनाउनभन्दा तुलनात्मकरुमा पुस्तक लेखन सजिलो । दुःख गरेर, धेरै समय लगाएर बुक लेखेको हुन्छ । तर अहिलेको सोसल मिडिया, हरेक कुराले गर्दा चाहिँ अहिलेको नयाँ पुस्ताले समय लगाएर बुक पढ्ने काम अलि कम हुने रहेछ । त्यो बुकलाई दुःख गरेर लेखेको हुन्छ । सय पन्ना, दुईसय पन्ना, जति पन्ना लेखे पनि, एकदम टाइम लगाएर लेखेको हुन्छ । बुक पढ्नु भन्दा चाहिँ अरु सोसल मिडियाबाट एक-दुई मिनेटमा इन्फर्मेसन कलेक्ट गर्ने भाकोले गर्दा बुक पढ्ने काम कम देखियो ।
सन् २०१४ बाट मैले फिल्मको रिसर्च गरिरहेको थिएँ । फिल्म गर्दा चाहिँ के हुँदो रहेछ भने, सुरुमा जुन कुरा सोचेको हुन्छ, त्यो भन्दा एकदम गाह्रो । सुरुमा पनि गाह्रो, बुक लेखेको भन्दा धेरै गाह्रो अनि मुभी प्रोडक्ट बनिन्जेलसम्म पनि गाह्रो गाह्रो गाह्रो गाह्रो हँुदै आयो । रिलिज गर्न त एकदम सारो हुँदो रहेछ क्या । मलाई चाहिँ के लागेको छ भने, यो प्रोडक्ट एकपटक बन्न गाह्रो हुने । बनिसकेपछि, पब्लिकमा गैसकेपछि पब्लिक एजुकेट गर्न चाहिँ सजिलो । छोटो समयमा धेरैलाई एजुकेट गर्न सकिन्छ जस्तो लाग्छ ।
‘यो मन त मेरो नेपाली हो’ फिल्मबारे बताइदिनूस न ।
यसको मुख्य हिरो नेपाल आमा हो । यसको क्यारेक्टरले चाहिँ के खोजिराछ भने नेपाल आमाबाट उत्पत्ति भएको भाषा, कला, संस्कृति, पहिचान जुन छ, त्यो चाहिँ लोप हुन दिनु हुँदैन है । हामी विभिन्न देशका नागरिक हौंला, तर मन चाहिँ नेपाली हो । हाम्रो पहिचान जसलाई हामीले नासिन दिनु हुँदैन भन्ने सन्देश हो ।
अवरोध चाहिँ के ले गरिराछ ?
नेपालमा बस्दा नेपाली सबै भाकोले गर्दा यसलाई यसको भ्यालु हुँदैन । तर जब विदेशमा हुन्छ नि, त्यस पछाडि यहाँको अभाव खाँचो, दुःख संघर्ष बुझ्नुहुन्छ । तपाईंले जे बोलेको पनि मैले सजिलो बुझ्छु । तर विदेशी भइसकेपछि संस्कृति, भाषा, हरेक कुरो डिफ्रेन्ट हुन्छ । हाम्रो पहिचानको कमी छैन । यसलाई बचाउनुपर्छ । कालान्तरसँग लैजानुपर्छ भन्ने सन्देश यसले दिएको छ ।
भुटानी शासकले तपाईंहरूमाथि गरेको अत्याचारको कुरालाई फिल्ममा चित्रण गर्नुभएको छ कि छैन ?
जुन कुरा देखियो र रिसर्च गरियो । त्यो चाहिँ देखाइएको छ । यसमा पोलिटिकल पार्ट चाहिँ म जान्दिन । राजनीतिक रुपमा के भयो, त्यो म जान्दिन तर, अनुसन्धान गर्दा अथेन्टिक व्यक्तिहबाट जे भेटियो, त्यो कुरा दर्शाइएको छ । सन् १९९० यताका घटनाक्रमलाई यसमा समेटिएको छ ।
तपाईले यो फिल्ममा भुटानी कलाकारलाई कास्टिङ नगरेर नाम चलेका नेपाली कलाकारलाई किन लिनुभयो ?
भुटानी कलाकार पनि प्रशस्त छन् । मिडियामा नआएको र नदेखिएको मात्रै हो । मार्केटको प्रेसरमा कलाकार लिएको हैन । अमेरिकामा जति पनि भुटानी कलाकार हुनुहुन्छ, उनीहरुको कार्य व्यस्तताले गर्दा र म आफै पनि ब्यस्त भएकाले काम गर्न नसकेको हो किनभने मेरो काम चाहिँ यहाँको टिमसँग हुन्थ्यो । मैले यहाँको क्याम्पको कलाकार पनि लिएको छु । ७५–८० वर्षको हजुरआमाले खेल्नु भाको छ । उहाँहरुले इलामको यत्रो डाडाँमा गएर हिँड्न नसक्ने ठाउँमा पनि गएर साहसको साथ एक्टिङ गर्नुभएको छ । तपाईंले त्यो फिल्ममा देख्नुहुन्छ । नेपालका हैन दुईचारजना स्टार देखेँ भन्दैमा भुटानी कलाकार छैनन् भन्ने हैन ।
चलेका स्टारसँग काम गर्दा कस्तो अनुभव भयो ?
नेपालको पपुलर स्टारहरूसँग काम गर्दा मजा आयो । किनभने म त डेब्यु डाइरेक्टर । उहाँहरु खारिएको कलाकार अनि हामी सहकार्य गर्दै काम गर्यौं । संवेदनशील सब्जेक्ट भएकोले गर्दाखेरि हामीले कति पेरिफेरीमा बसेर के काम गर्ने, के निकाल्ने भन्ने कुरोबारे मैले जानेको सिकाएँ र कति ओटा कुरो उहाँहरुले जानेको कुरो पनि मलाई सिकाएर कम्बाइनमा काम गरेको छौं हामीले । नेक्स्ट प्रोजेक्टको लागि मैले धेरै सोच्नुपर्छ । मलाई दर्शकले माया गर्दिनुभयो भने मैले अलिकति नेक्स्ट लेवलको फिल्म बनाउनेबारे सोचिरहेको छु ।
प्रतिक्रिया 4