+
+

पर्वतको पार्वती गुफामा अक्षरयात्रीका रचना

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते १९:२४

अमृत बसोस्, जहर नपसोस्
फाँटहरु निल्ने रहर नपसोस्
हाम्रा यी सुन्दर गाऊँहरुमा
विकास पसोस् सहर नपसोस्
पोखरादेखि अक्षरयात्रामा पाङ गाउँ र पार्वती गुफा पुगेपछि कवि वसन्त गौतमलाई यो मुक्तक फुर्‍यो । पार्वती गुफामा भएको अक्षरयात्रामा गाउँको स्वाद लिएपछि सहरको विकृतिलाई ब्यंग्य गर्दै गौतमले यो मुक्तक सुनाए । स्थानीय तथा गाउँलाई विकास गर्न कस्सिएका जनप्रतिनिधि आफ्नै गाउँमाथि लेखिएका कविता सुनेर दंग परे ।

अक्षरयात्रा साहित्यिक अभियानको ब्यानर लिएर पोखरादेखि थुप्रै साहित्यकार कुस्मा नगरपालिकाको वडा नम्बर १ पाङ र २ को खुर्कोटको साँधमा भएको पार्वती गुफामा पुगे ।

‘जीवन र जगतको यथार्थ वोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ २०६२ सालदेखि गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएको छ । कुस्मा नगरपालिका वडा नम्बर १ र २ का जनप्रतिनिधिले पार्वती गुफाको पर्यटकीय सम्भावनालाई उजागर गर्न साहित्यलाई जोडेर अक्षरयात्रालाई चाँजो मिलाएका थिए ।
ज्योतिष गाउँका रुपमा पनि परिचित पाङमाथि कवि सञ्जीव पौडेलले कविता बोले,

पाङका फाँटमा माटो कहिले भिज्छ
भन्न सक्तैनन् ज्योतिष बा
इन्द्रप्रसादहरु जहान कुश्मा झारेर
तर्नु पर्दैन सात समुन्द्र
चिना, टिपन, आखत सबै हेरेर पनि
आफ्नै भविष्य बताउन सक्तैन
पाङको ज्योतिषशास्त्र

साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात गर्दै देशका विभिन्न ठाउँमा पुग्दै आएको अक्षरयात्राको १ सय ५३ औं श्रृङ्खलामा पार्वती गुफा पुगेका यात्रीले झन्डै ४ दर्जन साहित्यिक रचना सुनाए ।

पार्वतीको जन्मभूमि र महादेव स्वामी पाउँ भनेर पार्वतीले तपस्या गरेका गुफाका रुपमा परिचित पाङको पर्वती गुफा पुगेर अक्षरयात्रीले त्यहाँको सम्भावनालाई रचनामा उतारेर सुनाए ।

पाङ गाउँको मौलिक स्वाद र त्यहाँको अवस्था सिर्जनामार्फत पस्किँदा गाउँलेले ताली बजाएर समर्थन जनाए । कविले पाङको आवाजलाई कवितामार्फत प्रस्तुत गरे । पाङलाई जोडेर साहित्य रचना सुन्न पाउँदा स्थानीयले खुसी माने

अक्षरसँगै मितेरी लाउन पाएकोमा
सुन्दरताको बयान गाउन पाएकोमा
तपाईंको के छ कुन्नी मेरो भुइँमा खुट्टै छैन
शिवजीको ससुराली आउन पाएकोमा

मुक्तककार मिर्मिसा पराजुलीले यो मुक्तक सुनाउँदा मोहोल रोमाञ्जक बन्यो । अक्षरयात्री र स्थानीयले हाँसोको फोहोरा छोड्दै ताली बजाए ।

कवि दीपक समीप, प्रकट पंगेनी शिव, गनेस पौडेल, ईश्वरमणि अधिकारीले पाङको सम्भावना, पार्वती गुफाको आकर्षण र पाङबाट देखिने देशलाई कवितामार्फत प्रस्तुत गरे । कवि कल्याण पन्त, कपिल शर्मा, उदीपराज ढुंगाना, सौगात पोखरेल, शंकर गिरी, भरत आचार्य, भरत पोखरेल, केआर ढकाल, अनिता दाहाल, माया कुँवर, मनिस गौतम, मोहन भण्डारी लगायत ४० भन्दा बढी साहित्यकारले मौलिक र स्थानीय स्वादको रचना सुनाए ।

अक्षरयात्रा अभियानले साहित्यका माध्यमबाट स्थानीय सम्भावना, समस्या र प्रचारप्रसारसँगै सिर्जनाको वृद्धि विकास गर्दै आएको गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले बताए । अर्को आयोजक संस्था नवनीति साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले १२ वर्षदेखि अक्षरयात्रा जीवन र जगत बुझेर त्यसलाई सिर्जनामा उतार्ने महत्वपूर्ण पोखरेली अभियान बनेको जानकारी गराए ।

कुश्मा वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीले अक्षरयात्रीलाई स्वागत गर्दै पार्वतीको जन्म भएको र तपस्या गरेको गुफा पर्यटकको पखाइमा रहेको बताए । वडा नम्बर २ का अध्यक्ष यदुनाथ शर्मा बास्तोलाले धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको गुफा प्रचारका अभावले छाँयामा परेको बताए ।

पार्वती गुफा व्यवस्थापन तथा पर्यटन विकास समितिका अध्यक्ष छविलाल पौडेलले हालसालै गुफामा शिवजीको मूर्ति फेला परेको बताए । गुफा हिन्दु सनातन धर्माबलम्बीको प्रमुख गन्तव्य बन्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?