Comments Add Comment

मुम्बईविरुद्ध राजस्थानको रोमान्चक जित, गौतमले पल्टाए पासा

फोटो: बीसीसीआई

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तीन विकेटको रोमान्चक जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । राजस्थानले १६८ रनको विजय लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्‍यो ।

राजस्थानको ६ म्याचमा यो तेस्रो जित हो भने मुम्बईलाई पाँच म्याचमा चौथो हारको सामना गर्नुपरेको छ ।

राजस्थानको जितमा सन्जु सामसनले ५२ रनको शानदार अर्धशतक बनाए । यसैगरी बेन स्टोक्सले ४० र कृष्णप्पा गौतमले ११ बलमा अविजित ३३ रनको पारी खेले ।

३९ बलको सामना गरेका सन्जु सामसनले चार चौका प्रहार गर्दा स्टोक्सले २७ बलमा तीन चौका र एक छक्का हाने । कृष्णप्पा गौतमले चार चौका र दुई छक्काको मद्दतमा ११ बलमा ३३ रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराह र हार्दिक पाण्ड्याले दुई-दुई विकेट लिए भने मिचेल मेक्लेंघन, क्रुणाल पाण्ड्या, मुस्ताफिजुर रहमानले एक-एक विकेट झारे ।

गौतमले पल्टाए पासा

कृष्णप्पा गौतमले ११ बलमा अविजित ३३ रनको धमाकेदार पारी खेलेर रोमान्चक जित दिलाए । सन्जु सामसन र बेन स्टोक्सले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेपनि राजस्थान अन्तिम ओभरमा ब्याकफुटमा देखिएको थियो ।

गौतमले त्यतिबेला टिमलाई सम्हाले जतिबेला १७ बलमा ४३ रन आवश्यक थियो । तर, उनले नै म्याचको पासा पल्टाइदिए । उनले चार चौका र दुई छक्का प्रहार गर्दै टिमको स्कोर १९ ओभर ४ बलमा सात विकेटमा १६८ रनका लक्ष्यसम्म पुर्‍याए ।

गौतमले मुस्ताफिजुर रहमानको १८ औं ओभरको अन्तिम दुई बलमा छक्का र चौका लगाए । फेरि जसपि्रत बुमराहको अर्को ओभरमा पनि दुई चौका हाने । अब राजस्थानकालागि अन्तिम ओभरमा दस रन आवश्यक थियो । गौतमले हार्दिक पाण्ड्याको बलमा सुरुमा चौका र फेरि मिडविकेटमा छक्का प्रहार गरेर जित दिलाए ।

राजस्थानको खराब सुरुआत

१७८ रनको लक्ष्य पछ्याएको राजस्थानको सुरुआत भने राम्रो थिएन । ३८ रन बनाउँदा राजस्थानले दुई विकेट गुमाइसकेको थियो । त्यसपछि सन्जु सामसन र बेन स्टोक्सले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । म्याच त्यो समयमा रोमान्चक भयो की जसप्रित बुमराहले १६ ओभरको दोस्रो र तेस्रो बलमा लगातार दुई विकेट लिएर राजस्थानलाई हारको बाटोतर्फ धकेले । बुमराहले यस ओभरमा मात्र एक रन दिएर दुई विकेट चट्काएका थिए ।

तर, राजस्थानलाई अन्तिम दुई ओभरमा जितका लागि २८ रन चाहिएको बेला गौतमले ११ बलमा चार चौका र दुई छक्का हानेर राजस्थानलाई जिताएरै छाडे ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले २५ रन दिएर २ विकेट लिए भने बुमराहले २८ रन दिएर २ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । सूर्यकुमार यादवले ७२ र इशान किसनले ५८ रन बनाए । सूर्यकुमार र किसनले दोस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।

यसैगरी किरन पोलार्डले अविजित २२ रन बनाए । इविन लुइस खाता खोल्न नपाइ आउट भए । उनलाई धवल कुलकर्णीले बोल्ड गरे । कप्तान रोहित शर्मा पनि खाता खोल्न नपाइ रनआउट भए ।

बलिङतर्फ आईपीएलमा डेब्यू गरेका राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यसैगरी धवल कुलकर्णीले ३२ रन दिएर दुई विकेट झारे भने जयदेव उनादकटले ३१ रन दिएर एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment