Comments Add Comment

च्याम्पियन्स लिग : रियलको इतिहास कि बायर्नको पुनरागमन ?


१८ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आज राति स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रवेशको लागि हुने खेल युरोपियन फुटबल प्रतिष्ठासँग जोडिएको छ ।

खेल रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । यो सिजन बुण्डेस लिगामा एकछत्र राज गरेको बायर्न पहिलो लेगमा रियलसँग घरेलु मैदानमा २-१ ले पराजित भयो ।

ला लिगामा कमजोर देखिएको मड्रिडबीचको यसअघिको भेट निकै प्रतिस्पर्धात्मक भए पनि बायर्न हारबाट जोगिन सकेन । घरेलु मैदानमा भएको च्याम्पियन्स लिग अन्तर्गत गएको ४१ खेलमा रियलले गोल गरेको छ ।

प्रतिस्पर्धात्मक इतिहास

यसअघि पनि रियल र बायर्नबीच भएको २५ खेलमा रियलले १२ र बायर्नले ११ खेल जितेका छन् । दुई खेल बराबरी भएको छ । जहाँ मडि्रडले ३९ गोल गरेको छ । बायर्नले ३७ गोल गरेको छ ।

गएको सिजन बायर्न क्वाटरफाइनलमा मड्रिडसँग नै पराजित भएको थियो । गएको सिजन क्वार्टरफाइनलमा पहिलो लेगमा मड्रिडले बायर्नलाई २-१ ले र दोस्रो लेगमा ४-२ ले हराएको थियो ।

गएको ६ खेलमा रियलले बायर्नलाई हराएको छ । जसमा रियलले १५ गोल गरेको छ भने ५ गोल खाएको छ । रियल र बायर्नबीच आज हुने २६ औं भेट युरोपियन प्रतिस्पर्धामा सबैभन्दा धेरै हो ।

ला लिगामा कमजोर देखिए पनि मड्रिडले च्याम्पियन्स लिगमा भरपर्दो प्रदर्शन गरिरहेको छ । रियलले जित निकाले लगातार तेस्रो पटक च्याम्पियन्स लिग फाइनलमा पुग्नेछ ।

के भन्छन् प्रशिक्षक ?

जुप हेनकेस, बायर्न म्युनिख

यो वर्षकै सर्वाधिक महत्वपूर्ण खेल हो । हामी गल्तीहरु सुधारेर अघि बढ्ने छौं । आक्रमणको प्रयास गर्ने छौं । हामी सधैं गोल गर्नै चाहन्छौं ।

पहिलो लेगमा भन्दा बलियो रुपमा प्रस्तुत हुनुपर्नेछ । पहिलो लेगमा रियलले पाएको अवसर सदुपयोग गरे जस्तै यो लेगमा हामी अवसर खेर जान दिने छैनौं ।

जिनेदिने जिदान, रियल मड्रिड

हामी आजको खेलमा आक्रमण गर्नेछौं । अगाडि बढेर खेल्ने सोच बनाएका छौं । हामी छिटो गोल गरेर खेलमा नियन्त्रण बनाउन चाहन्छौं ।

यो सेमिफाइनल हो, यसैले हामीले के गर्नुपर्छ भन्ने राम्ररी बुझेका छौँ । जे सुकै परिस्थिति होस्, हामी एउटा टिमको रुपमा एकजुट भएर राम्रो गर्नेछौँ । जितको मनस्थितिमा हामी मैदान प्रवेश गर्नेछौं ।

सम्भावित ११ खेलाडी

बायर्न – अलरिच, किमिच, हमल्स, सुल, अलाबा, मार्टिनेज, थियागो, जेम्स, मुलर, रिबेरी, लेवान्डोस्की
फिट नभएका – भिडाल, कोम्यान, नेउर, बोएटेन्ग, रोबेन

मड्रिड – नाभास, नाचो, रामोश, भराने, मार्सेलो, मोडरिक, क्रुस, क्यासेमिरो, एसेन्सियो, बेन्जेमा, रोनाल्डो
यकीन नभएको – इस्को (पाखुरामा समस्या)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment