Comments Add Comment

मसालले भन्यो : एमाले र माओवादी एकता रोक्न देशी विदेशी षड्यन्त्र

'एकता नभए पनि सरकार नढलोस्'

९ वैशाख, काठमाडौं । नेकपा मसालले एमाले र माओवादी केन्द्रबीचको एकता असफल पारेर कम्युनिष्ट सरकार विघटन गराउने षड्यन्त्र भइरहेको बताएको छ ।

वैशाख ८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले दुई पार्टीको एकतासम्बन्धी प्रयासमा देखा पर्ने वाधा वा विभाजनले राजनीतिक अस्थीरता हुनेतर्फ सचेत गराएको छ ।

‘प्रतिक्रियावादीहरूले उनीहरूको पार्टी एकताको प्रयासलाई असफल पार्न प्रयत्न गर्नुका पछाडिको मुख्य उद्देश्य वामपक्षीय सरकारलाई विघटन गराउनु नै हो’ बैठकपछि जारी महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ ‘हाम्रो मुख्य चिन्ताको विषय यो हो, उनीहरूको पार्टी एकतासम्बन्धी प्रयासमा देखापर्ने बाधा वा विभाजनले सरकारको नै विघटन नहोस् र देशमा राजनीतिक अस्थिरताको वातावरण तयार नहोस् ।

एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको एकता घोषणा देशी विदेशी षड्यन्त्र र दुई पार्टीबीचको भागवण्डासम्बन्धी मतभेदका कारण नभएको मसालले बताएको छ ।

मसालले पार्टी एकता हुन नसके पनि अहिलेको गठबन्धन सरकार भने कायम रहनुपर्ने बताएको छ । ‘हाम्रो जोड यो कुरामा छ, उनीहरूका बीचमा पार्टी एकता सफल हुन नसके वा ढिला भएपनि संयुक्त मोर्चाको रूपमा अहिलेको वामपक्षीय गठबन्धन सरकार कायम रहनुपर्दछ’ मसालले भनेको छ ।

सरकार विघटन भएमा प्रतिक्रियावादीहरूलाई मद्दत पुग्नुका साथै गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत बाधा पुग्ने मसालले ठहर गरेको छ । ‘यदि त्यस प्रकारको स्थितिको सिर्जना भयो भने जनताले वामपक्षीय शक्तिहरूमाथि गरेको विश्वासमाथि ठूलो धोखा हुनेछ र त्यसको दीर्घकालिन दुष्परिणाम हुनेछ’ मसालले भनेको छ ।

मसालले काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ ठाउँमा मात्र सभा जुलुस गर्न पाइने भनी गरेको निर्णयको विरोध गर्दै यसलाई अप्रजातान्त्रिक भनेको छ । उसले सिण्डिकेट प्रणालीलाई समाप्त गर्न सरकारले लिएको कदमलाई पनि समर्थन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment