Comments Add Comment

मुहान सुकेपछि डडेल्धुराका अधिकांश स्थानमा खानेपानी अभाव

१३ वैशाख, डडेल्धुरा । गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् ।

केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाइ छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन् । जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट (डोजर) को प्रयोग गरी सडक निर्माण हुने क्रम बढेसँगै पानीका मुहान सुक्न थालेका हुन् ।

केही वर्ष यतादेखि डडेल्धुरामा पानी सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख राजकुमार शाक्यले बताए । जंगलमा जथाभाबी सडक निर्माण हुनु र हेभी इक्युपमेन्टको प्रयोगले मुहानक्षेत्रको भू–भाग कम्पनका कारण प्रभाव पर्दा पानीका मूलमा असरपरी सुक्न थालेको विशेषज्ञहरु बताउँछन् ।

डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकिसकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन् । केही वर्ष यतादेखि पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ ।

पानीका मुहान सुक्न थालेसँगै खानेपानीको अभाव हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् ।

पुर्खौँदेखि सञ्चालनमा रहेका पानीका मूलहरुमा समेत खानेपानी अभाव हुन थालेको नवदुर्गा १ सुनकोटका स्थानीयबासीले बताउँछन् ।

खानेपानीका मुहानमा पानीको सतह कम भएसँगै जिल्लामा निर्माणका लागि सर्वे भएका केही खानेपानी योजनाको निर्माण कार्य बन्द भएको छ । खानेपानीको अभावसँगै स्थानीय बासिन्दा घण्टौँको दूरीबाट खानेपानी ल्याएर खान बाध्य भएका छन् ।

समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविश्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभाव हुने खानेपानी डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment