२७ कात्तिक, काठमाडौं । डिम्ब तस्करीको अभियोग लागेको होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता सविता भण्डारीकै सेयर लगानी रहेको खुलेको छ ।
अनलाइनखबरलाई प्राप्त होप फर्टिलिटीको सेयर लगतमा उल्लेख भए अनुसार सविता भण्डारी स्वयंको नाममा ४६ हजार कित्ता संस्थापक सेयर कायम रहेको देखिएको छ ।
कुल दुई करोड चुक्ता पूँजी रहेको यो कम्पनीमा उनको नाममा २३ प्रतिशत सेयर रहेको देखिन्छ । सो कम्पनीमा उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत छिन् ।
होप फर्टिलिटीको संस्थापक लगानीकर्तामा डिम्ब तस्करीको अभियोग लागेको डा. स्वस्ती शर्माको पनि लगानी छ । शर्माको नाममा सबैभन्दा धेरै ९२ हजार कित्ता शेयर छ ।
अन्य संस्थापक निरज श्रेष्ठ र मालिनी चौधरीको नाममा ३१–३१ हजार कित्ता शेयर लगानी छ ।
अनलाइनखबरसँगको कुराकानीमा महान्यायाधिवक्ता भण्डारीले होप फर्टिलिटी सेन्टरमा आफू पनि सेयर होल्डर रहेको स्वीकार गरेकी छन् ।
होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरको सञ्चालक एवं अध्यक्षको जिम्मेवारीमा रहेकी डा. स्वस्ती शर्मा भण्डारीकी सानीआमाकी छोरी हुन् ।
होप फर्टिलिटी डिम्ब तस्करीमा जोडिए पनि महान्यायाधिवक्ता भण्डारीले गत ३० असोजमा मुद्दा नचलाउने निर्णय गरेकी थिइन् ।
होप फर्टिलिटीले डिम्ब निकालेका दुई किशोरीमा स्वास्थ्य समस्या देखिएपछि उनीहरूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा उजुरी दिएका थिए ।
किशोरीको उजुरीपछि सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानमा आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको प्रमाण फेला परेको अधिकारीहरूको भनाइ छ । अनुसन्धानका क्रममा १६–१७ वर्षका किशोरीबाट १० हजार रुपैयाँमा खरिद गरिएका डिम्ब १८ लाख रुपैयाँसम्ममा बिक्री गरेको पाइएको थियो ।
किशोरीहरूले आफूहरूलाई १०–१० हजार रुपैयाँ दिएर डिम्ब निकालिएको बयान दिएका थिए । पीडित किशोरीले आफूहरूलाई ९ देखि १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको बताएका छन् । पछि डिम्ब विकास भइसकेपछि सानो शल्यक्रियामार्फत निकाल्ने र त्यसलाई ‘प्रिजर्भ’ गरेर राख्ने गरेको पाइएको थियो ।
यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंबाट तयार भएको मुद्दा नचल्ने रायलाई उच्च सरकारी वकिलको कार्यालय, पाटनले अनुमोदन गरी महान्यायाधिवक्ता कार्यालय पठाएको थियो ।
महान्यायाधिवक्ता कार्यालयमा नायव महान्यायाधिवक्ता (सचिवस्तरको सरकारी वकिल) को तहबाट मुद्दा नचल्ने निर्णय गरी अनुसन्धान टुंग्याइएको थियो । मुद्दा नचलाउने निर्णयको बेहोरामा नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले हस्ताक्षर गरेका छन् ।
बालबालिकालाई यौन दुर्व्यवहारमा बलपूर्वक प्रयोग गरेको, इच्छाविपरीत प्रयोग गरेको भन्ने अवस्था नदेखिएकाले मुद्दा नचाउने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयको दाबी छ ।
तर होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता भण्डारीकै लगानी हुनु, उनकै सानिमाकी छोरी सञ्चालक समिति अध्यक्ष हुनु र भण्डारीकी छोरी त्यहीँ कार्यरत हुनुले डिम्ब तस्करी सम्बन्धीमा मुद्दा नचल्ने निर्णय गराइएको आरोप महान्यायाधिवक्ता भण्डारीमाथि लागेको छ ।
प्रतिक्रिया 4