
२७ भदौ, काठमाडौं । विहीबार दिउँसोतिर ठमेल पुग्दा जेनजी आन्दोलनको मिश्रित प्रभाव देखियो । केही सटर बन्द थिए भने केही खुल्ला । फाट्टफुट्ट विदेशी पर्यटकहरू पनि देखिए ।
बाटोमा सेवा दिन रिक्सा, मनोरञ्जन दिन गन्धर्व समुदाय र केही ठेलावाला पनि देखिए । तर, अन्य सामान्य दिनजस्तो त्यहाँ भिड थिएन । हिँड्न नै मुस्किल पर्ने गरी ट्राफिक थिएन । हरेक जसो सटरमा लाग्ने ग्राहकको घुइँचो थिएन ।
प्रदर्शनकारीहरूले गत गत मङ्गलबार ठमेलकै चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा आगजनी गरेका थिए । त्यसबाहेक दुई दिनको आन्दोलनमा प्रत्यक्ष प्रभाव नपरे पनि देशको प्रमुख पर्यटकीय स्थलमध्येको एक ठमेल त्रसित भएको भान हुन्थ्यो ।
रिपोर्टिङका लागि बानेश्वरबाट त्यहाँ जाँदा धेरै ठाउँमा आर्मी भेटिए पनि ठमेलमा यस्तो दृश्य भने देखिएन । तर त्यहाँ व्यवसाय गरिरहेकाहरूको कुराकानीमा भने सेना बेलाबेला आउने गरेको थाहा भयो ।
त्यहाँ चोकतिर ४/५ जना जति भेला भएर गफ गरिरहेका पनि देखियो । कोही भने पसलमा सामान किन्ने बहानामा गफ गरिरहेका सुनिए । तर सबैले आफ्नो व्यक्तिगत चिन्तासँगै देशकै कुराकानी गरिरहेका थिए ।
‘बुकिङहरु धमाधम क्यान्सिल भइरहेको छ’
ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष सहदेव धमलाले मुख्य सिजनको सम्मुखमा भएको विध्वंशकारी घटनाले ठमेल क्षेत्र प्रभावित भएको बताए ।
‘जुन, जुलाई, अगष्ट अफ सिजन हो । सेप्टेम्बर, अक्टुबर, नोभेम्बर पर्यटकहरु आउने मुख्य सिजन हो । यही सिजनको मुखमा भएको हिंसात्मक घटनाले विदेशमा नेपालबारे नराम्रो म्यासेज गइरहेको छ,’ होटल व्यवसायीसमेत रहेका धमलाले भने, ‘बुकिङहरु धमाधम क्यान्सिल भइरहेको छ ।’
ठमेल पर्यटन विकास परिषदका सचिव समेत रहेका कपडा पसल व्यापारी पुण्यराम लागेजुले पनि जेनजी आन्दोलनेको क्रममा भएको हिंसात्मक घटनाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताए ।
लागेजुका अनुसार ठमेलमा वर्षमा पर्यटनको दुई मुख्य सिजन हुन्छ । एउटा अप्रिल–मे (वैशाख–जेठ)मा र अर्को सेप्टेम्बर–अक्टोबर (दशैं अगाडि) । तर सिजनको मुखैमा आन्दोलन भएकाले केही दिनमै व्यापारमा २०/२५ प्रतिशत कमी आएको उनले बताए ।
आन्दोलनका कारण व्यापारमा कमी हुनुका साथै यस्तो माहोलले नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने उनले धारणा राखे । तर उनी केही आशावादी पनि सुुनिए ।
यदि अन्तरिम सरकार भए पनि तुरुन्तै गठन भएर शान्ति सुरक्षा कायम भएमा अहिले अनुमान गरिए जस्तो ठमेलले क्षति नभोग्ने उनको भनाइ छ । उनको सातघुम्ती चोकमै कपडा पसल रहेको छ ।
रिक्सा र ठेला श्रमिक पनि मर्कामा
त्यस्तै त्यही अवस्थित काठमाडौं गेस्ट हाउसको गेट नजिकै ठेलामा फास्ट फुड बनाइरहेका भेटिए, सप्तरी घर बताउने हिरालाल यादव । हामी पुग्दा उनले ठेला सडकमा निकालेको एक घण्टा जति पनि भएको थिएन ।
तर, सदा त्यसबेलासम्म राम्रै व्यापार गर्ने उनले आज खासै व्यापार हुन नसकेको भए । मुस्किलले ३/४ जना मात्र स्थानीय मान्छे खान आएको बताए । अनि बेलाबेला सेना तथा प्रहरीहरू आएर सास्ती दिने पनि उनले सुनाए ।
ठमेलमै भेटिएका ३९ वर्षका हरि गोपालको मुख्य पेशा रिक्सा चलाउनु हो । हामीसँगको कुराकानी अघि उनी आफ्नो रिक्सामा ढल्किएर मोबाइल फोन चलाइरहेका थिए ।
अन्य दिनहरूमा त्यसरी कमै फुर्सद पाउने उनले आन्दोलन पछि भने स्वात्तै रिक्सामा पर्यटक पाउन कमी भएको बताए ।
