Comments Add Comment

बलिउडको डर्टी पिक्चरः कास्टिङ काउचको नाममा अभिनेत्रीमाथि कस्तो दूर्व्यवहार ?

बलिउड, विश्वकै ठूलो फिल्म उद्योगमध्ये एक हो । छिमेकी भारतको अर्थतन्त्रदेखि सामाजिक, सांस्कृतिक क्षेत्रमासमेत खास योगदान दिइरहेको फिल्मी उद्योगभित्रको तस्विर भने कुरुप छ ।

भारतको फिल्म नगरी हो मुम्बई । भारतका स-सना गाउँ र शहरबाट बर्षेनी हजारौं तन्नेरी फिल्म स्टार बन्ने सपना सजाएर मुम्बई पुग्छन् । त्यसमध्ये कतिले आफ्नो सपना पूरा गर्छन् ? त्यो फरक कथा हुनसक्छ । तर, यसरी फिल्मी स्टार बन्ने रुमानी सपना लिएर मुम्बई पुग्ने कतिपयका निम्ति भने बलिउडमा करियर बनाउनु आफैमा दुःखद सपना बराबर हुन्छ । अतः यहाँ कास्टिङ काउचका नाममा अभिनेत्रीमाथि हुने यौन दुर्व्यवहारबारे अभिनेत्रीहरुको अनुभव साझेदार गरिएको छ ।

६ वर्षअघि सुजाता (परिवर्तित नाम)ले आफ्ना रुढीवादी परिवारलाई समेत यस कुरामा राजी गराइन् कि, उनलाई गाउँ छाडेर मुम्बई पुगी अभिनेत्री बन्ने अनुमति दिइयोस् ।

त्यसबेला सुजाताको उमेर १९ वर्षको मात्र थियो । अभिनय क्षमता कमजोर थियो । सम्पर्क सूत्र थिएनन् । तर, चाँडै नै सुजाताको भेट ति व्यक्तिहरुसँग भयो, जसले फिल्म उद्योगमा प्रवेश कसरी गर्ने भन्ने सल्लाह दिइरहेका थिए ।

तिनै व्यक्तिमध्ये एक कास्टिङ एजेन्टले सुजातालाई आफ्नो अपार्टमेन्टमा भेट्नका लागि बोलाए । सुजातालाई त्यसमा कुनै शंका थिएन । किनभने आवश्यक छलफल हुनसक्थ्यो । तर, उनले सोचेजस्तो भएन । जे भयो, त्यो निकै दुःखदायी थियो ।

दर्दनाक अनुभव

सुजाता भन्छिन्, ‘उनले मलाई त्यहीँ छोए, जहाँ छुन चाहन्थे । उनले मेरो लुगाभित्र हात घुसाए र जब उनले त्यसलाई उतार्न थाले म चेतनाशून्य भएँ ।’ जब सुजाताले उक्त व्यक्तिलाई रोक्ने प्रयास गरिन् तब उनले त्यस्तो एटिट्युड उद्योगका लागि ठीक नभएको बताए ।

हुन त सुजातासँग यतिबेला आफ्नो दावीलाई पुष्टी गर्ने कुनै तरिका छैन । तर, सुजाताले बताइन् कि, अभिनय गर्ने चक्करमा उनले कति पटक यौनशोषणको शिकार हुनुपर्‍यो । एकपटक त उनी प्रहरीकहाँ पनि गइन् । तर, उनको गुनासो प्रहरीले सुनेन । बरु प्रहरी अधिकारीले यसो भने, ‘फिल्मका मान्छेहरु जे चाहन्छन्, त्यो गर्न सक्छन् ।’

यद्यपी त्यो व्यक्ति को थिए भन्ने कुरा सुजाताले खुलाइनन् । उक्त व्यक्तिबारे खुलेर कुरा गर्न उनी हच्किइन् ।

उनको बुझाइ के छ भने, कुनैपनि अभिनेत्री यदि यस बिषयमा कुरा गर्न चाहन्छ भने उनलाई प्रचारका लागि यस्तो गरेको आरोप लगाइन्छ । र, उनको छवी बिगार्ने काम हुन्छ ।

यद्यपि कतिपयले स्विकार्ने गरेका छन् कि, भारतीय फिल्म उद्योगमा भूमिका पाउनका लागि बदलामा आफ्नो शरीर सुम्पनुपर्छ ।

बदला लिने डर

बीबीसीले करिब एक दर्जन युवा अभिनेत्रीसँग कुरा गरेको थियो, जसले बलिउडमा भूमिका पाउनका लागि भद्दा टिप्पणी र यौन शोषणको सामना गरेका थिए ।

यस सम्बन्धमा बोल्ने अभिनेत्रीहरुले आफ्नो पहिचान खुलाउन चाहेनन् । किनभने उनीहरुलाई झुटो कुरा गरेको आरोप लाग्ने र त्यसको बदला लिने भय छ ।

राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित फिल्मकी अभिनेत्री ऊषा जाधव, ति महिलाहरुमध्ये एक हुन्, जसले यौन शोषणको अनुभवबारे सार्वजनिक रुपमा बोल्न सुरु गरिन् । उनको अपेक्षा यो छ कि, आफ्नो कथा सुनेर अरु अभिनेत्रीहरु पनि यस्ता अनुभव सुनाउन अग्रसर होउन् ।

उषा जब पहिलोपटक मुम्बई पुगेकी थिइन्, तब उनलाई भनियो कि फिल्ममा काम पाउनका लागि निर्माता वा निर्देशकसँग रात बिताउनुपर्छ ।

आफूले भोगेको एक घटना सुनाउँदै उनले फिल्म निर्माता वा निर्देशकले यसो भन्ने गरेको सुनाइन्, ‘हामी तिमीलाई केही दिँदैछौं, त्यसको बदला तिमीले पनि केही दिनुपर्छ ।’

उषाको दावीलाई पत्याउने हो भने, बलिउडमा केही युवतीलाई लाग्न सक्छ कि उनीहरुले सहमति जनाउनुको अर्को विकल्प रहँदैन । उषाले भने यस्ता प्रस्तावलाई ठाडै अस्विकार गरिदिइन् । तर, उनलाई धम्की आइरहन्थ्यो । ‘उसले मलाई गाली गर्‍यो र भन्यो, तिमीलाई कुनैपनि राम्रो भूमिका मिल्नेवाला छैन । तिम्रोलागि केही पनि राम्रो हुनेछैन । मैले भनेँ- मलाई लाग्दैन कि तिम्रो यति ताकत छ ।’

कति ताकत ?

अभिनेत्री राधिका आप्टे भन्छिन्, ताकत नै यस्तो रुप हो, जसले यस्तो चिजलाई जन्म दिन्छ ।

फिल्म उद्योगका कति चर्चित अनुहारले यस मुद्दामा आफ्नो मुख थुनेका छन् । तर, राधिका आप्टे त्यही अभिनेत्रीमा सामेल छिन्, जसले यस विषयमा खुलेर आउने निर्णय गरे ।

हालै उनले अक्षय कुमारको फिल्म ‘पैडमेन’मा काम गरिन् । यस फिल्ममा एक यस्तो पुरुषको कथा छ, जो महिलाको लागि सस्तो सेनिटरी प्याड बनाउँछन् । राधिका आप्टेले अनस्क्रिन वा अफस्क्रिन दुबै स्थानमा महिलाको अधिकारको कुरा गर्छिन् ।

उनी भन्छिन्, ‘मैले यस विषयमा खुलेर कुरा गर्न थालें । मलाई उद्योगका ति महिलाहरुको हालत पनि सम्झना आउँछ, दया लाग्छ, जो यस मुद्दामा बोल्न हच्किन्छन् ।’

राधिका भन्छिन्, बलिउडमा प्रवेश गर्नका लागि कुनै सरल वा निर्धारित तरिका छैन । त्यहिकारण महिला अभिनेत्रीसँग यस किसिमको दुर्व्यवहार भइरहन्छ ।

राधिका भन्छिन्, ‘भारतीय फिल्ममा अवसर पाउनु गाह्रो कुरा हो । यसका लागि हाम्रो निजी सम्पर्क, समाजमा हाम्रो पहुँच र हामी कस्तो देखिन्छौं, यी सबै कुरा अहंम हुन्छ । जबकी बलिउडमा यसको एक औपचारिक प्रक्रिया छ, जसमा अभिनय कक्षामा प्रवेश गर्नु र त्यहाँबाट स्टेज शो हुँदै फिल्ममा प्रवेश गर्नु ।’

राधिका चाहन्छिन्, हलिउडमा जस्तै बलिउडमा पनि ‘मि टु’ जस्ता अभियान छेडियोस् । तर, यो अभियान त्यसबेलासम्म चल्दैन जबसम्म चर्चित अनुहारहरु यस मुद्दामा जोडिँदैनन् ।

युवा खुलेर बोल्दैनन्

बलिउडकी चल्तापूर्जा अभिनेत्री कल्की केकलांले पनि यस मुद्दामा खुलेर बोल्ने गरेकी छिन् । कल्कीले बाल्यकालमा आफूसँग भएको यौन शोषणबारे यसअघि पनि खुलेर आफ्नो अनुभव शेयर गरिसकेकी छिन् ।

उनलाई युवा अभिनेता एवं अभिनेत्रीप्रति दया लाग्छ, जो आफूमाथि हुने गलत व्यवहारबारे खुलेर बोल्दैनन् ।

‘यदि तपाईंको कुनै चिनजान छैन भने, तपाईंको कुरा कसैले सुन्न चाहँदैनन् । तर, तपाईं एक सेलिब्रेटी हुनुहुन्छ र तपाईं केही बोल्नुहुन्छ भने त्यो हेडलाइन बन्छ,’ कल्की भन्छिन् ।

यद्यपि उत्पीडनको यो मसला बलिउडबाट बाहिर पनि फैलिएको छ । भारतमा एक ठूलो फिल्म बजार छ, जहाँ अलग-अलग भाषामा फिल्म बनाइन्छ र ति क्षेत्रीय सिनेमामा काम गर्ने महिला कलाकारमाथि त्यस्ता उत्पीडन हुने गरेको छ । र, उनीहरुले यस विषयमा बोल्नसमेत थालेका छन् ।

हालै दक्षिण भारतको तेलुगू फिल्म उद्योगकी एक अभिनेत्री श्रीरेड्डीले उनीसँग भएको कास्टिङ काउचको बिरोध गरेकी थिइन् । यसका लागि उनले एक फिल्म एसोसिएशनको परिसरमा सार्वजनिक रुपमै आफ्नो कपडा उतारेकी थिइन् । सुरुआतमा यसलाई सस्तो लोकपि्रयता पाउने एक तरिका बताइयो र केही स्थानीय कलाकारले एसोसिएशनमा उनलाई प्रतिबन्ध पनि लगाए ।

तर, भारतको राष्ट्रिय मानवअधिकार आयोगको दबावमा उनीमाथि लगाइएको प्रतिबन्ध हटाइयो । अहिले तेलुगू फिल्म उद्योगमा पनि यस विषयमा जाँच गर्नका लागि एक यौन उत्पीडन कमिटी बनाइएको छ ।

श्रीरेड्डीले बीबीसीसँग भनेकी छन्, ‘यदि उद्योगका मानिसहरुले मसँग मेरो नग्न तस्विर माग गर्छ भने म सार्वजनिक स्थानमा किन कपडा नउतारौं ?’

हालैमात्र युवा अभिनेत्रीहरुलाई कथितरुपमा अपहरण गरिएको थियो र चलिरहेको कारमा उनीहरुमाथि दुर्व्यवहार भएको थियो । यस घटना बाहिर आएपछि दक्षिणी राज्य केरलले फिल्म उद्योगमा महिलाको कल्याणका लागि एक समूह गठन गरेको छ ।

तर, यौन उत्पीडन महिलाहरुमा मात्र सीमित छैन ।

पुरुष अभिनेताको आवाज

बलिउडका चर्चित अभिनेता रणवीर सिंहले पनि यस बिषयमा कुरा गर्दै २०१५ मा एक अन्तर्वार्ताको क्रममा आफूले पनि कास्टिङ काउचको सामना गर्नुपरेको बताएका छन् ।

उनी बलिउडका चर्चित अभिनेतामध्येका एक हुन्, जसले उत्पीडनको बिरुद्ध आवाज उठाए । यस किसिमले अभिनेता, निर्देशक तथा गायक फरहान अख्तरले पनि आफ्नो कुरा स्पष्टसँग राखेका छन् ।

उनले ‘एमएआरडी’ नामको एक अभिनयान शुरु गरेका छन्, जसको अर्थ हो, ‘मेन अगेन्स्ट रेप एन्ड डिस्क्रिमिनेसन’ । यस अभियानको क्रममा देशका विभिन्न क्षेत्र, गाउँ र दुरदराजको क्षेत्रमा यौन हिंसाविरुद्ध जागरुकता फैलाइरहेका छन् ।

महिलाहरुले यस्तो उत्पीडन भोगिरहेको कुरामा आफूलाई पत्यार लागेको उनको भनाइ छ । फरहानको भरोसा छ कि, बलिउडमा पनि ह्यासट्याग मि टु जस्ता अभियान आवश्य आउनेछ । उनको अनुसार, ‘यो तब सम्भव छ, जब महिला खुलेर बोल्नेछन् । तब मानिसलाई यस्तो कृत्यप्रति लाज लाग्न थाल्नेछ ।’ (बीबीसी हिन्दीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment