+
+
Shares

ठमेलमा राति १० बजेसम्म मात्र मदिरा पसल खोल्न आग्रह

ठमेलमा मदिरा, ठेलागाडा तथा नाङ्गलामा हुने व्यवसाय राति १० बजेसम्म खोल्न ठमेल पर्यटन विकास परिषद्ले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १७:५२

२९ भदौ, काठमाडौं । ठमेलमा मदिरा, ठेलागाडा तथा नाङ्गलामा हुने व्यवसाय राति १० बजेसम्म खोल्न ठमेल पर्यटन विकास परिषद्ले आग्रह गरेको छ ।

रात्रिकालीन समयमा लुटपाट, भिडभाड र चोरीका घटना बढेकाले साना व्यवसायलाई १० बजेसम्म खुला गर्न परिषदले आग्रह गरेको हो ।

पर्यटकीय क्षेत्र ठमेल घुम्न आउने पर्यटकको शान्ति सुरक्षा गर्नु परिषद्को पहिलो दायित्व रहेको परिषद्का कार्यवाहक महासचिव पूण्यराम लगेजुले बताए ।

‘साना व्यवसाय र मदिरा पसलका कारण सडकमा भिडभाड बढेकाले १० बजेसम्म खुला गर्न आग्रह गरिएको छ,’ उनले भने, ‘ठमेलमा पछिल्लो समय अवाञ्छित गतिविधि बढेकाले पनि साना व्यवसायलाई छिटो बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।’

सडकमा होहल्ला गर्ने र झैंझगडा गर्नेको संख्या बढेकाले पनि सुरक्षा व्यवस्था मजुबत बनाएर लानुपर्ने अवस्था आएको लगेजुले बताए ।

२४ घण्टा मदिराजन्य पसल खुला हुँदा ठमेलमा ठूला लगानीमा खुलेका व्यवसायलाई प्रत्यक्ष प्रभाव परेको एक रात्रिकालीन व्यवसायीले बताए । ‘बढी राजस्व तिर्ने व्यवसायीलाई यसले ठूलो प्रभाव परेको छ,’ उनले भने, ‘मदिरा सेवन गरेर होटल रेस्टुरेन्टहरूमा ग्राहक पुग्दा अपेक्षा गरे बमोजिम व्यापार हुन सकेको छैन ।’

ठमेलमा साना व्यवसायीले तिर्ने राजस्व र ठूला व्यवसायीले तिर्ने राजस्वमा फरक रहेको उनको भनाइ छ । साना व्यवसायीलाई राज्यले निश्चित समय र नियम बनाएर व्यवसाय गर्ने वातावरण बनाउन उनले सुझाव दिएका छन् ।

पर्यटकको सिजन लागेकाले ठमेललाई सुरक्षित र शान्त रहेको सन्देश फैलाउनु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?