उनले आफू जस्तो दैनिक काम गरेर खाने व्यक्तिहरूलाई आन्दोलनले गम्भीर असर पार्न थालेको सुनाए । बाहिरको अवस्था ठीक नभएकाले प्राय: पर्यटक पनि होटल भित्रै बस्नु र बाहिरबाट मान्छेहरू ठमेलमा नआउनुले आफ्नो व्यापार घटेको उनको विश्लेषण छ ।
‘हाम्रो कमाइको खासै त्यस्तो ठेगान त हुँदैन,’ उनले भने, ‘तर पहिले मान्छेहरूको ठूलो भिड हुन्थ्यो । कोही न कोही चढिहाल्थे । तर अहिले त दिनमा बोहनी नै नहुने अवस्था छ ।’
प्राय:जसो दैनिक १२ देखि १३ घण्टा काम गर्ने उनले अर्को समस्या पनि सुनाए । उनका अनुसार कोही कोही पर्यटकहरू ठमेलबाट अलि दुरीमा रिक्सामार्फत सफर गर्न रुचाउँछन् । त्यस्तो सफर कहिलेकाहीँ बौद्ध, स्वयम्भूसम्म पनि पुग्छ । तर हालको माहोलमा त्यस्तो मौका आए पनि आफू जान नसक्ने उनले सुनाए ।
छैनन् सारङ्गी सुन्ने
परम्परागत बाजा सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदाय पनि ठमेलमा धेरै नै छन् । उनीहरू आफू पनि आन्दोलनका कारण आर्थिक सङ्कट र अनिश्चितताको सामना गरिरहेको सुनाउँछन् ।
सुरेश गन्धर्व आफ्ना अन्य केही साथीहरूसँगै छायाँदेवी कम्प्लेक्स अघि भेटिए । तर अहिले पहिलेझैं डुल्दै सारङ्गी बजाउन नमिल्ने अवस्था सिर्जना भएको उनले सुनाए ।
‘सबै सटर बन्छ । होटल, रेस्टुरा पनि खासै खुलेको छैन । बाटोमा पनि खासै मान्छे छैनन् । अनि दिनमै यसरी काम गरेर खानी हामीहरूले कसरी कमाउने?’ उनले आफ्नो दु: ख सुनाए ।
त्यस्तोमा उनले नेपालमा अहिले जे भइरहे पनि चाँडै शान्ति आओस् भन्ने कामना गरे ।
स्थानीयसँगै हामीले विदेशी पर्यटकहरूसँग पनि आन्दोलनपछिको उनीहरूको मनोविज्ञान र अवस्थाबारे बुझ्न कोसिस गरेका थियौं । तर, मिडिया भने पछि धेरै जना बोल्न मानेनन् ।
सम्भवत: परिस्थिति प्रतिकूल भएका कारण उनीहरू बोल्न नमानेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय गाइडले हामीलाई बताए ।
स्वदेश फर्कने सोचमा विदेशी पर्यटक
तर हाम्रो अनुरोध पछि उनै गाइडले दुई जना पर्यटकसँग जतोसतो कुराकानी गर्ने वातावरण मिलाइदिए ।
तीमध्ये गत बुधवार मात्रै नेपाल आइपुगेकी २९ वर्षीया जापानिज नागरिक हानाले अहिलेको अवस्थाका कारण आफू पोखरा जान नपाएको बताइन् । उनी यो हिजो बुधवार नै पोखरा जानुपर्ने थियो । उनले पोखरामा होटलसमेत बुक गरिसकेकी थिइन् । तर पोखरामा समेत आन्दोलन चर्किएर कर्फ्यु लागेपछि ठमेलमा बसाइँ लम्बिएको उनले सुनाइन् ।
त्यस्तै क्यानाडाबाट आएका लुकास नेपाल आएको दुई हप्ता बढी भइसकेको छ । उनी करिब एक महिना नेपाल बस्ने योजनाका साथ आएका थिए । तर अब नेपालको राजनैतिक अवस्था ठीक नभएका कारण मिलेसम्ममा अर्को हप्ता स्वदेश फर्कने उनले सोचिसकेका छन् ।
किन ? भन्ने प्रश्नमा उनले नेपालको अवस्था ठीक नभएको बताउँदै केही दिनयता अलि अराजक हर्कत गर्ने व्यक्तिहरू देखापरेको सुनाए । लुकासले भने जस्तै हामी रिपोर्टिङकै क्रममा रहँदा दुई जना त्यस्तै व्यक्ति पनि देखिए ।
एक जना यहाँ लेख्नै नसकिने गाली गर्दै सडक बिचमा हल्लिरहेका देखिए भने भने अर्को एक जना पसलको मान्छेसँग झगडा गर्न खोज्दै थिए । तर नेपालको प्रचार गर्न भूमिका खेल्ने ठाउँ ‘ठमेल’मा त्यस्तो अराजक हर्कत हुँदै गर्दा सुरक्षाकर्मी कतै देखिएनन् ।
बरु उल्टै पर्यटकहरू अलि परै उभिएर बाटो मोड्न खोजिरहेको देखिए । यी सबैले आन्दोलनका कारण ठमेल विस्तारै ‘ऐंठन’मा पर्ने सङ्केत दिइरहेको थियो ।
प्रतिक्रिया 4