Comments Add Comment

प्रदेश प्रमुख कोइरालाद्वारा संसद्मा सम्बोधन

११ वैशाख, हेटौँडा ।  प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले देश र प्रदेशको विकासका लागि विभाजित नभई अघि बढ्नुको विकल्प नरहेको बताएकी छन् ।

मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आपसी एकता र समझदारी कायम गर्दै विकास र समृद्धिको चरणमा अघि बढ्नुपर्नेमा जोड दिएकी हुन् ।

भूकम्प गएको तीन वर्ष भइसक्दा पनि ३० प्रतिशत भूकम्पपीडितले मात्रै आंशिक अनुदान पाएको भन्दै उनले उनीहरुलाई यथाशीघ्र छानामुनि ल्याउन जरुरी रहेको धारणा व्यक्त गरिन् ।

प्रदेश ३ को शीघ्र विकासका लागि यस प्रदेशलाई महत्वपूर्ण सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेको बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीति लागू गरी भूमिको व्यवस्थापनलगायतका कार्यक्रम लागू गर्ने नीति सरकारले लिएको उनले बताइन् ।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्रदेश विकासको व्यवस्थित अवधारणा अघि सार्ने बताइन् ।

मंगलबार नै बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुखको सम्बोधनको प्रति टेबुल गरेका थिए । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले प्रदेश प्रमुख कोइरालाप्रति धन्यवाद प्रस्ताव राखेका थिए ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सदस्यको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनी मन्त्रिपरिषद् बैठकले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

प्रदेशसभा बैठक वैशाख १३ गतेसम्म ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रदेश ३ को लोगो र पोशाक निर्धारण 

प्रदेश नं ३ को बैठकले संसद्का लागि पोशाक र लोगोको निर्धारण गरेको छ ।

सोमबार सभामुख श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संसद्का लागि पोशाक र लोगो निर्धारण गरेको हो । निर्धारण गरिएको लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिर र स्वयम्भूको आँखा अंकित चित्र रहेको छ ।

पोशाकमा कालो कोट, कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल राखिएको छ । विशेष समारोहमा खैरो कोटसमेत लगाउनुपर्ने सभामुख श्रेष्ठले बताए ।

त्यसैगरी महिलाले आफ्नो वेशभूषाअनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment