Comments Add Comment

ट्रम्पको ‘राष्ट्रवाद’लाई म्याक्रोनको चुनौती: अतिवादको उन्मादबाट क्षति पुर्‍याउन दिँदैनौं !

फ्रान्समाथि अमेरिकी दबाव काम लागेन, ट्रम्प उल्टै दबावमा

१३ वैशाख, काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिल्याउँदै आफ्नो तीन दिने अमेरिका भ्रमण सकेका छन् ।

सिरिया युद्धलगायतका अन्तरराष्ट्रिय मुद्दाहरुमा सैन्य सहकार्य गर्दै आएका दुई देशका राष्ट्रपतिवीच संयुक्त पत्रकार सम्मेलनमा निकै राम्रो मित्रता जमेको थियो । ट्रम्पले म्याक्रोनलाई ‘हग’ गरेका थिए भने म्याक्रोनले ट्रम्पलाई हल्का ‘किस’ गरेको दृश्य टेलिभिजनमा देखिएका थिए । तर, दुई राष्ट्रपतिले गरेको अंकमाल राजनीतिमा भने जम्न सकेन ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले आफ्नो तीनदिने अमेरिका भ्रमणको अन्तिम दिन अमेरिकी संसदलाई सम्वोधन गरे । यस क्रममा उनले डोनाल्ड ट्रम्पको नीतिमाथि तीव्र असहमति प्रकट गरे ।

भाषणका लागि म्याक्रोन अमेरिकी संसदमा छिर्दा तीन मिनेटसम्म उभिएर अमेरिकी सांसदहरुले स्वागत गरेका थिए । म्याक्रोनले संसदमा करिब ५० मिनेट बोले ।

इरानलाई एक्ल्याउन ट्रम्प असफल

सन् २०१५ मा युरोपियन युनियनको अगुवाइ र अमेरिकाको समेत संलग्नतामा इरानसँग गरिएको ‘न्युक्लियर डिल’ आफ्नो देशले नमान्ने अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिइरहेका छन् । र, यसमा फ्रान्सले पनि आफूलाई समर्थन जनाउनुपर्ने ट्रम्पले दबाव दिँदै आएका थिए ।

यसैक्रममा इरानबारे आफ्नो लाइनमा जर्मनीको समर्थन खोज्न ट्रम्पले जर्मन चान्सलरलाई यसै साता अमेरिकामा स्वागत गर्ने कार्यक्रम छ । तर, म्याक्रोनको असहमतिसँगै अब इरानमाथिको ट्रम्पको धम्की फिका बन्ने सम्भावना बढेको छ ।

अमेरिकाले इरानसँग भएको परमाणु सम्झौता रद्द गर्ने धम्की दिइरहेको भए पनि फ्रान्सेली राष्ट्रपति म्याक्रोनले विनाकुनै विकल्प यो सम्झौता त्याग्न नहुने भन्दै ट्रमको लाइनप्रति सार्वजनिकरुपमै असहमति जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले इरानसँगको परमाणु सम्झौताका साथै अन्तरराष्ट्रिय व्यापार, राष्ट्रवाद र अतिवादका विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पको लाइनप्रति खुलेर असहमति जनाएका छन् ।

ट्रम्पको ‘राष्ट्रवाद’माथि म्याक्रोनको कटाक्ष

म्याक्रोनले ट्रम्पको ‘राष्ट्रवाद’ माथि अमेरिकी संसदमा कटाक्ष गरे । उनले भने ‘निजीरुपमा मलाई नयाँ शक्तिशाली देश बन्ने, स्वतन्त्रता छाड्ने या राष्ट्रवादको भ्रमको कुनै आकर्षण छैन ।

आफ्नो भ्रमणको तेस्रो दिन अमेरिकी संसदमा ५० मिनेट भाषण गर्ने क्रममा फ्रान्सका तरुण राष्ट्रपतिले अमेरिकाका वृद्ध राष्ट्रपतिसँग तीव्र असहमति जनाउँदै भने- ‘हामी अतिराष्ट्रवादको उन्मादबाट संसारको उत्साहलाई क्षति पुर्‍याउँन दिँदैनौं ।’

अमेरिकी संसदमा राष्ट्रपति म्याक्रोनले भने- ‘अलग रहनु, कसैलाई अलग-थलग गरिदिनु या राष्ट्रवाद हाम्रो डरलाई हटाउनका लागि अस्थायी विकल्प हुन सक्छ । तर, संसारका लागि आफ्नो ढोका बन्द गरेर हामी संसारलाई अघि बढ्नबाट रोक्न सक्दैनौं । यसले हाम्रा नागरिकहरुको डरलाई कम गर्दैर्न, बरु बढाउँछ ।’

धर्ती नै नरहे जिन्दगीको के अर्थ ?

अमेरिकी संसदमा बोल्न पाएका युवा राष्ट्रपति म्याक्रोनले इरानसँगको परमाणु सम्झौतामा मात्रै ट्रम्पसँग असहमति जनाएनन्, ट्रम्पले पर्यावरणसम्बन्धी पेरिस सम्झौता रद्द गरेकोमा समेत तीव्र असहमति जनाए ।

अमेरिका क्लाइमेट चेञ्जसम्बन्धी पेरिस सम्झौतामा फेरि र्फकने म्याक्रोनले बताए । यो सम्झौता ट्रम्पले रद्द गरेका थिए । ट्रम्पको निर्णयलाई विरोध गर्दै फ्रान्सेली राष्ट्रपतिले भने- ‘मलाई आशा छ, अमेरिका एकदिन पेरिस सम्झौताको हिस्सा बन्ने छ ।’

पर्यावरणको महत्वबारे अमेरिकालाई सम्झाउँदै म्याक्रोनले त्यहाँको संसदमा भने, ‘यदि हामी हाम्रो धर्तीलाई बर्वाद गरिरहेका छौं भने हाम्रो जिन्दगीको अर्थ के रहन्छ ?’
उनले अगाडि भने, ‘हामी आफ्ना सन्तानहरुको भविश्यलाई दाउमा लगाइरहेका छौं । हामीले स्वीकार्नुपर्छ, अर्को कुनै धर्ती छैन । भविश्यमा हामी सबै एउटै सच्चाइको सामना गर्नुपर्नेछ । किनकि हामी सबै यही धर्तीमा छौं ।’

‘व्यापार युद्धबाट केही फाइदा छैन’

अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली मुलुक एवं चीनबाट अमेरिका जाने सामानमा भन्सारको दर बढाएकोमा पनि म्याक्रोनले असहमति प्रकट गरेका छन् ।

ट्रम्पले ‘व्यापार युद्ध’ सजिलै जितिने बताउँदै आएका बेला म्याक्रोनले अमेरिकी संसदमा उभिएर भने कि ‘व्यापार युद्ध’ कुनै समाधान होइन । यसले केवल रोजगारी गुम्छ र महंगी बढाउँछ ।

ट्रम्प प्रशासनलाई म्याक्रोनको सुझाव थियो- ‘हामीले विश्व व्यापार संगठनको माध्यमबाटै समाधान खोज्नुपर्छ । हामीले नै ती नियमहरु लेखेका हौं भने त्यसलाई मान्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

जब अमेरिकामा म्याक्रोनलाई दलाई लामाबारे सोधियो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment