
३० साउन, काठमाडौं । ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङसहितका चार जना धरौटीमा छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।
सानुभाइलाई २५ हजार र अन्य तीन जनालाई २० हजार धरौटीमा रिहा गर्न आदेश भएको हो ।
अन्य तीन जनामा दिलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।
उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको थियो ।
१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा उनीहरुले आपसमा झगडा गरेको आरोप थियो । सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । पक्राउ परेका दिलकुमार र रवीन्द्र राजेन्द्र गुरुङ समूहका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
पुरानो रिसइबीका कारण उनीहरूबीच दोहोरी साँझभित्रै हानाहानको अवस्था आएको थियो । त्यसपछि राजेन्द्रले चक्कु समाउँदै आक्रमणको प्रयास गरेका थिए । दोहोरी साँझका बाउन्सरले उनीहरूलाई बाहिर निकाल्दै प्रहरीलाई खबर गरेका थिए ।
यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरू दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4