Comments Add Comment

सिसा उद्योग र रिसोर्ट खोल्न सम्भाव्यता अध्ययन गर्दै सरकार


११ वैशाख, काठमाडौं । लगानी बोर्डले देशमा नै सिसा उद्योग स्थापना गर्नका लागि संभाव्यता अध्ययन गर्न लागेको छ । उद्योग स्थापनाका लागि बिस्तृत संभाव्यता अध्ययन गर्न अहिले परामर्शदाता कम्पनी छनौट गर्न लागिएको छ ।

आगामी बोर्ड बैठकमा लगानी बोर्डले परामर्शदाता कम्पनी छनौट गर्नका लागि कार्यादेश र एक्सप्रेसन अफ इन्ट्रेस्ट पेश गर्न लागेको छ । बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेका अनुसार यो पास भएसँगै बोर्डलाई परामर्शदाता कम्पनी छनौट गर्ने बाटो खुल्ने छ ।

यस अघिका प्रारम्भीक अध्ययनहरुबाट बाग्मतीको बालुवामा नै सिसाका कणहरु रहेको देखिएको वाग्ले बताउँछन् । उनले भने ‘ देशमै सिसा उद्योग खोल्ने उद्देश्य सहित हामीले संभाव्यता अध्ययनको काम अघि बढाउन लागेका छौं , बोर्डले अनुमति दिने बित्तिकै यसका लागि कम्पनी छनौट गरिनेछ । ’

बाग्मती बाहेक अन्य नदिमा समेत उक्त कम्पनीले संभाव्यता अध्ययन गर्नेछ । देशका विभिन्न नदि र भुभागमा अध्ययन गरि सिसा उद्योग के कति संभव छ भनेर उक्त कम्पनीले अध्ययन गर्नेछ ।

प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण अहिले बोर्डको बैठक बस्न सकेको छैन । जसका कारण यसको प्रक्रिया अघि बढ्न सकेको छैन । आगामी बोर्ड बैठकमा यो सँगै अन्य आयोजनाको समेत संभाव्यता अध्ययनको अनुमति माग्न लागिएको छ ।

प्रवक्ता वाग्लेका अनुसार लगानी बोर्डले हिमाली क्षेत्रमा बनाइने इस्कि रिसोर्टको समेत अध्ययन गर्न लागेको छ । जसको पनि संभाव्यता अध्ययनको लागि परामर्शदाता कम्पनी छनौट गर्ने योजनामा छ , लगानी बोर्ड ।

तर , यस्तो रिसोर्ट कुन स्थानमा बनाउने भनेर चाही अहिले कुनै निश्चीत भएको छैन । देशका विभिन्न हिमाली भेगमा अध्ययन गरेर यसको के कति संभाव्यता छ भनेर अध्ययन गरिने छ ।

साथै डोल्पा जिल्लामा पर्ने से फोक्सुन्डो तालमा पनि रिसोर्ट निर्माण गर्ने बोर्डको योजना छ । जसका लागि पनि संभाव्यता अध्ययन गर्ने परामर्शदाता कम्पनी छनौट गर्न लागिएको छ ।

सार्वजनिक निजी साझेदारी ( पिपिपि ) मोडलमा रिसोर्ट खोल्नको लागि अध्ययन गर्न लागिएको हो । पर्यटक मन्त्रालयको आग्रह अनुसार यसको अध्ययन अघि बढाउन लागिएको बोर्डका अधिकारीहरु बताउँछन् ।

साथै नागढुंगा देखि धुलीखेलसम्मको रेलमार्ग निर्माणका लागि पनि परामर्शदाता कम्पनी छनौट गर्न लागिएको छ । उक्त कम्पनीले रेल मार्ग निर्माणका लागि बिस्तृत सम्भाव्यता अध्ययन गर्नेछ ।

गत २७ कात्तिकमा सरकारले उक्त आयोजना लगानी बोर्डमार्फत् अगाडि बढाउने निर्णय गरेको थियो । यसको संभाव्यता अध्ययनका लागि करिब एक वर्ष लाग्ने वाग्ले बताउँछन् ।सम्भाव्य देखिए वर्षदिनभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पार्ने पनि बोर्डको योजना छ ।

बोर्डले काठमाडौंमा रेलमार्गबारे एक अध्ययन प्रतिवेदन यसअघि नै तयार पारेको छ, जसलाई १० पुसको बोर्ड बैठकमा पेश गरिएको थियो ।

वाग्लेले बताएअनुसार नागढुंगा– धुलिखेल रेलमार्गको लम्बाइ ७९ किलोमिटर हुनेछ । त्यसको निर्माण लागत तीन खर्ब १६ अर्ब रुपैयाँ अनुमानित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment