+
+
महानगरको रात्री जीवन :

तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू

रंगीन रातमा बेपर्वाह रमाउन आउनेहरुको भीडले ठमेललाई मादक बनाउँछ । दोहोरी साँझ, डिस्को थेक, डान्स बारदेखि रात्री क्लबहरु आगन्तुकको फर्माइस पूरा गर्न जाग्राम बस्छन् ।

खेम रिसाल खेम रिसाल
२०७८ मंसिर ९ गते २१:११

९ मंसिर, काठमाडौं । पृष्ठभूमिमा ‘बिग बोस’कै ढाँचाको एक आँखे प्रवेशद्वार । सम्मुखमा मञ्च । मञ्चमा छरिएको रंगबिरंगी प्रकाश-पुञ्ज । भित्ताको त्यही आँखाबाट फुत्त प्रकट हुन्छिन्, एक अर्धनग्न युवती । गीतसँगै उनको शरीर यन्त्रवत चलमलाउन थाल्छ । गीतको ध्वनि क्रमशः चर्को बन्छ-

‘याई रे याई रे जोर लगाके नाचे रे

चल मेरा संग संग, लेले दुनियाँ के रंग

होजा रंगीला रे ….।’

रंगीन रातमा बेपर्वाह रमाउन आउनेहरुको भीडले ठमेललाई मादक बनाउँछ । दोहोरी साँझ, डिस्को थेक, डान्स बारदेखि रात्री क्लबहरु आगन्तुकको फर्माइस पूरा गर्न जाग्राम बस्छन् ।

हुक्काको धुँवा र मदिरा मिश्रित गन्धले त्यहाँको माहौललाई अरु मादक बनाउँदैछ । मञ्चमा ठडिएको पिलरमा समातेर ती नर्तकी ‘पोल डान्सर’कै हाउभाउमा प्रस्तुत हुन्छिन् । मञ्चतर्फ फर्काएर ठाउँ-ठाउँमा सोफा राखिएको छ, जहाँ तन्नेरीहरु रसिक मुडमा बसेका छन् । गीतको भाका हाल्दै उनीहरु पनि बसीबसी नाच्छन् । उनीहरुको अघिल्तिर काँचको टेबलमा मदिरा, हुक्कासँगै पैसाको थाक छ । नर्तकी जति-जति कामुक भावभंगीमा पेश हुन्छिन्, उत्तिउत्ति मञ्चमा पैसाको वर्षा हुन्छ ।

एक पुरुष सोफाबाट नाच्दै उठ्छन् । नर्तकीलाई आफूनजिक आउन ईशारा गर्छन् । नर्तकीको हातमा समाएर केही क्षण नाच्छन् । त्यसपछि टेबलका केही पैसा नर्तकीको टाउकोमा घुमाएर हुर्‍याउँछन् । उनका साथीहरु जोडले हुटिङ गर्छन् ।

त्यसैको समानान्तर सोफामा दुई जोडी युवायुवती रमाइरहेका छन् । त्यसमध्ये छोटो वानपिस लगाएकी युवती बेपर्वाह पैसा उडाइरहेकी छन् । टेबलको मदिरा, हुक्का र स्न्याक्स छाडेर उनी नाच्न तम्सिएकी छन् । घरीघरी मञ्चमा उक्लन समेत खोज्छिन् । तर, उनको खुट्टा लर्बराउँछ । मञ्चमा नाचिरहेका पुरुषलाई बोलाउँछिन् । केही क्षण विन्दास पारामा नाच्छिन् । अनि उमंगमय भावमा पैसा हुर्‍याउँछिन् ।

‘दाइ, हामी पनि त्यहाँ बसौं ?’ फिटिङ्स जिन्स र टिसर्ट लगाएकी, अनुहारमा बढी नै मेकअप गरेकी, अन्दाजी २२-२५ वर्षकी युवती विनम्रताका साथ सोध्छिन् । एक भुक्तभोगी साथी कानेखुसी गर्छन्, ‘यिनीहरुलाई यहाँ बस्न दियो भने वियर र हुक्का खाएरै गोजी रित्याइदिन्छन् ।’ ती युवती जोर-जबर्जस्ती गर्दिनन् । खिन्न हुँदै बारतर्फ गएर साथीहरुसँग छिल्लिन थाल्छिन् ।

दर्जन जति सोफा र क्याबिन राखिएका छन् । तर, त्यहाँ ग्राहकभन्दा बढी स्टाफ छन् । वेटरहरु कालो र सेतो सर्टमा तैनाथ छन् । आधा दर्जन हाराहारी युवती स्कर्ट, वानपिस र फिटिङ जिन्समा ठाँटिएर ग्राहकको ‘स्वागत’ गरिरहेका छन् । युवा-युवतीको अर्को जत्था छ, जो रसिला हाउभावमा रंगीला नृत्य देखाइरहेका छन् ।

रातिको समयमा काठमाडौंको दरबारमार्ग

चित्त बुझे बस्नु

ठमेलको ज्याठा मार्ग छाडेर सोझै अगाडि बढेपछि भगवतीस्थान पुगिन्छ । रात जति छिप्पिँदै जान्छ, त्यहाँको घनत्व बढ्दै जान्छ । सर्वाधिक चर्चित रात्री क्लब एलओडी (लर्ड अफ ड्रिङ्क्स) त्यहीं छ, जहाँसम्म थरीथरी तन्नेरीका लस्कर लागेको छ ।

सडकको एक छेउमा एक युवती छिन् । हाई हिल, गाढा रातो स्कर्ट, सुनौलो अनि चहकिलो रंगको टिसर्टमा ठाँटिएर सानो ह्याण्ड ब्याग झुण्ड्याएकी उनी त्यहाँ यसरी उभिएकी छन्, मानौं उनी फोटोका लागि पोज दिइरहेकी मोडल हुन् । एकदमै होसियारीसाथ अनि धैर्यतापूर्वक उभिएकी उनको अनुहार सडकबत्तीको उज्यालोमा चम्किएको छ ।

एक अधवैंशे पुरुष सरासर उनी नजिक पुग्छन् र केही क्षण कुराकानी गर्छन् । पुरुष त्यहाँबाट हिँड्छन्, युवती उनको पछि लाग्छिन् ।

‘आउनु न, आउनु । एकपटक भित्र पसेर हेर्नुहोस्’ साँघुरो अनि केही अध्याँरो ढोकातर्फ इंगित गर्दै एक युवा अफर गर्छन्, ‘चित्त बुझे बस्नु, नभए फर्कंदा हुन्छ ।’

‘भित्र के छ र ?’ हामी बुझ पचाउँदै सोध्छौं । ‘जे जे चाहिन्छ, सबै छ’ ती युवा निर्धक्क कूटनीतिक जवाफ फर्काउँछन् । साँघुरो र पर्याप्त उज्यालो नपुगेको बाटो छिचोल्दै अगाडि बढेपछि आकर्षक ढोका देखापर्छ । त्यहाँ एक सुरक्षा गार्ड उभिएका छन्, जो निकै फूर्तिका साथ हतार-हतार ढोका खोल्न तम्सिन्छन् ।

भित्र उसैगरी सोफाहरु सजाइएका छन् । अघिल्तिर मञ्च छ । तर, त्यहाँ कुनै नाचगान छैन । न कुनै ग्राहक नै । बरु आधा दर्जन जति युवती आ-आफ्नै धुनमा मग्न छन् । कोही मोबाइल चलाइरहेका छन्, कोही चुरोटको धुँवा उडाइरहेका छन् त कोही आपसमा गफिँदैछन् ।

नयाँ आगन्तुक देख्नासाथ उनीहरु हार्दिकताका साथ यसरी घेरा हाल्छन् मानौं, आगन्तुक रानो मौरी हुन् । ‘के खाने दाइ, के सेवा गरौं ?’ अलि डल्ली र पूरै कपाल रंगाएकी युवती मुखै जोड्न खोज्दै सोध्छिन् ।

‘खै खानेकुरा के-के छ, मेनु हेरौं न ।’

‘मेनु के हेर्नु, आफूलाई के खान मन लागेको हो भन्नु न । जे पनि पाइन्छ’ उनै युवती अलि ठुस्किएको भावमा भन्छिन् ।

त्यहाँबाट बाहिरिँदै गर्दा उनीहरु रिसाए झैं देखिन्छन् । बाहिर ती युवा अरु ग्राहकलाई आमन्त्रण गरिरहेका छन्, ‘एकचोटि त पसेर हेर्नुहोस् न । मन लागे बस्नु ।’

कर्मचारी सञ्चय कोषको भवनबाट मोडिएर ज्याठा मार्ग जानेतर्फको सडकपेटीमा दुई महिला पछ्यौरा ओढेर आपसमा भलाकुसारी गरिरहेका छन् । अघिल्तिर दुईवटा ठूलो थर्मस र केही प्लाष्टिकका गिलास छन् । झोलामा केही थान चुरोट र पराग । ‘चिया खानु, चिया’ नजिकै पुगेपछि एक महिला आग्रह गर्छिन् ।

ए …समात् समात्

‘ए समात् समात्’ नर्सिङ चोकमा अचानक हो-हल्ला हुन्छ । प्रहरीले एक युवाको कठालो समातेका छन् । ती युवा बलजफ्ती फुत्कन खोज्दैछन् । अरु दुई महिला र पुरुष प्रहरी दौडिँदै आइपुग्छन् । पुरुष फुत्किएर दौडन्छ । महिला प्रहरीले लखेट्दै केही परसम्म पुर्‍याउँछिन् ।

एकछिन त्यहाँ रमिता हुन्छ ।

‘के भएको सर ?’

‘रक्सीको बोतल बोकेर हिँड्छ’ प्रहरी सुनाउँछन्, ‘त्यसरी रक्सी खाँदै हिँड्न मिल्दैन भनेको..।’

‘अनि पिट्नुभो त ?’

‘बोतल नबोक भन्दा जथाभावी मुख छाड्यो क्या’ प्रहरी भन्छन्, ‘त्यही भएर समातेको ।’

महानगरको रात्रिजीवनमा दुई कुरा अनिवार्य देखिन्छ, सुरा र संगीत । गजल, लोकदोहोरीसँगै रक, ज्याज, ब्लुज, हेभी मेटलको फ्युजन संगीत । थरीथरीका मदिरा र हुक्काको धुँवामा मग्न तन्नेरीहरु ।

रात ढल्दै जाँदा ठमेलको मादकता बढ्दै जान्छ । हुलका हुल तन्नेरीहरु ओहोरदोहोर गर्छन् । छिल्लिन्छन्, सडक बत्तीको उज्यालोबाट छलिएर कानेखुसी गर्छन् ।

‘राति सधैं क्लब जाने, मदिरा खानेहरुले सधैं यसरी लफडा गर्छन् ?’ हामी सोध्छौं ।

‘होइन, गर्दैन-गर्दैन’ प्रहरी भन्छन्, ‘त्यस्तो लफडा भएको छैन । आज त्यो फुच्चेले बोतल बोकेर रक्सी खाँदै हिँडेकाले कन्ट्रोल गर्न खोजेका हौं ।’

‘भनेपछि काठमाडौंको रात्री जीवन शान्त नै छ है ?’

‘हजुर ठीक छ, ठीक छ । त्यस्तो लफडा केही छैन ।’

घडीको काँटाले फन्को लगाएसँगै ठमेलले आफ्नो रुपरंग बदल्छ । यहाँ दिन र रातको रंग अलग हुन्छ । ध्वनि अलग हुन्छ । र, सुगन्ध/गन्ध अलग हुन्छ ।

काठमाडौंको दरबारमार्गस्थित एक गजल बारमा गीत-संगीत प्रस्तुत गर्दै कलाकारहरु

चन्द्रागिरिको डाँडाबाट घाम ओझेल परेसँगै हावामा लहराइरहेका रंगबिरंगी ‘लुङ्दर’, ‘ओम मणि पद्मे’को विद्युतीय ध्वनि र सुनपाती धुपको सुगन्धले ठमेललाई आध्यात्मिक शहरझैं बनाइदिन्छ । तर, जति-जति रात छिप्पिँदै जान्छ, ठमेल तामासिक बन्दै जान्छ । गजल र लोकदोहोरीको भाकासँगै ज्याज, मेटल, रक र ब्लुजको चर्को ध्वनि । मदिरा र हुक्काको मिश्रित गन्ध । अनि सबैतिर छरिएको चहकिलो र रंगबिरंगी उज्यालो ।

यस्तै रंगीन रातमा बेपर्वाह रमाउन आउनेहरुको भीडले ठमेललाई मादक बनाउँछ । दोहोरी साँझ, डिस्को थेक, डान्स बारदेखि रात्री क्लब आगन्तुकहरुको फर्माइस पूरा गर्न हरदम जाग्राम रहन्छन् ।

महानगरको रात्रिजीवनमा रमाउन को आउँछन् ? शहरिया किशोर-किशोरी ? पैसावाल तन्नेरी ? धनाढ्यका सन्तान ? व्यापारी ?

एक भुक्तभोगी सुनाउँछन्, ‘सबैखाले हुन्छन् । तर, धेरैजसो चाहिं ३०-४० उमेरका वयस्क देखिन्छन् ।’ धेरैजसो बेलामौकामा मात्र यो खर्चिलो रात साट्न आइपुग्छन् । खासगरी सप्ताहन्तमा । केही भने नियमित रुपमै रात्री जीवनमा हेलिन रुचाउँछन् ।

‘एलओडीमा एउटै टेबलको, एक रातमा दुई-तीन लाख तिर्नुपर्छ,’ उनी थप्छन्, ‘कुनै रात त्यो टेबल खाली हुँदैन । एक रातमै लाखौं उडाउँछन् ।’

रातिको समयमा काठमाडौंको प्रमुख पर्यटकीय स्थल ठमेल

चिया खानु, चिया

कर्मचारी सञ्चय कोषको भवनबाट मोडिएर ज्याठा मार्ग जानेतर्फको सडकपेटीमा दुई महिला पछ्यौरा ओढेर आपसमा भलाकुसारी गरिरहेका छन् । अघिल्तिर दुईवटा ठूलो थर्मस र केही प्लाष्टिकका गिलास छन् । झोलामा केही थान चुरोट र पराग ।

‘चिया खानु, चिया’ नजिकै पुगेपछि एक महिला आग्रह गर्छिन् ।

‘कति हो एक कप चियाको ?’

‘..खै कति ?’ उनी आफैं अलमलमा परिन्, ‘२५ होला, दूध चियाको ।’

‘आफैंले बेच्ने चियाको मूल्य पनि थाहा हुन्न र ?’

‘आज पहिलो चोटि आएका’ अर्की महिला बोल्छिन्, ‘अहिलेसम्म एक कप पनि बिक्री भएको छैन ।’

उनी रामेछापकी हुन् । जमलमा एउटा कोठा भाडामा लिएकी रहिछन् । अर्की महिला उनीभन्दा केही प्रौढ छिन् । उनी डोल्पाकी । पेट दुख्ने समस्या लिएर उपचार खोज्दै काठमाडौं आएकी रहिछन्, श्रीमान र दुई बच्चासहित । उपचार खर्च जुटाउन श्रीमान भारी बोक्न थाले । जमलमा एउटा कोठा लिएर उनी बालबच्चा स्यहार्न थालिन् । यी दुई दिदीबहिनी त्यही डेरामा आमने-सामने बस्छन् ।

‘पढेको छैन, केही काम जानेको छैन’ ती महिला सुनाउँछिन्, ‘त्यही भएर आज चिया बेच्न यहाँ आयौं ।’ तर, चिया बिक्री हुने हो वा होइन ? रातभर बसेर चिया बेच्न पाइने हो वा होइन ? उनीहरु अलमलमा थिए ।

‘अघि प्रहरीले यहाँ बस्न पाइँदैन भन्दै थियो’ उनीहरुले सुनाए, ‘कहाँ बस्न पाइन्छ त भनेर सोधेको ‘जतासुकै बस’ भन्छ । के भनेको होला ?’

दुई थर्मस चिया बेच्नका लागि उनीहरु तातो ओछ्यान छाडेर, निद्रा माया मारेर रातभर बस्न तयार छन् । तर, प्रतिपल मात्तिँदै गएको शहरमा चियाका अम्मली कति होलान् ?

दरबारमार्गस्थित एक क्याफेमा गीत-संगीत प्रस्तुत गर्दै कलाकारहरु

रात एक्लो छैन

जब सिंगो शहर निदाउने तरखरमा हुन्छ, मध्य शहरका दरबारमार्ग र ठमेल भने जागा रहन्छन् । यी यस्ता गन्तव्य हुन्, जहाँ रात्रिजीवनको अनुभव साट्नेहरुको जमघट हुन्छ । लोकदोहोरी, गजल रेष्टुरेन्टदेखि डिस्को थेक अनि रात्री क्लबहरुले यहाँ निदाउन दिँदैनन् ।

गजलको मधुर संगीतमा रमाउँदै पारिवारिक जमघट गर्ने कि डिस्कोमा गएर साथीसंगीसँग मस्त नाच्ने ? मर्जी आ-आफ्नै । दुई बजेसम्म अर्थात् पूरा रात त्यहाँ मनोरञ्जन लिन सकिन्छ । कोभिडको बखत सुस्ताएको रात्री जीवन अहिले भने क्रमशः ब्युँझिएको छ । रात्रिकालीन सेवाका लागि नयाँ-नयाँ रेष्टुराँ, क्लब खुल्ने क्रम शुरु भएको छ ।

तस्वीर/भिडियो : गारव योञ्जन

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?