Comments Add Comment

नारायणी लिफ्ट : नचाहिँदा भरी पानी आउने, चाहिँदा छैन

प्रचण्ड भन्छन्ः यो गम्भीर विषय हो

१६ वैशाख, काठमाडौं । जब असार र साउन लाग्छ, तब चितवनको समथर भूभागमा पानी तालिन थाल्छ । खेतबारीहरु जलमग्न हुन्छन् ।

हो यही बेला नारायणी नदी किनारमा सिञ्चाईका लागि बनाइएको नारायणी लिफ्ट अन्र्तगतको नहरमा पानी छाडिन्छ । आकाशबाट परेको पानी पनि यही नहरमा पुग्छ । पानी कता लगेर तर्काउने भन्ने समस्यामा पिरोलिन्छन्, यहाँका स्थानीय ।

तर, जब हिउँदको सुख्खा सिजन सुरु हुन्छ, यतिबेला यो नहरमा कमिला दौडिन्छ । किसानहरुलाई पानी चाहिएको हुन्छ तर, नहरमा पानी हुँदैन । भरतपुर महानगरपालकाको अधिकांश क्षेत्र पर्ने पश्चिम चितवन यतिबेला सुख्खा छ । ५ सय मिटर नजिक नारायणी नदी बगिरहेको छ तर, नहरमा पानी छैन ।

अनौठो त के छ भने नहरका कर्मचारी मर्मत सम्भार भनेर असारसम्म कुर्छन् । मर्मतका नाममा वाषिर्क २ करोड रकम आउँछ । जतिबेला नारायणीले बालुवा लिएर आउँछ, त्यही बेला नहर चल्छ ।

बालुवा गएर भरिन्छ र फेरि मेसिन बिग्रन्छ । यदि हिउँदमा नहर चलाउने हो भने त नारायणीले बालुवा बोकेर ल्याउँदैन, नत मेसिन बिग्रन्छ, नत मर्मतका पैसा नै माग्नुपर्छ ।

के हो नारायणी लिफ्ट ?

२०३५ सालबाट निर्माण सुुरू भई २०४० सालमा सञ्चालनमा आएको नारायणी लिफ्टमा पानी तान्नका लागि चारवटा पम्प छन् । दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने छ ।

पश्चिम चितवन क्षेत्रमा सिचाई सुविधा उपलब्ध गराउन भनेर ५२ करोडको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल छन् । नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६.५ किलोमिटर लामो छ । नारायणी लिफ्टको पानि बी र सी नहरका लागि विभाजन हुन्छ ।

बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फुलवारीसम्मको जमिनमा सिंचाई सुविधा उपलब्ध गराउँछ भने सी नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ छेउ हुँदै गौरीगञ्जसम्म सिञ्चाई पुर्‍याएको छ ।

भरतपुर महानगरपालिका-१ मा रहेको जोरकुसुम पार्क नजिक नारायणी नदीको पानी २२ मिटरमाथि लिफ्ट गरेर मुख्य नहरमा ल्याइन्छ ।

त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ । १८ मिटरमाथि लिफ्ट गरेर सी नहरबाट र लिफ्ट नगरी बी नहरबाट पानी पठाइन्छ ।

नहर अतिक्रमण हुनुअघि नारायणी लिफ्टले चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो । अहिले तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।

तर, यो घट्ने क्रम जारी छ । नारायणीबाट लिफ्ट गरेको पानीलाई खगेरी सिञ्चाईमा लगेर थप ३ हजार हेक्टरभन्दा बढी खेतमा सिञ्चाई गर्न पनि सकिन्छ । हिउँदमा खासै पानी हुँदैन । तर, नारायणीको पानी लैजान सके पश्चिम चितवनको अधिकांश भूभागमा सिञ्चाई गर्न सकिन्छ ।

नारायणी नहरको पानी राधापुर र देवनगरमा रहेका दुई लिंकेज लाइनबाट खगेरीमा हाल्न सकिन्छ ।

मेसिन पुरानो भएको र पम्प बिग्रने कारणले नारायणीको पानी हिउँदमा लिफ्ट गर्न नसकिएको बताउँछन् कार्यालयका नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजनका प्रमुख खेम पाठक । उनले ६० करोडको लगानीमा नयाँ पम्प स्थापनाका लागि रकम माग गरिएको जानकारी दिए । उच्च प्रविधिको हाई हेडमा चल्न सक्ने पम्पका लागि विभागमा माग गरिएको प्रमुख पाठकले बताए ।

नारायणी लिफ्ट सिञ्चाई उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा समेत पम्प चलाएर पश्चिम चितवनका जनतालाई सिचाई सुविधा दिनुपर्ने बताउँछन् ।

अतिक्रमणले खायो नहर

नारायणी लिफ्ट प्रणालीले चितवनको ८ हजार ६ सय हेक्टर सिञ्चाइ गर्दै आएकोमा अहिले त्यसको भागमा १ तिहाइ घटेकोे नारायणी लिफ्ट सिञ्चाई डिभिजनका प्रमुख खेमबहादुर पाठकले बताए ।

नहर मासेर बाटो बनाउनमा महानगरका वडाध्यक्षसमेत लागेका छन् । मिचिएको नहरमाथि सडक पिच गर्न सांसदले नै पैसा दिने गरेका छन् । नहरमा पानी नछोडेपछि जल उपभोक्ता समूह पनि रहेनन् । त्यसपछि नहरको जमिनमा अतिक्रमण बढ्यो ।

नहरले चर्चिएको जमिन स्थानीय निकायले संरक्षण गर्नुपर्ने कार्यालयका प्रमुख पाठक बताउँछन् । स्थानीय निकायले आˆनो नियन्त्रणमा लिएर नहरको जमिन सदुपयोगमा गर्नुपर्ने उनको सुझाव छ ।

जिल्लाका अधिकांश खेतीयोग्य जमिन प्लटिङ भएका कारण सिञ्चाई हुने जग्गा घटेको नारायणी लिफ्ट सिञ्चाई प्रणाली प्रमुख पाठक बताउँछन् ।

भरतपुरको नारायणपुर, कैलाशनगर, तोरीखेत, कल्याणपुरका खेतीयोग्य जमिनका अधिकांश जमिन प्लटिङमा रूपान्तर भएका छन् ।
घडेरीमा परिर्वतन भएसँगै कतिपय जमिन बाँझै छ । अहिले त्यस क्षेत्रमा नहरबाट सिँचाइ गर्ने किसान घटेका छन् ।

२०६२ सालदेखि ६४ सालसम्म नहरको जमीन बढी अतिक्रमण भएको थियो । अतिक्रमण भएका क्षेत्रमा सिञ्चाई गर्न २५ वटा डिप बोरिङ प्रस्ताव गरिएको छ । नहरका विभिन्न ठाउँमा कालोपत्र बाटो, पार्किङ, पार्टी प्यालेस घर, आँगन र बस्ती बनेका छन् । व्यक्ति, समूह र सरकारी कार्यालयले समेत अतिक्रमण गरेको पाइएको छ ।

प्रचण्ड भन्छन् : यो निकै गम्भीर विषय हो

छोरी रेनु दाहालको निवासमा चितवनको विकास योजनाबारे धाराप्रवाह दिइरहेका बेला प्रचण्डलाई एउटा प्रश्नले गम्भीर बनायो । आफू उद्योगभन्दा पनि कृषिका माध्यमबाट एग्रो बिजनेसमा रुची भएको प्रचण्ड बताउँदै थिए ।

नारायणी लिफ्टबारे जानकारी पाएपछि प्रचण्डलाई यसबारे मन्त्रीसँग कुराकानी गर्ने बताए । नजिकबाट नारायणी नदी बगिरहने तर, नदीको बाढी र कटानको मार भोग्ने जनताले हिउँदमा सिञ्चाई गर्न किन नपाउने ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यो निकै गम्भीर विषय हो, अहिले सिञ्चाई मन्त्री पनि हाम्रै पार्टीको भएकोले म काठमाडौं फर्किएपछि गम्भीरतापूर्वक कुरा गर्छु ।’

नारायणी लिफ्टमा भारतीय स्वार्थ जोडिएको चर्चा चितवनमा सघन रुपमा सुन्न पाइन्छ । नारायणी लिफ्टको मुहानमा हाल पानीको सतह पानी तान्ने तहभन्दा निकै मुनि छ । झण्डै १०-१५ मिटर ड्याम नबनाई पानी लिफ्टको मुखसम्म आउँदैन । नारायणीमा ड्याम बनाउन गण्डक सम्झौता बाधक भएको चर्चा छ ।

जतिबेला नारायणी उर्लिएर आउँछ, आकाशबाट अविरल पानी बर्सन्छ, त्यतिबेला चलाउने यो नहर हिउँदमा नचल्नुका कारण प्रचण्डको गम्भिरताभित्र पक्कै लुकेको हुनुपर्छ ।

बर्षामा नारायणीले बोकेर ल्याएको बालुवा किसानकोसम्म पुर्‍याउने र मर्मतका नाममा दुई करोड बार्षिक खर्च गर्नका लागि मात्रै नहर चलाइने गरिएको हो वा साँच्चै हिउँदमा पनि यो नहरमा पानी उकाल्न सकिन्छ यो बारेमा सरकारले आगामी दिनमा चाल्ने कदमले पक्कै देखाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment